जाजरकोटको नलगाड नगरपालिका वडा नम्बर ८ टापु गाउँकी विष्णुकुमारी खत्री केही वर्षयता दमको रोगी थिइन्। बेला-बेलामा बाँकेको नेपालगञ्ज पुगेर उपचार गराइरहेकी ७० वर्षीया खत्रीले नियमित औषधि सेवन गर्थिन्। साँझ–बिहान घरमै न्यानो पारेर बस्थिन्।
कात्तिक १७ गते राति ११ः४७ बजे जाजरकोट केन्द्र भएर गएको भुइँचालाले उनको घर चर्कियो। घर धरापजस्तो बनेपछि उनको परिवार त्यही रातिदेखि घरबाहिर बस्न थाल्यो। चिसोका कारण खत्रीलाई दमले झन् गाँज्न थाल्यो।
घर बाहिर बस्न थालेको एक सातामै उनलाई रोगले थप गलायो। गत शनिबारदेखि खत्री सिकिस्त भइन्। आफूलाई उपचार गर्न लैजान परिवारलाई भनिन्। परिवारले आइतबार दिउँसो ३ बजेका लागि नेपालगञ्जको बस टिकट लिएका थिए। त्यसअघि नै उनको मृत्यु भयो।
‘उपचार गर्न मलाई नेपालगञ्ज लगिदेऊ भन्नुभयो, हामीले दिउँसो तीन बजेको लागि टिकट लिएका थियौं,’ विष्णुकी छोरी गौरी थकालीले भनिन्, ‘तीन नबज्दै मुमाको मृत्यु भयो। घरभित्रै न्यानो गरेर बसे केही राहत हुन्थ्यो, जति नै कपडा ओढे पनि प्लाष्टिकमुनि तातो नहुने रहेछ।’
खत्रीलाई कात्तिक पहिलो साता नेपालगञ्ज नर्सिङ होममा पुर्याएर उपचार गरिएको थियो।
खत्रीको परिवारले अहिलेसम्म पनि त्रिपाल पाएका छैनन्। उनीहरू गोलभेंडा खेती गर्न एउटा संस्थाले बनाइदिएको टनेलमुनि बसिरहेका छन्। घर चर्किएको मात्र भएकाले भित्र भएका लत्ताकपडा र अन्न भने निकालेर प्रयोग गरिरहेका छन्।
‘वडामा राहत सामग्री कम आयो भनेर हामीले लिएनौं, त्रिपालजस्तै टनेल छ,’ गौरीले भनिन्, ‘त्रिपालमुनि बस्न त अझै हाम्रो परिवारलाई जोखिम छ।’
गौरीका अनुसार उनका बुवा र ठूलोबुवा पनि दीर्घरोगी छन्। यसले गर्दा पनि जाडो समयमा घरबाहिर बस्न जोखिम छ।
छेडागाड नगरपालिका वडा नम्बर १३ थानवाडाकी ५६ वर्षीया मनसरी कामीको पनि शनिबार मृत्यु भयो। उनलाई कात्तिक १९ गतेदेखि ज्वरो र टाउको दुख्न सुरू भएको थियो। कात्तिक २६ गते उनी सिकिस्त भइन्। उपचारका लागि सुर्खेत लैजाने तयारी गर्दागर्दै मनसरीको मृत्यु भएको उनका छोरा अमरबहादुर विकले सेतोपाटीलाई बताए।
‘सुरूमा पाल थिएन, हामी चर्किएकै अर्को घरमा बस्यौं,’ अमरले भने, ‘त्यो घर पनि पालमुनि बसेजत्तिकै चिसो थियो, बढ्दो चिसो र रोगले गलाएर उहाँ बित्नुभयो।’
मनसरीलाई करिब ८ वर्षदेखि दम थियो। उनलाई कहिले गाउँमै, कहिले सुर्खेत, नेपालगञ्ज र चौरजहारीसम्म पुर्याएर परिवारले उपचार गराइराखेका थिए।
अमरका ५९ वर्षीय बुवा पनि दमको रोगी छन्। उनी अहिले सामान्य हिँड्डुल गर्न सक्छन्।
जुनीचाँदे गाउँपालिका वडा नम्बर ४ लुहादहकी सुगिली नेपालीको पनि चिसोले मृत्यु भयो। केही महिनायता दमको औषधि सेवन गरिरहेकी सुगिलीलाई चिसोले झन् समस्या पारेको र मृत्यु भएको उनकी बुहारी सुर्मा नेपालीले बताइन्। घरबाहिर त्रिपालमुनि बसिरहेकी उनको कात्तिक २९ गते मृत्यु भएको हो।
‘पहिले पनि चिसो लाग्नेबित्तिकै शरीर सुनिन्थ्यो, केही महिनायता औषधि पनि खाइरहनुभएको थियो,’ शर्माले भनिन्, ‘भुइँचालो जानुअघि चिसो समयमा बिहान–बेलुका घरबाहिर निस्कने गर्नुभएको थिएन, घरबाहिर पालमुनि सुत्न थालेपछि रोग झन् बढ्दै गएको थियो।’
