चराको स्वर्ग भनेर चिनिने कपिलवस्तुको जगदीशपुर तालमा असोजमै विदेशी पाहुना चरा आउन थाल्छन्। जैविक विविधताले भरिपूर्ण जगदीशपुर ताल पाहुना चराको पहिलो रोजाइमा पर्छ।
कात्तिकभरिमा पाहुना चराले ढपक्कै ढाकिने जगदीशपुर तालमा यसवर्ष मंसिर लागिसक्दा पनि चरा धेरै देखिँदैनन्। हिमाली क्षेत्रमा जाडो बढ्न थालेपछि त्यताका चरा तराईको पारिलो घाम र प्रशस्त आहारा भेटिने सिमसार क्षेत्रमा आउनुपर्ने हो।
पाहुना चराका बारेमा जानकारी लिने तथा तिनको जलक्रीडाको रोमाञ्चक अवलोकनका लागि यहाँ कात्तिकदेखि फागुनसम्म दैनिक तीन–चार सयको संख्यामा अवलोकनकर्ता पुग्छन्।
आगन्तुक अवलोकनकर्ताहरूलाई आकर्षित गर्न पाँच वर्षयता तालमा डुंगा चलाउने लगायतका गतिविधि हुन थालेपछि भने चराको संख्या घट्न थालेको छ।
चराविद् डा. हेमसागर बरालका अनुसार कहाँ कस्तो काम गर्ने भन्ने हेक्का नराख्दा तालको जैविक विविधतामा असर परेको छ।
‘कहाँ कस्तो विकास गर्ने भन्ने अध्ययन नै नगरी जहाँ पायो त्यहीँ सिमेन्टका पक्की संरचना बनाइएका छन्,’ उनी भन्छन्, ‘तालसँग जोडेर भ्यु टावर, पक्की फुटपाथ र आवाज सहितको मोटरबोट चलाउँदा पहिले तालको डिलमा आउने चरा अहिले झाडीभित्र लुकेर बस्ने गरेका छन्।’
ताल र पोखरीमा मूर्ति ठड्याउने र डुंगा चलाउने प्रवृत्तिले ताल र सिमसार क्षेत्रको जैविक विविधता नै नष्ट हुने गरेको उनको भनाइ छ। जगदीशपुर तालमा डुंगा त पहिले पनि चल्थ्यो तर त्यसमा इन्जिन थिएन। अहिले इन्जिनसहितका मोटरबोट चलाउँदा त्यसको आवाजका कारण जैविक विविधतामा असर परेको हो।
बरालको प्रश्न छ, ‘मोटरबोट र पर्यटकहरूको होहल्लाका कारण चराले अर्को वासस्थान खोजे भने डुंगा चढ्नमात्र कति पर्यटक आउलान्?’
जुन क्षेत्र जसका लागि बनेको हो त्यहाँ सोहीअनुरूप विकास–निर्माण गर्नुपर्ने उनको सुझाव छ। तालमा मोटरबोट चलाएर आम्दानी गर्ने कि चरा अवलोकन र जैविक विविधताको संरक्षणको क्षेत्र बनाउने भन्ने टुंगो गर्नुपर्ने पनि उनको सुझाव छ।
समृद्ध जैविक विविधताका कारण जगदीशपुर ताल सन् २००३ मा रामसार क्षेत्रमा सूचीकृत भएको थियो। लुम्बिनी प्रदेश सरकारले गत वर्ष पंक्षी आरक्ष (बर्ड सेन्चुरी) घोषणा गरेको थियो तर पछिल्लो गतिविधिले त्यहाँको जैविक विविधतामा क्षति पुग्न थालेको छ।
बरालका अनुसार तालबाट चरा धपाएर पर्यटक ल्याउने हो भने पन्छी आरक्ष घोषणा गर्नुको अर्थ रहँदैन।
कपिलवस्तु नगरपालिकाले ताल संरक्षणको जिम्मेवारी दिएको ‘जगदीशपुर जलाशय व्यवस्थापन बहुउद्देश्यीय सरोकार मञ्च’ ले तालको पश्चिम–दक्षिणतर्फ ५ हेक्टर क्षेत्रफलमा मात्र मोटरबोट चलाएको छ। त्यसबाट उठ्ने पानीको छाल, मोटरबोटको आवाज र आगन्तुकको हल्लाले उक्त क्षेत्रमा चरा बस्दैनन्।
लुम्बिनी प्रदेश सरकारको आर्थिक सहयोगमा तालको पश्चिमतर्फ र तत्कालीन गाविसको सहयोगमा दक्षिणतर्फ चरा अवलोकनका लागि भ्यु टावर बनाइको छ।
