जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार राति गएको ६.४ रेक्टर स्केलको भुइँचालोले ऐतिहासिक जाजरकोट दरबार फेरि चर्किएको छ।
जिल्ला प्रशासन लगायतका सेवामूलक कार्यालयबाट भइरहेका सेवा प्रवाह रोकिएका छन्। केही दशकयता जाजरकोट दरबार भनेर चिनिने यो घरमा प्रशासन कार्यालय बस्छ। प्रशासनसँग समन्वय गरेर काम गर्नुपर्ने अरू केही सरकारी निकायका कार्यालय पनि यही घरमा छन्। भित्र बस्न जोखिम भएपछि उनीहरूले नियमित काम गर्न चउरमा टेन्ट राखेका छन्।
'सेतो दरबार' भनेर चिनिने जाजरकोट दरबारले भूकम्प सहेको यो तेस्रोपटक हो। यो पटक दरबार चर्किएको मात्र छ। यसअघिका दुइटा भुइँचालोले दरबारलाई क्षतिग्रस्त बनाएका थिए। दुवैपटक दरबार पुनर्निर्माण गरिएको थियो।
केही वर्षअघि नेपाल सरकारले सूचीकृत गरेको देशका एक सय पर्यटकीय गन्तव्यभित्र सेतो दरबार अर्थात् जाजरकोट दरबार पनि परेको छ।
पर्यटकीय गन्तव्यका रूपमा रहेको जिल्लाको इतिहासमा भूकम्पले फेरि जोखिम निम्त्याएपछि यसको संरक्षणमा चुनौती थपिएको जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानका अध्यक्ष जनक केसी बताउँछन्।
‘दुईपटक भत्किसकेको दरबारमा अहिले पनि उस्तै जोखिम निम्तिएको छ, जिल्लाको इतिहासलाई जोगाउन यसलाई जोगाउनैपर्ने हुन्छ,’ उनी भन्छन्, ‘जाजरकोट राज्य हुँदा जनताको श्रमबाट पुनर्निर्माण गरिएको थियो, अब यसरी समयमै पुनर्निर्माण गर्न पनि सहज छैन।’
योभन्दा ९० वर्षअघि १९९० माघ २ गते नेपाल र भारत केन्द्रबिन्दु भएर गएको ८ म्याग्निच्युडको भूकम्पले जाजरकोट दरबार पूर्ण रूपमा भत्किएको थियो। यो भुइँचालोका कारण १०–१२ हजार मानिसको मृत्यु भएको थियो। जाजरकोटमा भएको मानवीय क्षतिको भने तथ्यांक छैन। ९० वर्षअघिको उक्त भुइँचालोलाई दरबारमा क्षति पुर्याउने शक्तिशाली विपदका रूपमा जाजरकोटवासीले लिन्छन्।
भुइँचालोले क्षति पुर्याएको सेतो दरबार (जाजरकोट दरबार) लाई फेरि पनि जाजरकोटी जनताको श्रमदानमा पुनर्निर्माण गरिएको ९० वर्षीय देव शमसेर शाह बताउँछन्।
‘मानिस कति मरे भन्ने त हामी पनि थाहा पाउँदैनौं, दरबार भत्किएर पछि तीन तलाको मात्र बनेको हाम्रो पालाका मानिसलाई थाहा छ,’ जाजरकोट राज्य हुँदा मालपोतको कर्मचारीको रूपमा काम गरेका शाहले भने।
सेतो दरबार भनिने जाजरकोट दरबार १९९० को भूकम्प जानुभन्दा ३८ वर्षअघि १८५२ सालमा निर्माण गरिएको हो। तत्कालीन जाजरकोटी राजा इन्द्रनारायण शाहको पालामा खलंगा क्षेत्रको सबभन्दा अग्लो भाग छनोट गरेर यो दरबारको निर्माण गरिएको थियो।
त्यसअघि सोही क्षेत्रमा रातो दरबार थियो। जसलाई १८२५ सालमा राजा हरि शाहले बनाएका थिए। यो दरबार पनि अहिले सरकारी निकायको कार्यालयका रूपमा छ। यसअघि जिल्ला विकास समिति र कृषि विकास बैंकका कामकाज हुने रातो दरबारमा संघीयतापछि जिल्ला समन्वय समितिको कार्यालय छ।
