जनकपुरसहित देशका विभिन्न स्थानमा आइतबार हर्सोल्लासपूर्वक आदि देव सूर्यको पूजा आराधना गरी छठ पर्व मनाइँदै छ।
परिवार एवं सन्तानको सुख-समृद्धिको कामना गर्दै श्रद्धापूर्वक मनाइने छठमा आइतबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्छ।
दुई साता देखिको तयारीपछि जनकपुरका छठ घाट र जलाशय आकर्षक बनाइएको छ। घाटमा विशेष सजावट र झकिझकाउ बनाइने हुँदा जनकपुरको छठ चर्चित छ।
छठ पूजा हेर्न देश विदेशबाट श्रद्धालुहरू जनकपुर आएका छन्। पर्वमा छठपूजा गर्ने नदी, पोखरी तथा इनार सफा गर्ने परम्परा पहिलेदेखि विद्यमान रहे पनि अचेल सजावटको लागि स्थानीय युवा क्लबहरू प्रतिस्पर्धा नै गर्छन्।
सूर्य भगवानलाई अर्घ्य दिन मधेसका नदी, तलाउ, पोखरी, इनार लगायतको जलाशयको किनारमा घाटलाई विशेष रूपले सिँगारपटार गरिएको छ।
मुख्यतः जनकपुरको धार्मिक तथा ऐतिहासिक पोखरी तलाउ गंगासागर, धनुसागर, अंगराजसर, दशरथ तलाउ, गोरधोई पोखरी, कामिनी सर, रत्नसागर लगातका पोखरीलाई सजाएर झकिझकाउ बनाइएको छ।
आकर्षक पण्डाल तथा लाइटिङ गरी घाट झकिझकाउ तुल्याइएको छ। यी पोखरी तथा तलाउहरूका घाट (किनार) सजाउनकै लागि मात्रै ५० लाख रुपैयाँभन्दा बढी खर्च गरिएको अनुमान छ।
झिलिमिली बत्तीले रातिको समयमा घाट,जलाशय झनै चित्ताकर्षक देखिन्छ। गाउँघर, सहर बजार लगायत गल्लीमा गुञ्जिरहेको छठपर्वको नानाथरी सुमधुर गीतले मधेसमा पर्वोत्सवमा छ।
जनकपुरको पोखरी र जलाशयमा शनिबार रातिदेखि नै पूजा सामग्री लिएर व्रतालुहरू पुगेका छन्। तर ग्रामिण भेगमा भने आइतबार दिउँसो र बेलुकी मात्रै पूजा सामग्री लिएर भक्तजन घाटमा पुग्नेछन छन्। चार दिनसम्म मनाईने छठ पर्वको पहिलो दिन व्रतालु नुहाएर अरबा अरबाइन भोजन गरेका थिए।
दोश्रो दिन शनिबार साँझ प्रसादको रूपमा चामल, सखर र दूध मिलाएर बनाएको खीर ग्रहण ग्रहण गरी खरना मनाएका थिए।
त्यस्तै, तेश्रो दिन अर्थात् मुख्य दिन आज शुक्रबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिन तयार पारेको पूजा सामग्री घाटमा लगेर पूजा गर्ने गरिन्छ भने भने चौथो दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठपर्वको विधिवत् समापन हुन्छ ।
छठ पर्वमा बाँसको ढाकी, डग्री, माटोको कोसिया कुरबार, हाती लगायतको सामग्रीहरू चढाइन्छ। त्यस्तै प्रसादको रूपमा ठकुवा, भुसुवा, केरा, खाजा, उखु, हल्दी, अदुवा एवं विविध प्रकारको मिठाई तथा फलफुल सूर्य देवता अर्थात दीननाथलाई चढाउने गरिन्छ।
अर्घ्य दिने व्रतालु ४८ घन्टासम्म पानी पनि नखाइ उपबास बस्ने गर्दछन्। छठ पर्वमा सूर्य भगवान अर्थात दीननाथलाई अर्घ्य दिन तयार गरिने परिकारहरू अत्यन्तै नियम निष्ठापूर्वक बनाउनुपर्ने भएकाले छठलाई निष्ठा र कठोर व्रत र उपासनाको पर्वका रूपमा मानिन्छ ।
पोखरी, तलाउ र नदीको घाटमा छठ मनाउनेहरू अस्ताउँदो सूर्यलाई अर्घ्य दिन लगेको पूजा सामग्रीसहित रातभर जाग्राम बसेर श्रद्धाभक्तिपूर्वक पूजाअर्चना गरी भोलीपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि मात्र पूजा सामग्री लिएर घर फर्कन्छन् ।
ग्रामिण भेगका कतिपय इनारमा घाट बनाएर छठपर्व मनाउनेहरू बेलुकी पूजा सामग्री लगेर अस्ताउँदो सूर्यलाई अर्घ्य दिएपछि पुनः पूजा सामग्री घर ल्याउने गर्छन्। र बिहानीपख सूर्य उदाउनुभन्दा केही बेरपूर्व पूजा सामग्री घाटमा लगेर अर्घ्य दिने गर्दछन्।
उदाउँसो सूर्यलाई अर्घ्यको रूपमा चढाइएको पूजा सामग्री एवं प्रसाद छठ घाटमा समेत वितरण गर्ने प्रचलन छ भने घरमा लगेर प्रसादको रूपमा सबैले ग्रहण गर्दछन्। पर्व नहुने परिवारलाई छठ मनाउनेहरूले निम्ता दिएर, बोलाएर खुवाउनुको साथै घरमा समेत पुर्याइदिने चलन छ।
छठ पर्वमा विभिन्न स्थानमा सांस्कृतिक कार्यक्रमहरू पनि आयोजना हुने गर्छ।
तस्बिरहरू: