भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस (युसिएमएस) की प्राचार्य प्रा.डा. लक्ष्मी पाठकलाई पदमुक्त गर्ने सहमतिपछि विद्यार्थीहरूले आन्दोलन स्थगित गरेका छन्।
मेडिकल कलेज प्रशासन र आन्दोलनरत विद्यार्थीका प्रतिनिधिबीच मंगलबार भएको सहमतिमा प्राचार्य पाठकलाई पदमुक्त गरी नयाँ प्राचार्य नियुक्त गर्ने उल्लेख छ।
कलेज प्रशासन र विद्यार्थीहरूबीच ६ बुँदे सहमति भएको छ।
सहमतिको पहिलो बुँदामा भनिएको छ, ‘प्रा.डा. लक्ष्मी पाठकलाई यु.सि.यम.यस. शिक्षण अस्पतालको प्राचार्यबाट पदमुक्त गर्ने र नयाँ प्राचार्य यथाशीघ्र नियुक्त गर्ने।’
यो सहमतिपछि विद्यार्थीहरूले विगत एक महिनादेखि गर्दै आएको आन्दोलन स्थगित गरेका छन्।
विद्यार्थीको सवालमा दीर्घकालिन प्रभाव पार्न सक्ने खालका निर्णय एकेडेमिक काउन्सिलले गर्ने पनि सहमति भएको छ।
विद्यार्थी कल्याणकारी समितिलाई अद्यावधिक गर्ने सहमति भएको छ।
आंशिक तथा आवासीय चिकित्सकहरुको पारिश्रमिकको सम्बन्धमा यथाशीघ्र समिति गठन गर्न उनीहरू सहमत भएका छन्।
विभिन्न मेडिकल कलेजहरुको अवस्था अध्ययन गरेर विद्यार्थीको रायसमेत लिई प्रस्तावित मिति र रकमसहित १५ दिनभित्रमा रिपोर्ट पेश गर्ने सहमति पनि भएको हो।
आन्दोलनको विषयलाई लिएर आगामी दिनमा कुनै पनि विद्यार्थीमाथि पूर्वाग्रहपूर्ण व्यवहार नगर्ने र मूल्याङ्कनमा भेदभाव नगर्ने तथा सिकाई अवधिलाई वैज्ञानिक तथा उपलब्धिमुलक बनाउने कुरालाई मुख्य प्राथमिकतामा राख्दै अनावश्यक समय नलगाउने र इन्टर्नसम्बन्धी सम्पूर्ण कामकारबाही नेपाल मेडिकल काउन्सिलको प्रावधानबमोजिम गर्ने सहमति पनि भएको छ।
आन्दोलनको मुख्य कारण बनेको नयाँ ड्रेस कोड सम्बन्धमा विभागीय प्रमुखहरुको बैठक बसेर विद्यार्थीहरुको सहजतालाई मध्यनजर गरी लागू गर्ने सहमति भएको मेडिकल कलेज प्रशासनले जनाएको छ।
मेडिकल कलेजका प्राचार्य पाठकले गोजीबिनाको पहेँलो सर्ट र कालो पाइन्टलाई ड्रेस तोकेपछि विद्यार्थीहरूले छात्रको लागि गोजीसहितको सर्ट पाइन्ट र छात्राहरुको लागि कुर्ता सुरुवाल ड्रेस बनाउन माग गरेका थिए। तर प्राचार्य पाठकले ड्रेसमा गोजी राख्दा परिक्षामा चिट लैजान सक्ने तर्क गर्दै गोजी राख्न नदिएको विद्यार्थीहरुको भनाइ थियो।
ड्रेसको बिबाद बढ्दै जाँदा विद्यार्थीहरूले गत असोज २२ गतेदेखि चिकित्साशास्त्र स्नातक (एमबिबिएस) र दन्त चिकित्सा स्नातक (बिडिएस) का विद्यार्थीहरुले प्रशासनमा धर्ना दिएका थिए भने असोज २८ गतेदेखि रिले अनशन सुरु गरेका थिए।
मेडिकल कलेज प्रशासन र विद्यार्थीहरूका बीचमा सहमति भएपछि मंगलबार देखि नै कलेज र अस्पतालका समेत विभिन्न बिभागमा लगाइएका ताला खोलिएको र अस्पतालको सेवा समेत सुचारु भएको मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत अजयकुमार पीएसले जानकारी दिए।
ड्रेसको विषयबाट सुरु भएको विद्यार्थीहरुको आन्दोलनका कारण पठनपाठन मात्र होइन मेडिकल कलेजको उपचार सेवा नै एक महिनादेखि प्रभावित बनेको थियो।
विद्यार्थीको आन्दोलनमा आंशिक र आवासीय चिकित्सकहरुले समर्थन गर्दै नियमित काममा उपस्थित नभएपछि मेडिकल कलेजमा बिरामीहरुको उपचार ठप्प बनेको थियो।
यस्तो छ सहमतिका बुँदा: