जब जब कास्की प्रहरीको नेतृत्वमा नयाँ प्रमुख सरूवा भएर आउँछन्, त्यसको छनक पर्यटन बजारमा देखिन्छ। नयाँ प्रमुख आएपछि व्यवसायीलाई तर्साउन साँझ परेपछि प्रहरी परिचालन गर्छन् र शान्तिपूर्वक नियम पालना गरेर व्यवसाय चलाइरहेका व्यवसायीलाई धरपकड गर्न थाल्छन्।
यसरी नै प्रहरी धरपकडमा परेका थिए, लेकसाइडस्थित रानीवन आर्किड होटलका सञ्चालक कुश भुजेल।
भारतबाट आउँदै गरेका पर्यटकले रोटी, तरकारीलगायत खाना बनाउन अर्डर गरेपछि उनी पनि कर्मचारीसँगै किचनमा काम गरिरहेका थिए। रातको ११ बजिसक्दासमेत पर्यटक आइपुगेका थिएनन्।
‘म रोटी पकाउँदै थिएँ, प्रहरी आएर स्टाफलाई लैजान खोज्यो,’ भुजेलले भने, ‘स्टाफलाई होइन, मलाई लैजानुस् भनेपछि मलाई लगेर प्रहरीले थुन्यो।’
भोलिपल्ट बिहान उनलाई प्रहरीले छाडिदिएको थियो। राति होटल खुला राखेको भन्दै उनलाई प्रहरीले पक्राउ गरेको थियो। लेकसाइडका व्यवसायीका अनुसार प्रहरीले खुला राखेका होटल, रेस्टुरेण्टलगायत व्यवसाय मात्र होइन, अत्यावश्यक खाद्यान्न पसलदेखि सबै खालका व्यवसाय बन्द गराउँछन्।
नेपालको पर्यटकीय केन्द्र मानिएको लेकसाइड सम्साँझै बन्द हुँदा पर्यटक मारमा पर्छन्। केही ठूला होटल, रेस्टुरेण्टलगायत राजनीतिक पहुँच भएका व्यवसायीलाई भने प्रहरीले छुँदैन।
लेकसाइडमै कोल्ड ड्रिङ्स र वाइन पसल चलाएकी देवीकुमारी बराललाई पनि प्रहरीले यसरी नै दु:ख दिन थालेपछि उनी कानुनी उपचारमा जाने निर्णय गरिन्। व्यवसाय चलाउन आवश्यक सबै कानुनी प्रक्रिया पूरा गर्दासमेत उनलाई प्रहरी आएर रात परेपछि पसल खोलेर ‘शान्ति सुरक्षा भंग गरेको’ आरोप लगाउँदै दु:ख दिन थाले।
साँझको ८ बजे नै प्रहरी जबरजस्ती पसलमा छिरेर पसल तत्काल बन्द गर्न आदेश दिने नमाने लगेर थुनिदिने र सार्वजनिक अपराधको मुद्दा चलाउने धम्की दिन थाले। प्रहरीले पसलमा काम गर्ने कर्मचारी र सञ्चालकलाई डर, त्रास देखाउने थाले।
देवीकुमारी बरालले उच्च अदालतमा बुझाएको रिट निवेदन अनुसार यही कात्तिक १५ गतेका दिन राति ११ बजे प्रहरी आएर तत्काल पसल बन्द गर् नत्र व्यवसायी, कर्मचारी र पसल आएका स्वदेशी तथा विदेशी पर्यटकसमेत लगेर थुनिदिने धम्की दिन थाले।
प्रहरीको यस्ता हर्कतले कानुनी रूपमा व्यवसाय सञ्चालन गर्न आफूलाई हतोत्साही बनाएको उनले रिट निवेदनमा उल्लेख गरेकी छन्। प्रचलित कानुन अनुसार व्यवसाय सञ्चालन गर्न पाउने हक प्रहरीले संकुचित पारेको उनले बताएकी छन्।
रात पर्नासाथ प्रहरीले व्यवसायीलाई मात्र होइन, होटल, रेस्टुरेण्टलगायत पसलमा बस्ने पर्यटकलाई पनि दु:ख दिने गरेका छन्। रात्रीकालीन व्यवसाय सञ्चालन गर्ने एक व्यवसायीका अनुसार प्रहरी छिरेर खाना खाइरहेका पर्यटकलाई पनि दु:ख दिने र पक्राउ गर्ने धम्की प्रहरीले दिइरहेका छन्।
पोखराको लेकसाइड मात्र होइन, सबै ठाउँमा यसरी प्रहरीले दु:ख दिने गरेको व्यवसायीहरू बताउँछन्।
‘प्रहरीको काम शान्ति सुरक्षा दिने हो, व्यवसाय बन्द गराउने होइन,’ रानीवन आर्किड होटलका अर्का सञ्चालक हरि भुजेल भन्छन्, ‘व्यवसायीले चाहेर राति व्यवसाय चलाएको होइन, पर्यटकको चाहनाले हो।’
भुजेलले होटल रेस्टुरेण्ट मात्र होइन, अत्यावश्यक खाद्यान्न, तरकारी तथा फलफूल र किराना पसल पनि रातिमा खोल्न पाउनुपर्ने बताए।
‘राति होटल खोल्दा दोब्बर कर्मचारी चाहिन्छ पर्यटक आउने भएर नै खुला राख्ने हो, नआउने दिनमा राखिँदैन,’ उनले भने, ‘अब पोखरा विमानस्थल रात्रीकालीन चल्ने, व्यवसाय नचल्ने हो भने राति आउने पर्यटक कहाँ बस्ने, के खाने?’
रात परेपछि प्रहरीले व्यवसाय बन्द गर्दा पर्यटक एवं ग्राहकले दु:ख पाउने गरेको भन्दै दुई वर्षअघि तत्कालीन गृहमन्त्री बालकृष्ण खाणले पनि असन्तुष्टि पोखेका थिए। उनले कास्कीका सिडिओलाई तत्काल बैठक राखेर पोखरा २४ घण्टा खुला राख्न र व्यवसाय सुरक्षाको ग्यारेण्टी गर्न निर्देशन दिएका थिए।
उनले दिएको निर्देशन तत्कालीन सिडिओले लागु गरेनन्। प्रहरीले व्यवसायी तर्साउन छाडेनन्। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पनि रात परेपछि व्यवसाय बन्द गराउने प्रहरी हर्कत गलत भएको बताउँदै आएका छन्।
पोखराका पर्यटन व्यवसायीसँग गत असोज पहिलो साता अन्तर्क्रिया गर्दा मुख्यमन्त्री पाण्डेले २४ घण्टा सेवा दिन चाहने व्यवसायीलाई प्रहरीले रोक्न नहुने बताए।
‘नेपालमा अन्तर्राष्ट्रिय सम्मेलन लगायतका कार्यक्रम गर्दा विदेशी पाहुनाले नेपालमा सबै ठीक छ, रात परेपछि प्रहरीले दु:ख दिन्छ भनेर मलाई विदेशी पाहुनाले भनेका छन्,’ उनले त्यतिबेला भनेका थिए, ‘प्रहरीको काम व्यवसाय बन्द गराउने होइन, व्यवसायीको सुरक्षा गर्नु हो, रातभर खुला राख्न चाहने सबै व्यवसायीलाई खोल्न दिनुपर्छ, प्रहरीले सुरक्षा सतर्कता अपनाउनुपर्छ।’
गृहमन्त्रीदेखि मुख्यमन्त्रीसम्मले २४ घण्टा व्यवसाय खुला राख्न निर्देशन दिए पनि प्रहरीले सुनेको थिएन। प्रहरीले रात पर्नासाथ धरपकड गर्ने र व्यवसाय बन्द गराउने गतिविधि रोक्न उच्च अदालत पोखराले आदेश दिएको छ।
लेकसाइडमा कोल्ड ड्रिङ्स् र वाइन सप चलाएकी देवीकुमारी बरालले दिएको रिट निवदेनको सुनुवाइ गर्दै अदालतले बुधबार उक्त आदेश दिएको हो।