कात्तिक १८ गतेपछि भूकम्पले घर भत्किएका र जोखिमपूर्ण बनेका जाजरकोटका कैयन् परिवार घरभित्र बसेका छैनन्। घरबाहिर बसिरहेका दीर्घरोगीहरूको बढ्दै गएको चिसोका कारण मृत्यु हुने गरेको छ।
जाजरकोटमा भुइँचालो गएयता घरबाहिर बसेका ११ जनाको चिसोका कारण मृत्यु भएको छ। भुइँचालोको केन्द्रबिन्दु रहेको बारेकोट गाउँपालिकामा चार जनाको मृत्यु भएको छ।
यस्तै नलगाड नगरपालिकामा ३, भेरी नगरपालिकामा २, जुनीचाँदे गाउँपालिका र छेडागाड नगरपालिकामा १/१ जनाको चिसोका कारण मृत्यु भएको छ।
बारेकोट गाउँपालिका वडा नम्बर १ रामीडाँडाका डुमे पुन, वडा नम्बर १ कै बयालाका कर्णवीर विक, वडा नम्बर ४ जिरीका नरेन्द्रबहादुर सिंह र वडा नम्बर ६ का वीरबहादुर विकको मृत्यु भएको हो।
नलगाड नगरपालिका वडा नम्बर ४ का पम्फा रावल, गोपालबहादुर रावल र विष्णुकुमारी खत्रीको मृत्यु भएको हो।
भेरी नगरपालिका वडा नम्बर २ का धुलेश्वर कार्की र वडा नम्बर ४ का केशव भडेलको चिसोले मृत्यु भएको हो।
जुनीचाँदे गाउँपालिका वडा नम्बर ४ लुहादहकी सुगिली नेपाली र छेडागाड नगरपालिका वडा नम्बर १३ थानवाडाका मनसरी कामीको पनि चिसोका कारण मृत्यु भएको छ।
२० जनासम्मको परिवारलाई एउटा त्रिपाल र एउटा कम्बल!
भूकम्पको केन्द्रबिन्दु बारेकोट गाउँपालिका, जहाँ चिसोका कारण ४ जनाको ज्यान गइसकेको छ। यहाँका भूकम्पपीडितलाई न्यानोको व्यवस्था गर्न नसकिएको गाउँपालिका अध्यक्ष वीरबहादुर गिरी बताउँछन्। यहाँका चार हजार चार सय ६७ घरधुरीका अधिकांश मानिस घरबाहिरै रहेका छन्।
‘झन्डै ४ हजार चार सय ६० परिवारलाई राहत पुर्याउनुपर्ने स्थिति छ। पहिलो चरणमा एकसरो त्रिपाल, एउटा कम्बल प्रति परिवार त पुर्याएका छौं। तर एउटा कम्बल र एउटा त्रिपालभित्र २० जनाको परिवारको व्यवस्थापन कसरी होला?,’ उनले भने।
एक त त्रिपाल आफैंमा न्यानो होइन। दीर्घरोगी, बालबालिका र चिसोले छिटो गाँज्ने अशक्त, सुत्केरीका लागि यातना नै भएको छ। रातभरि शीत चुहिन्छ। त्यसभित्र एउटा कम्बलका भरमा परिवारै बस्नुपर्ने अवस्था छ।
गाउँपालिका अध्यक्ष गिरीले सडकसँग पहुँच नभएका र गाडी नपुगेका ठाउँमा राहत सामग्री पुर्याउन नसकिएको बताए।
‘दाताहरू पनि सजिलो ठाउँमा बढी केन्द्रित भए। दुर्गम, विकट ठाउँमा कोही आउँदै नआउने परिस्थिति बन्यो। त्यसले सबैतिर पर्याप्त राहत पुगेको अवस्था छैन,’ उनले भने।
उनले प्रभावित क्षेत्रमा मानिसहरू मानसिक रूपमा पनि कमजोर हुँदै गएको बताए। सिंगो जीवन खर्चिएर बनाएको घर ढलेको र परिवार त्रिपालमुनि आइपुगेकाले जीविकोपार्जन कसरी गर्ने भन्न चिन्तामा पनि प्रभावितहरू रहेका छन्।
’घरबाहिर, त्रिपालमा बस्नुपर्दा मानिस मानसिक रूपमा कमजोर भइरहेका छन्। वृद्धवृद्धाहरूलाई रोगसँगै चिन्ता पनि थपिएको छ, त्यसमाथि चिसोले हानेपछि झन् कमजोर हुँदा रहेछन्,’ उनले भने।
भेरी नगरपालिकाका मेयर चन्द्रप्रकाश घर्तीले शितयाममा त्रिपाल त्यति व्यवहारिक नभएको बताए।
‘हामीले पनि सुरूमा त्रिपाल, त्रिपाल भन्यौं। तर चिसोमा त त्रिपालभित्र बस्नै नसिकने रहेछ। अझ तुसारो र हिउँ पर्ने सिजन सुरू भइसकेको छैन। तुसारो पर्न थालेपछि प्रभावितहरूलाई कसरी जोगाउने भन्ने चिन्ता छ,’ उनले भने।