रातो दरबार बनेको २७ वर्षपछि राजा इन्द्रनारायणले राज्य सञ्चालनका लागि थप भौतिक संरचनाको आवश्यकता ठानेर अर्को दरबार बनाएको जाजरकोट दरबार इतिहासका अध्येता जनक केसी बताउँछन्। यो दरबार सुरूमा बनाउँदा पनि जाजरकोटी राजाको आदेशमा जनश्रमदान गरिएको थियो। यसका लागि राजाले जनताले श्रमदान गर्ने निश्चित दिन तोकिदिएका थिए।
राजा इन्द्रनारायणका पालामा यो दरबार कति तलाको थियो भन्ने यकिन जानकारी भने छैन।
‘कसैले सात तलाको भन्छन्, धेरैजसोले पाँच तलाको मात्र हो भनेर दाबी गरेका छन्,’ केसीले भने, ‘जे होस् अहिलेको भन्दा अग्लो थियो, भूकम्पको क्षतिपछि पुनर्निर्माण गर्दा भने तीन तलामा झारिएको हो।’
जाजरकोट दरबारको समग्र संरचनामा पुनर्निर्माण गर्दा परिवर्तन गरिएको वा नगरिएकोबारे यकिन जानकारी भने छैन। तर इतिहासका जानकारहरूले सुरूमा बनेको संरचनामै भूकम्पपछि पुनर्निर्माण गरिएको दाबी गरेको केसी बताउँछन्। यो दरबारको पुनर्निर्माण गर्दा भक्तपुरबाट नेवार समुदायका इञ्जिनियर बोलाइएको थियो।
‘यसमा प्रयोग भएका झ्यालको कला र स्वरूप हेर्दा सुरूकै स्वरूपमा निर्माण भएको देखिन्छ, तर अहिले यसका धेरै मौलिक स्वरूपहरू अस्तित्वमा छैनन्,’ उनले भने, ‘सरकारले रेखदेखको राम्रो व्यवस्था गर्न नसक्दा यो हराएको हो।’
सेतो दरबार उर्फ जाजरकोट दरबारले दोस्रो पटक भूकम्पीय क्षति भोगेको २०४५ सालमा हो।
उदयपुर केन्द्रबिन्दु रहेको उक्त वर्षको ६.९ रेक्टर स्केलको भूकम्पले दरबारको पश्चिम भाग (जसलाई पश्चिम नाल भनिन्थ्यो) मा क्षति पुगेको थियो। यसलाई २०५१ सालमा पुनर्निर्माण गरिएको हो। त्यो भूकम्पले दरबारमा क्षति पुगे पनि मानवीय क्षति भने जाजरकोटमा नभएको केसीले बताए।
तीनपटक भूकम्पीय क्षति भोगेको जाजरकोट दरबारबाट इन्द्रनारायण पछिका सात जना राजाले शासन गरेका थिए। यो दरबारबाट शासन चलाउने अन्तिम राजा प्रकाश विक्रम शाह थिए। इन्द्रनारायणभन्दा अघिका जाजरकोटी राजा हरि शाहदेखि गजेन्द्रनारायण शाहसम्मले रातो दरबारबाट शासन चलाएका थिए।
अध्येता केसीका अनुसार जाजरकोटको राज्य सञ्चालन हुने सेतो दरबार र रातो दरबारमार्फत् २०१७ सालदेखि नै सरकारी कामकाज हुँदै आएका थिए। प्रकाश विक्रमदेखि पछिका राजाहरू २०१७ देखि नै ती दरबारमा बस्न छोडेका थिए।
२०१७ सालमै जाजरकोटी राजा प्रकाशविक्रम शाहले नेपाल सरकारलाई ६० हजार रुपैयाँमा जाजरकोट दरबार बेचेका थिए। त्यसपछि यो सरकारी सम्पत्तिका रूपमा परिणत भएको केसी बताउँछन्।
यो वर्षको भूकम्पले जोखिममा रहेको जाजरकोट दरबारलाई बलियो रूपमा पुनर्निर्माण गरेर संग्रहालयका रूपमा संरक्षण गर्नुपर्ने केसी बताउँछन्।
‘यो दरबार ऐतिहासिक र पुरातात्विक हिसाबले निकै महत्वपूर्ण छ, यो जाजरकोटको मात्र नभएर सिंगो कर्णालीको मुख्य पर्यटकीय गन्तव्य पनि हो,’ उनले भने, ‘यसको मौलिकता, इतिहास र पुरातात्विक महत्व सुरक्षित हुने गरी पुरानै स्वरूपमा भूकम्प प्रतिरोधी बनाउनुपर्छ।’
अहिले सञ्चालमा रहेको जिल्ला प्रशासन कार्यालयलाई आफ्नो भवन बनाएर सार्नुपर्ने केसीको भनाइ छ। सरकारी कार्यालय रहँदा यसको इतिहास मेटिँदै जाने तर्क उनको छ।
यो पटकको भूकम्पले जाजरकोट दरबारसँगै त्यतिबेलाकै स्वरूपमा बनेका अरू ऐतिहासिक घरहरू पूर्ण रूपमा भत्किएका छन्।
खलंगाको माथिल्लो थाप्लेमा बनेका व्यक्तिको स्वामित्वमा भएका ती दुइटा घरहरूलाई स्थानीयले दरबार भन्ने गरेका छन्। ती दुई घरहरूमध्ये एउटा जाजरकोटी राजा जंगबहादुर शाहका छोराहरू समरध्वज शाह, रणध्वज शाह र सुरबहादुर शाहले १९४२ सालमा जाजरकोटी जनाताको सहयोगमा बनाएका केसीले बताए।
अर्को घर जंगबहादुरकै छोराहरू शक्तिवद्र्धन शाह, अमरबहादुर शाह, नरशम्शेर शाह र नरजंग शाहले १९५० सालमा बनाएका हुन्।
दरबारकै रूपमा चिनिने यी घरहरू राज्य सञ्चालनका लागिभन्दा पनि जाजरकोटी राजाका भाइ–छोराहरू बस्न भनेर दरबारकै स्वरूपमा बनाइएको थियो। राजाका भाइ–छोराहरू धेरै भएर उनीहरूका आवास व्यवस्थापनका लागि ती घरहरू बनेको केसी बताउँछन्।
अहिले यी घरहरू जसको स्वामित्वमा छन्, उनीहरूकै अघिल्ला पुस्ताले प्रयोग गरेकोले व्यक्तिको स्वामित्वमा सहजै गएको केसीको भनाइ छन्।
‘उनीहरूका बाजे, परबाजेहरूले प्रयोग गरेकाले व्यक्तिको नाममा गएका हुन्,’ उनी भन्छन्, ‘ती घरमा राज्य सञ्चालन भएन, राजाका भाइछोराहरू बसे, उनीहरूकै लागि बनेकाले व्यक्तिको नाममा गर्न सहज भयो।’
यसअघिका दुवै भूकम्पबाट जोगिएका यी घर अहिले भने भत्किएका छन्।
दरबार आसपासमा बनेका पुराना भौतिक संरचनाहरू पनि यो पटकको भूकम्पले तहसनहस भएका छन्। ती संरचना पनि मौलिक स्वरूपमा छन्। ती घर जाजरकोट राज्य हुँदा विभागीय काम गर्ने काजीका परिवार बस्न बनाइएको हुन सक्ने अध्येता केसी बताउँछन्।
‘जाजरकोट राज्यमा एक जना मन्त्री राख्ने र राज्यमन्त्रीको रूपमा काम गर्नेलाई काजी भनिन्थ्यो, राज्यमा काम गर्नका लागि तोकिएका मन्त्री अर्थात् काजीको जिम्मेवारी पाएका व्यक्ति र तिनका परिवार जाजरकोट राजाको दरबारको छेउमै बस्ने गरेको पाइन्छ,’ उनले भने, ‘उनीहरूले घर बनाउँदा पुरानै स्वरूप अपनाएको हुन सक्छन्, त्यतिबेलाका मन्त्री र काजीहरूको विशेष सुविधाको पूर्ति जनताबाटै उठाइएको करबाट व्यवस्था हुन्थ्यो।’
अहिलेको भूकम्पबाट क्षति भएका दरबार छेउका कतिपय घरहरू २१ औं शताब्दीको सुरूमा बनेको हुनसक्ने अनुमान गरिएको केसीले बताए।