डुंगा चल्ने क्षेत्रमा बिहान चरा आउने गरे पनि डुंगा चल्न थालेपछि त्यहाँबाट अर्कोतिर सर्छन्। चराविद् बरालका अनुसार तालमा आएका पाहुना चरा मोटरबोटको आवाजका कारण तालको पूर्व र उत्तरतर्फको झाडी र दलदलमा लुक्ने गरेका छन्।
‘पाहुना चरा नआएका होइनन्। यस वर्ष पनि आउँदैछन् तर पहिले तालको डिलमा उभिएर खाली आँखाले चराको गतिविधि हेर्न सकिन्थ्यो। अहिले दूरबिन लगाएर हेर्नुपर्छ,’ उनी भन्छन्, ‘तालको डिलमै उभिँदा चराको च्याँच्याँचुँचुँ सुनिन्थ्यो, अहिले सुनिँदैन। तालमा चरा डुबुल्की मारेको देख्न पनि मुश्किल पर्छ।’
जगदीशपुर तालले धेरै पानीचरालाई आश्रय दिने गरेको भए पनि दक्षिणतर्फ मोटरबोट चल्दा र उत्तरतर्फ नहरबाट पानीमा बगेर गएको गेग्रान थुप्रिएर सतहको पानी सुक्दै जाँदा चराको संख्या घट्दै गएको छ।
चराविद् बरालको नेतृत्वमा टीका गिरी र धीरज चौधरीले गरेको गणनाअनुसार जगदीशपुर तालमा पछिल्लो पाँच वर्षमा चराको संख्या लगातार घट्दो छ।
सन् २०१८ मा २३ हजार चरा फेला परेकोमा सन् २०२० मा २० हजार ८ सयमात्र फेला परे। सन् २०२१ मा १२ हजार ६३, सन् २०२२ मा ९ हजार ८३७ र २०२३ मा ९ हजार ४८७ चरा फेला परेका थिए।
चराविद् हेमसागर बरालका अनुसार यहाँ अन्यत्रका जलाशयमा नदेखिने लोपोन्मुख चरा पनि आउँने गर्छन्। रुस, चीन, मंगोलिया, साइबेरिया, मध्य एसियाका तुर्कमिनिस्तान र किर्किस्तान लगायतका देशबाट डेढ सातामा पाँच हजार माइलसम्म उडेर यहाँ चरा आउँछन्।
अत्यधिक चिसो ठाउँमा तालतलैया तथा नदीको सतहमा हिउँ जम्न थालेपछि चरा आउन सुरु हुन्छ। यता गर्मी सुरु भएपछि ती चरा आफ्नै ठाउँमा फर्किन्छन्।
बसाइँ सरेर आउने पाहुना चरा, विभिन्न प्रजातिका माछा, उभयचर र वनस्पति जगदीशपुर तालको मुख्य जैविक विविधता हो।
जगदीशपुर तालमा ‘पन्छी संरक्षण संघ’ ले गरेको एक अध्ययनअनुसार विश्वमै दुर्लभ मानिएका सात वटा प्रजातिसँगै सिमसारमा आश्रित ६० प्रजातिका चरा पाइन्छन्। यीसँगै अन्य ५७ प्रजातिका चरा, ४३ प्रजातिका माछा, १० प्रजातिका उभयचर, ४२ प्रजातिका सरीसृप र ३२ प्रजातिका स्तनधारी जनावर पाइन्छन्।
तीमध्ये ९२ प्रजातिका चरा रैथाने छन्, ८ प्रजातिका गर्मी याममा आउने, ६४ प्रजातिका जाडो याममा आउने चरा छन्। अन्य ३ प्रजातिका आंशिक पाहुना चरा पनि आउँछन्।
सुनजुरे, खडखडे, सिलसिले, कालीजुरे, मालक, सुइरोपुछ्रे बेल्चाठुँडे, सिन्दुरे, नीलटाउके, कैलो टाउके, जुलागैरी, चखेवाको लागि यो ताल राम्रो वासस्थान हो। बरालका अनुसार विश्वकै सबैभन्दा सानो मानिने हरिहाँस, सिलसिले र नागुन हाँस यहाँका रैथाने चरा हुन्।
तालको पानीमा डुबुल्की मार्दै र उफ्रिँदै खेल्ने हाँस र चखेवाको चहलपहलले पर्यटकहरू मन्त्रमुग्ध हुने गर्छन्। धेरै प्रजातिका र ठूलो संख्यामा चरा आउने भएकोले जगदीशपुर ताल पक्षी अध्ययन गर्ने विद्यार्थी र पंक्षीविदका लागि विश्वविद्यालयझैँ मानिन्छ।
कपिलवस्तु नगरपालिकाको वडा नम्बर ९ र १० मा फैलिएको यो तालको क्षेत्रफल १५७ हेक्टर छ। यो ताल मानवनिर्मित हो। दक्षिण कपिलवस्तुका साविकका १३ वटा गाविस र एउटा नगरपालिकासँगै भारतको समेत गरी ६ हजार ३५० हेक्टर क्षेत्रफलमा सिँचाइ गर्ने उद्देश्यले २०२८ सालमा ताल निर्माण थालिएको थियो।
