रूपन्देहीको मायादेवी गाउँपालिका- ८ बसडिलवास्थित सिद्धार्थ कोल्ड स्टोरबाट बरामद भएको करोड बराबरको फूल र माला नेपालमै उत्पादन भएको दाबी गर्दै कोल्ड स्टोर सञ्चालकले प्रहरीलाई बिल बुझाएका छन्।
लक्ष्मीदास मानन्धरले सञ्चालन गरेको कोल्ड स्टोरमा भण्डारण गरी राखिएको अवस्थामा भेटिएको करोड बराबरको फूल-माला भारतबाट अवैध रूपमा ल्याइएको आशंका गरिएको थियो।
कोल्ड स्टोर सञ्चालक मानन्धरले भने जिल्लाकै पुष्प व्यवसायीहरूको अनुरोधमा उनीहरूले उत्पादन गरेको फूल आफूले भण्डारण गरी राखिदिएको दाबी गरेका थिए।
जिल्लाभित्र त्यति ठूलो परिमाणमा फूल उत्पादन नहुने भएकाले प्रहरीले मानन्धरलाई उनको दाबी पुष्टि हुनेगरी बिल पेस गर्न भनेको थियो।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता डिएसपी मनोहर भट्टले फूल नेपालमै उत्पादन भएको दाबी गर्द कोल्ड स्टोर सञ्चालक मानन्धरले बिल बुझाएको जानकारी दिए।
मानन्धरले गुल्मी, पाल्पा र नवलपरासीलगायत जिल्लाका ९ पुष्प व्यवसायीहरूको बिल पेस गरेको डिएसपी भट्टले जानकारी दिए।
मानन्धरले पौडेल फ्लावरको २ हजार थान सयपत्री फूलका माला, बाटाखर्क एग्रो फार्मको ५९८ थान, कुलैही कट फ्लावरको १३ हजार ५ सय थान, केशवकुमार शाहको ५ हजार थान, आरजेको ८ हजार थान, आरकेको ८ हजार थान तथा हरि ओमको १५ बोरा सयपत्रीको माला राखेको बिल पेस गरेको डिएसपी भट्टले जानकारी दिए।
त्यस्तै सैनीको २ सय थान तथा नवदुर्गा ड्रिम क्रियसनको ४० बोरा सयपत्री, २७ बण्डल गुलाब, ४ वण्डल कार्नेसन र १७ बण्डल डेजीको बिल पेश गरेका छन्।
बिलको सत्यतथ्य पत्ता लगाउन र थप अनुसन्धानको लागि आन्तरिक राजश्व कार्यालय भैरहवा पठाईएको डिएसपी भट्टले जानकारी दिए।
रूपन्देहीका पुष्प व्यवसायीहरूले भने कोल्डस्टोर सञ्चालकले नक्कली बिल पेस गरेको दाबी गरेका छन्।
बुटवलमा लामो समयदेखि एग्रो फार्म सञ्चालन गरि किसानहरूसँग प्रत्यक्ष सम्पर्कमा रहँदै आएका हातेमालो एग्रो बुटवलका सञ्चालक हरी बस्यालले ती फार्म र व्यक्तिहरूबारे अहिलेसम्म नसुनेको बताए।
‘रूपन्देही आसपासका अधिकांश फर्म र व्यवसायीहरू चिन्छु,’ उनले भने, 'माथि भनिएका फार्म र व्यक्तिहरूबारे अहिलेसम्म सुनेको छैन।'
विगत चार वर्षदेखि तिलोत्तमामा सयपत्री खेतीसँगै किसानहरूलाई तरकारी र सयपत्रीका विरुवासमेत उपलब्ध गराउँदै आएका ईश्वरी भण्डारी पनि कोल्डस्टोर संचालकले प्रहरी सामु पेश गरेका बिलमा उल्लेख गरिएका एग्रो फर्म र व्यक्तिहरूबारे जानकारी नभएको बताए।
‘फूलका माला नेपालकै किसानबाट खरिद गरी कोल्डस्टोरमा राखिएको भन्दै बिल पेश गरिएको थाहा पाएपछि रूपन्देहीको पुष्प व्यवसायीहरू आन्तरिक राजश्व कार्यालयमा समेत जानुभएको थियो, तर अनुसन्धान भइरहेको भन्दै आन्तरिक राजश्व कार्यालयले बिल देखाउन मानेन,’ भण्डारीले भने।
तिहारलाई लक्षित गरी जिल्लाका किसानहरूले उत्पादन गरेको फूल बारीमै कुहिने अवस्थामा पुग्दा कोल्ड स्टोरमा भण्डारण गरेर राखिएको अवस्थामा ठूलो परिमाणमा फूलका माला भेटिएपछि प्रहरीले अनुसन्धान सुरू गरेको थियो।
कोल्ड स्टोर सञ्चालक मानन्धरले भने पुष्प व्यवसायीहरूसँग केही भाडा लिएर उनीहरूले उत्पादन गरेको फूल भण्डारण गरेर राखिदिएको बताउँदै आएका छन्।
सम्बन्धित समाचारः भण्डारण गरी राखिएको १ करोड बढीको माला बरामद, वैधताबारे अनुसन्धान गर्दै प्रहरी