तिहारमा खेलिने देउसी भैलोका लागि पछिल्लो समय प्रशासनले समय सीमा तोक्ने गरेको छ।
बेलुकी ९/१० बजेभित्रै देउसी भैलो खेलिसक्न प्रशासनले सूचना जारी गरेर आग्रह गर्छ।
यसपालि काठमाडौं उपत्यका (काठमाडौं, ललितपुर र भक्तपुर) बाहेक अन्यत्र प्रशासनले सूचना जारी गरेर देउसी भैलो खेल्न समय तोकेका छन्।
काठमाडौं महानगरका मेयर बालेन शाहले यसपालि राति १ बजेसम्म देउसी भैलो खेल्न पाइने उल्लेख गर्दै गत शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका थिए।
उनले नगर प्रहरीले सुरक्षाका लागि पेट्रोलिङ गर्ने र सोहीअनुसार सुरक्षा व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई आग्रह गरेका थिए।
‘विगतका वर्षमा कोभिड र सुरक्षाका कारण तिहारमा देउसी भैलो खेल्ने समय काठमाडौं महानगरभित्र राति ९ बजेसम्म मात्र खेल्न अनुमति दिइएको थियो। यो वर्ष काठमाडौं महानगर नगर प्रहरीले राति १ बजेसम्म सुरक्षाको लागि पेट्रोलिङको व्यवस्था मिलाएका छौं र सोही समयसम्म मर्यादित भएर देउसी भैलो खेलिदिनु हार्दिक अनुरोध गर्दछौं,’ मेयर शाहले भनेका थिए, ‘सोही अनुरूप नेपाल प्रहरी र जिल्ला प्रशासन कार्यालयलाई सुरक्षाको प्रबन्ध मिलाउन हार्दिक अनुरोध गर्दछौं।’
मेयर शाहले देउसी भैलो राति १ बजेसम्म खेल्न पाइने उल्लेख गर्दै सामाजिक सञ्जालमा लेखेकै दिन काठमाडौं, ललितपुर र भक्तपुर प्रशासनले सूचना जारी गरेका थिए, जसमा विगतका वर्षहरूमा जस्तो देउसी भैलो खेल्न समय सीमा तोकिएको थिएन।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले देउसी भैलो खेल्ने समय तोक्दै यसपालि प्रशासनले सूचना जारी नगरेको बताए।
‘विगतमा प्रशासनबाट समय तोकिँदै आइएको थियो। अहिले हामीले समय नतोक्ने, सुरक्षा प्रदान गर्ने भन्ने नीति लिएका छौं,’ उनले भने, ‘हामीले सल्लाह गरेर यसपटक समय नतोक्ने निर्णय गरेका हौं।’
चाडपर्वमा मानिसहरूले मादक पदार्थ सेवन गर्ने र भिडको मौका छोपेर अपराध निम्त्याउन सक्ने भएकोले प्रशासनले देउसी भैलोका लागि समय तोक्ने गरेको उनको तर्क थियो।
‘रातका बेला आपराधिक घटना बढ्न सक्छ, मादक पदार्थ सेवन, झै-झगडा पनि हुन सक्ने भएकाले सुरक्षाको दृष्टिकोणले समय तोक्ने गरिएको हो,’ उनले भने, ‘देउसी भैलो खेल्ने क्रममा झडप हुने, घाइते हुने, आपराधिक घटना पनि भए। त्यसैले समय तोकेको हुनुपर्छ। यसपालि समय नतोकौं, कस्तो हुन्छ हेरौं।’
देउसी भैलो खेल्नका लागि समय तोक्ने कि नतोक्ने भन्नेबारे अन्तरजिल्ला प्रशासन प्रमुखहरूबीच बैठकसमेत गरिएको उनले बताए। ‘यसपालि समय नतोकौं भन्ने कुरा भएको थियो,’ उनले भने।
जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी शिद्धिबिक्रम शाहले ललितपुरमा देउसी भैलोका लागि समय नतोकिएको बताए। ‘सुरक्षाका लागि जतिबेला पनि नेपाल प्रहरी सेवामा हाजिर छ। अरूलाई असर नपर्ने गरी, कसैलाई अवरोध नहुने गरी, सभ्य तरिकाले देउसी भैलो खेल्न पाइन्छ,’ उनले भने।
देउसी भैलो काठमाडौं उपत्यकाभित्र रातिसम्म खेल्न पाइए पनि अरू जिल्लाहरूमा भने समय तोकिएको छ।
जिल्ला प्रशासन कार्यालय गोरखाले देउसी भैलो, नाचगान लगायत सांस्कृतिक क्रियाकलाप बिहान ७ बजेदेखि ९ बजेसम्म मात्रै गर्न भन्दै सूचना जारी गरेको छ।
काभ्रेमा बेलुकी साढे ९ बजेसम्म, मोरङमा बेलुकी १० बजेसम्म, मकवानपुरमा बेलुकी ९ बजेसम्म, चितवनमा बेलुकी ९ बजेसम्म, धनुषामा बेलुकी १० बजेसम्म देउसी भैलो खेल्न पाइने प्रशासनले जनाएको छ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईले देउसी भैलोलाई मर्यादित बनाउन समय तोकिएको बताए।
‘मर्यादित तरिकाले देउसीभैलो खेल्न बेलुकी ९ बजेसम्मको समय उपयुक्त हो। धेरै रातिसम्म बस्दा मानिसहरू असुरक्षित र अमर्यादित हुन पनि सक्छन् भनेर समय तोक्नुपरेको छ,’ उनले भने।
देउसी भैलो खेल्ने समय तोक्न गृह मन्त्रालयले मातहत प्रशासन कार्यालयहरूलाई निर्देशन भने दिने गरेको छैन।