जाजरकोटको भेरी नगरपालिका–१, रिम्नास्थित भेरी त्रिवेणी माध्यमिक विद्यालयले सोमबारदेखि नियमित पठनपाठन हुन्छ भनेर सूचना जारी गरेको छ।
विद्यालयले विद्यार्थी बोलाए पनि कक्षाकोठाको व्यवस्था भइसकेको छैन।
बिदाकै बीचमा कात्तिक १७ गते राती आएको भूकम्पले विद्यालयका भवनमा क्षति पुगेको छ। कच्ची भवनका ६ वटा कोठा पूर्णरूपमा क्षतिग्रस्त छन्। पाँच वटा कोठा भएको पक्की भवनमा भने क्षति भएको छैन।
विद्यालयका प्रधानाध्यापक प्रेम पुनका अनुसार पक्की भवनका पाँच वटा कोठा र चौरमा राखेर कक्षा चलाउने तयारी पछि नियमित पठनपाठनको सूचना जारी गरिएको हो।। एउटा कोठामा कार्यालय राखेर चार वटामा कक्षा चलाउने तयारी हुँदैछ।
‘हामीले विद्यार्थीलाई सोमबारदेखि नै पढ्न आउनू भनिसकेका छौँ। कक्षाकोठा व्यवस्थापनमा चुनौति छ,’ प्रधानाध्यापक पुन भन्छन्, ‘साना बालबालिकालाई कोठामा राख्छौँ। ठूलालाई चउरमै राखेर पढाउँछौँ।’
कक्षा १० सम्म पढाइ हुने उक्त विद्यालयमा ४६५ जना विद्यार्थी थिए। तीमध्ये तीन जना भूकम्पमा परेर बिते। हाल १२ जना अस्पतालमा उपचाररत छन्।
सोमबारदेखि विद्यालय चलाउन चउर सफाइका लागि अभिभावकसँग सहयोग मागेको उनले बताए।
जाजरकोट सदरमुकाम रहेको भेरी नगरपालिका–३, माथिल्लो थाप्लेस्थित हनुमान प्राथमिक विद्यालयमा पठनपाठनको टुंगो लागेको छैन। सबै कक्षाकोठा क्षतिग्रस्त छन्।
‘दुई भवनका तीन वटा कक्षाकोठा भत्किएका छन्। बाँकी रहेका कोठामा पनि जोखिम छ,’ प्रधानाध्यापक कृष्ण सिंहले भने, ‘विद्यालयको चउर पनि सानो छ। पठनपाठनका लागि नगरपालिकासँग समन्वय गरेर अघि बढ्छौँ।’
उनका अनुसार विद्यालयमा ७० जना विद्यार्थी छन्।
भूकम्पले जाजरकोटका अधिकांश विद्यालय भवनमा क्षति पुगेको छ। कात्तिक ४ गते सोमबारदेखि नै पढाइ सञ्चालन गर्नुपर्ने भए पनि भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुम पश्चिमका विद्यालयहरू अन्योलमा छन्। अधिकांश विद्यालयहरूले खुला चउरमा पढाइ चलाउनुपर्ने अवस्था छ।
जुनिचाँदे गाउँपालिका–२ को महादेव आधारभूत विद्यालयले पनि सोमबारदेखि नै खुला चउरमा पढाइ गर्ने भएको छ। विद्यालयको पक्की र कच्ची भवनमा गरी ५ वटा कोठा थिए। ती दुवै भवन चर्किएका छन्।
कक्षा ३ सम्म पढाइ हुने उक्त विद्यालयमा ५५ जना विद्यार्थी छन्। शिक्षक नरेन्द्र शाहीका अनुसार विद्यालयको खुला मैदानमा राखेर पढाउने तयारी गरिएको छ।
‘त्रिपालको व्यवस्था भएको छैन। अहिले घाम न्यानो हुने भएकाले चउरमै पढाउँछौँ। अलिक पछि केही अस्थायी व्यवस्था होला,’ उनले भने।
शनिबार जाजरकोट जिल्ला विपद व्यवस्थापन समितिको बैठकले भूकम्पबाट आंशिक क्षति भएका विद्यालयको पठनपाठन सम्बन्धित स्थानीय तह र विद्यालय व्यवस्थापन समितिको समन्वयमा गर्ने निर्णय गरेको छ।
सोहीअनुसार स्थानीय तहहरूले पनि विद्यालय सञ्चालनको विषयमा छलफल चलाएका छन्।
जाजरकोटको कुशे गाउँपालिकाले सोमबारदेखि नै विद्यालय चलाउने निर्णय गरेको छ। गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतका अनुसार जोखिममा रहेका विद्यालयहरूले तत्कालका लागि नजिकको सुरक्षित स्थानमा पढाइ चलाउने निर्णय भएको छ।
‘विद्यालयमा सुरक्षित रूपमा पठनपाठन सञ्चालन गर्ने कुरा भएको छ। जोखिममा रहेका विद्यालयहरूको यकिन तथ्यांक लिन पालिका (स्थानीय तह) र साझेदार गैरसरकारी संस्थाहरूबाट प्राविधिक टोली खटिन्छ,’ अध्यक्ष बस्नेतले भने, ‘अनुगमन प्रतिवेदनका आधारमा विद्यालय पुनर्निर्माणमा लाग्छौँ। अस्थायी सिकाइ केन्द्र बनाउनुपर्ने भए समन्वय गरेर अघि बढ्छौँ।’
विद्यार्थीहरूलाई भूकम्प आउँदा बच्ने उपायहरू सिकाएर मात्र कक्षा कोठामा राख्ने निर्णय भएको बस्नेतले बताए। यस्ता उपायहरू शिक्षकले सिकाउनु पर्नेछ।
कुशे गाउँपालिकामा ५५ वटा विद्यालय छन्। तिनमा कम्तीमा ९ हजार जना विद्यार्थी छन्।
अध्यक्ष बस्नेतका अनुसार बाहिरबाट आएर डेरा गरी बसेका शिक्षकहरूका लागि टेन्टको व्यवस्था हुनेछ।
भेरी नगरपालिकाले पनि जोखिममा रहेका विद्यालयहरूमा सुरक्षित स्थान छनोट गरी पठनपाठन चलाउने निर्णय गरेको छ। नगरपालिकाका शिक्षा शाखा प्रमुख अमृतबहादुर पुनका अनुसार पालिकासँग निरन्तर समन्वय गरेर पठनपाठन चलाउन विद्यालयहरूलाई भनिएको छ।
भेरी नगरपालिकामा ५६ वटा विद्यालय छन् जसमा १२ हजार ७०० जना विद्यार्थी छन्।
नलगाड नगरपालिकाले जोखिम कम भएका विद्यालयहरूमा सोमबारदेखि नै नियमित पठनपाठन चलाउने भएको छ।
नगरपालिकाका शिक्षा शाखा प्रमुख बलवीर विकका अनुसार कुल ७१ विद्यालयमध्ये ५४ वटामा क्षति पुगेको छ। सम्भव भएसम्म सोमबार नै पढाइ सुरु हुन्छ।
‘विद्यालयहरू सोमबार नै खुल्छन्। अति जोखिममा रहेका विद्यालयहरूमा सिकाइ केन्द्र बनेपछि मात्र पठनपाठन हुन्छ,’ उनले भने, ‘जोखिम धेरै भएका विद्यालयहरूमा पनि प्रशासन खोलेर अन्य आवश्यक तयारी हुन्छ।’
उनका अनुसार नगरपालिकाले विद्यालय व्यवस्थापन समिति र सामाजिक समितिले काम गर्ने गरी विद्यालयको जोखिम मूल्यांकन गर्ने संयन्त्र बनाइएको छ। यस्तो संयन्त्रले विद्यालयहरूको अनुगमन गर्न थालेको छ। संयन्त्रले आवश्यकता अनुसार अस्थायी सिकाइ केन्द्र बनाउने र अन्य आवश्यक कामबारे प्रतिवेदन तयार गर्नेछ।
जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले भूकम्पबाट जिल्लाभरमा २८९ वटा विद्यालयहरूमा पूर्ण क्षति पुगेको प्रारम्भिक विवरण आएको छ। ती विद्यालयहरूमा अस्थायी सिकाइ केन्द्र निर्माणका लागि सरोकारवाला निकायसँग समन्वयको प्रक्रिया सुरु भएको छ।
कात्तिक २४ गते भएको कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद बैठकले भूकम्प प्रभावितका लागि अस्थायी आवास र अस्थायी सिकाइ केन्द्र निर्माण गर्ने निर्णय गरेको थियो।