वाणगंगा डिभिजनल सिँचाइ कार्यालयले वाणगंगा नदीबाट आएको पानी लक्ष्मणघाटमा बाँध बनाएर जगदीशपुर जलाशय बनाएको थियो। करिब २ करोड २२ लाख रुपैयाँको लागतमा २०३५ सालमा निर्माण सम्पन्न भएको थियो।
यो तालमा ४७ लाख घनमिटर पानी भण्डारण गर्न सक्ने क्षमता रहेको जनाइएको छ। ताल निर्माणपछि सिँचाइ त भयो नै, चराको राम्रो वासस्थान समेत बनेपछि सन् २००३ मा रामसार सूचीमा सूचीकृत भएको थियो।
हाल कोइली र बाणगंगा नदीको पानीले बगाएर ल्याउने गेग्रान थुप्रिदै जाँदा तालको उत्तरतर्फको भाग पुरिन थालेको छ। पुरिएको भागमा वनस्पतिको झाडी बनेको छ। यसरी ताल र पानीको क्षेत्र पनि साँघुरिन थालेको छ।
थानीयवासी रामनरेश चौधरीको अनुभव अनुसार तालमा पर्यटन विकासका नाममा भएका निर्माणकार्यले पाहुना चाराको संख्या घटेको हो।
‘पहिले चरा अवलोकन गर्न विदेशी पर्यटकहरू पनि आउँथे। अहिले डुंगा चढ्न आउने धेरै छन्,’ उनी भन्छन्, ‘आजकाल तालमा दैनिक चार सय जति पर्यटक आउँछन् तर मोटरबोट चढ्ने धेरै हुन्छन्।’
तालको आधा क्षेत्र रहेको कपिलवस्तु नगरपालिका–१० का वडाअध्यक्ष मोहन शर्मा मोटरबोटका कारणले पाहुना चरा घटेको मान्दैनन्। भन्छन्, ‘हावापानी परिवर्तनको असर परेको हो। घामपानीको समय फेरिँदै गएको छ। यसवर्ष अझै जाडो सुरु भएको छैन।’
उनका अनुसार चरा आउने क्रम सुरु भएपछि फर्किएर नजाँदासम्म तालमा मोटरबोट बन्द हुनेछ। भन्छन्, ‘मंसिरमध्यतिर चराहरू बाक्लो आउन थालेपछि मोटरबोट चलाउन बन्द गर्ने हो।’
‘जगदीशपुर जलाशय व्यवस्थापन बहुउद्देश्यीय सरोकार मञ्च’ का अध्यक्ष ललित गुरुङ पनि तालमा डुंगा र मोटरबोट चल्दा चरालाई कुनै नोक्सानी नभएको जिकिर गर्छन्। वातावरणविद् र चराविदहरूले डुंगा सयरले चराको संख्या घट्यो भनेर अनावश्यक टीका टिप्पणी गर्ने गरेको उनको आरोप छ। भन्छन्, ‘दिउँसो डुंगा चल्दा चराहरू केही पर गएर बस्छन्। साँझ–बिहान तालमा छरिएका हुन्छन्।’
के हो रामसार सूची?
सन् १९७१ मा इरानको रामसार सहरमा सिमसार सम्बन्धी विश्वसम्मेलन भएको थियो। उक्त सम्मलेनमा प्राणी र वनस्पतिको वासस्थानका रूपमा सिमसार क्षेत्र गर्ने संरक्षण सम्बन्धमा एउटा सन्धि भयो। उक्त सन्धि सन् १९७५ मा कार्यान्वयन भयो।
सन्धिमा विश्वकै सम्पदा मानिने सिमसार क्षेत्रको मापदण्ड तोकियो। मापदण्डमा पर्ने सिमसार क्षेत्रहरू विश्वको सम्पदाका रूपमा सम्मेलनको सचिवालयले सूचीकृत गर्न थाल्यो। सचिवालयको काम विश्वसंरक्षण संघ (आइयुसिएन) को मुख्यालय, ग्लान्ड (स्विटजरल्यान्ड) ले गर्छ। रामसार सम्मेलनको सन्धिअनुसार सूचीकृत सीमसार क्षेत्रलाई ‘रामसार क्षेत्र’ भनिएको हो।
नेपालका माईपोखरी, कोशी टप्पु, घोडाघोडी ताल, जगदीशपुर ताल, बिसहजारी ताल, रारा ताल लगायतका क्षेत्र रामसार क्षेत्रका रूपमा सूचीकृत छन्।
संयुक्त राष्ट्रसंघका सबैजसो सदस्य राष्ट्रहरूले रामसार सन्धिमा हस्ताक्षर गरेका छन्।