पोखरा २४ घण्टा खुला हुनुपर्ने माग राख्दै उनले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय बैदामलाई विपक्षी बनाएर गत कात्तिकमा रिट हालेकी थिइन्।
उनको रिट निवेदनमाथि सुनुवाइ गर्दै उच्च अदालतका कायममुकायम मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईको एकल इजलासले निवेदकको मागबमोजिम कानुन बमोजिमका व्यापार व्यवसाय गर्न रोक्ने, रोक्न लगाउने कार्य नगर्न अन्तरिम आदेश दिएको छ।
गृह मन्त्रालयले तयार पारेको गृह प्रशासन सुधार कार्ययोजना २०७४ ले ठमेल, दरबारमार्ग, पोखराजस्ता पर्यटकीय क्षेत्र २४ घण्टा खुला रहने गरी आवश्यक सुरक्षा प्रबन्ध गर्ने नीतिगत निर्णय गरेको समेत आदेशमा उल्लेख छ।
कास्कीका सिडिओ वासुदेव घिमिरेले अदालतको आदेश अनुसार पोखरामा सञ्चालित व्यवसाय बन्द गराउने काम रोकिने बताए।
‘अदालतको आदेश अनुसार नै रात्रीकालीन व्यवसाय सञ्चालन गर्न पाउनुहुन्छ, प्रहरीले अवरोध गर्दैन,’ उनले भने।
सरकारले रात्रीकालीन व्यवसाय सञ्चालन सम्बन्धमा जारी गरेको मापदण्डका आधारमा व्यवसाय बन्द गराउने वा खुला राख्ने गरी प्रहरीले काम गरेको उनले बताए। रात्रीकालीन व्यवसाय सञ्चालनसम्बन्धी कार्यविधिमा व्यवसाय सञ्चालन गर्न आवश्यक सम्पूर्ण कानुनी प्रावधान पूरा गरेको हुनुपर्छ।
रात्रीकालीन व्यवसायीले व्यवसाय स्थलमा अनिवार्य सिसिटिभी राख्नुपर्ने र सिसिटिभीको रेकर्ड कम्तीमा ३० दिन राख्नुपर्ने, सुरक्षा गार्ड राख्नुपर्ने, कर्मचारीलाई आवश्यक पोशाक, सुरक्षा लगायतको व्यवस्था गर्नुपर्ने कार्यविधिमा भनेको छ।
रात्रीकालीन व्यवसाय गर्दा यौन हिंसा, दुर्व्यवहार, मानव तस्करीलगायत अपराधजन्य गतिविधि हुन नदिने व्यवसाय सञ्चालकले विशेष निगरानी गर्नुपर्ने उल्लेख छ। यस्ता मापदण्ड पालना गर्दा समेत प्रहरीले धरपकड गर्ने र दु:ख दिने गरेको व्यवसायीको गुनासो छ। तर केही व्यवसायीलाई भने बिहान ७/८ बजेसम्म व्यवसाय सञ्चालन गर्दा पनि केही नगर्ने तर साना व्यवसायीलाई दु:ख दिने गरेको व्यवसायीको आरोप छ।
कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले रात्रीकालीन व्यवसाय सञ्चालनसम्बन्धी मापदण्ड पूरा गरेका व्यवसायीलाई आफूहरूले धरपकड नगरेको दाबी गरे। अदालतले दिएको आदेश पालना गर्ने भन्दै उनले मापदण्ड पूरा नगरेका व्यवसायीलाई रात्रीकालीन व्यवसाय सञ्चालन गर्न दिँदा सुरक्षा चुनौती आउने बताए।
‘मापदण्ड पूरा गरेका व्यवसायीले रात्रीकालीन व्यवसाय गर्न पाउनुहुन्छ, उहाँहरूलाई हामीले रोकेका छैनौं,’ उनले भने, ‘कोही व्यक्ति विशेषले रोक्न लगायो भने ऊ कारबाहीको भागीदार हुन्छ, हामीले त्यसो गर्दैनौं।’