उनले स्थानीय तह र केन्द्र सरकार समन्वय गरेर यथाशिघ्र अस्थायी आवासको प्रबन्ध गर्नुपर्ने बताए। त्रिपाल र एकसरो कम्बलले चिसो नछेकेकैले दीर्घरोगी र अशक्तहरूको मृत्यु हुन थालेको बताए।
‘वृद्धवृद्धाहरू मरेका हुन् भनेर हुँदैन, रोगी मर्छन् त भन्ने तर्क गरेर पनि हुँदैन। प्रभावितहरूलाई न्यानोमा राख्नु हाम्रो कर्तव्य हो, म यो विषयमा गम्भीर भएको छु, भोलिदेखि नै अस्थायी आवासको प्रबन्ध गर्छु,’ उनले भने।
नलगाड नगरपालिका वडा नम्बर ८ का अध्यक्ष तेजबहादुर सिंहका अनुसार उनको वडामा आठ सय घरधुरी छन्। तीन सय परिवारले अझैं त्रिपाल, कम्बल पाउन सकेका छैनन्। यसअघि आएका पाँच सय ५० थान राहत सामग्री वितरण गरिएको उनले बताए।
‘हामीले जिल्लालाई पनि भन्यौं, नगरपालिकालाई पनि भनेका छौं। तर व्यवस्थापन भएको छैन,’ सिंहले भने, ‘नगरपालिकाले नै परिवार संख्या गन्ती गरेर दिनुपर्थ्यो, सामग्री नपाएका सबै परिवार आ–आफ्नो व्यवस्थापन गरेर बाहिरै बसेका छन्।’
नलगाड नगरपालिका वडा नम्बर ४ का अध्यक्ष बद्री पन्तले विभिन्न संघसंस्थाबाट आएको राहत सामग्री समान रूपमा सबै वडामा वितरण गरिए पनि पर्याप्त नभएको बताए। परिवारको संख्या हेरेर राहत सामग्री वितरण गरिएको उनको भनाइ छ।
‘यदि १२ जनासम्मको परिवार छ भने दुइटा त्रिपाल र दुइटा कम्बल दिएका छौं, कम परिवार संख्या भएकालाई एक/एक वटा दिएका छौं,’ उनले भने, ‘पहाडी क्षेत्रमा जाडोको समयमा यतिले मात्र पुग्ने कुरै भएन।’
कति गए राहत सामग्री पालिकामा?
जिल्ला प्रशासन कार्यालय जाजरकोटका अनुसार भूकम्प पीडितका लागि एक सय ८२ वटा विभिन्न संघसंस्था र व्यक्तिहरूले राहत सामग्री दिएका छन्। जसमा ३८ हजार पाँच सय ८० वटा त्रिपाल जिल्ला प्रशासन कार्यालयमा दर्ता गरी पालिकाहरूमा पठाइएको छ।
यस्तै, ३० हजार पाँच सय ५४ वटा ब्ल्याङ्केट, ११ हजार नौ सय १७ बोरा चामल, ११ हजार सात सय ६७ लिटर खाने तेल पालिकाहरूमा पठाइएको छ।
बारेकोट गाउँपालिकामा पाँच हजार पाँच सय ३१, नलगाड नगरपालिकामा चार हजार नौ सय २३, जुनीचाँदे गाउँपालिकामा चार हजार ७३, छेडागाड नगरपालिकामा तीन हजार एक सय ५१, भेरी नगरपालिकामा छ हजार पाँच सय ९९, शिवालय गाउँपालिकामा दुई हजार तीन सय १, कुशे गाउँपालिकामा चार हजार दुई सय २५ थान त्रिपाल पठाइएको छ।
ब्ल्याङ्केटमध्ये कुशे गाउँपालिकामा दुई हजार आठ सय ७०, छेडागाड नगरपालिकामा दुई हजार छ सय ५४, जुनीचाँदे गाउँपालिकामा एक हजार तीन सय ८१, नलगाड नगरपालिकामा सात हजार नौ सय ४४, बारेकोट गाउँपालिकामा तीन हजार नौ सय २२, भेरी नगरपालिकामा ८ हजार एक सय २७ र शिवालय गाउँपालिकामा एक हजार ६ थान पठाइएको छ।
प्रशासनले संकलन गरेको प्रारम्भिक तथ्याङ्कअनुसार जिल्लाभर ३४ हजार घरधुरीमा भूकम्पले क्षति पुर्याएको छ। जसमध्ये नौ हजारभन्दा बढी घरधुरीमा आंशिक क्षति पुगेको हो। हाल संयन्त्र बनाएर अनुगमनमा परिचालन गरिएकाले क्षतिको यकिन तथ्यांक भने बिहीबारसम्म मात्रै आउने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।