जाजरकोटको भेरी नगरपालिका–३ रिम्नाका गोविन्दको परिवार १७ गते शुक्रबार बेलुका दिनभरको काम सकेर घरभित्र पसे।
दिनभरको कामको थकानका कारण उनीहरूले बेलैमा खाना बनाएर खाएर सुत्न भ्याएनन्। केही ढिला भयो।
खाना खाएलगत्तै गोविन्दका बुवा माथिल्लो तलाको बीचको कोठामा सुत्न गए। माथिल्लो तलाकै बाहिरी कोठामा उनकी भान्जी सुतिन्।
गोविन्द, उनकी श्रीमती र छोरी भुइँ तलाको कोठामा सुते। मध्यरातमा जब गोविन्द ब्युँझिए, उनको छातीभन्दा माथीको सबै भाग ढुंगा र माटोले पुरिएको थियो। दुई तले कच्ची घर भुइँचालोले भत्किएको थियो। तैपनि गोविन्दले के भयो भनेर सोच्ने मौकै पाएनन्।
‘म सुतिसकेपछि उति छिटो कसैले ब्युँझाउन सक्दैन, श्रीमतीको निद्राचाहिँ सानो चालमा पनि खुल्छ,’ गोविन्दले सेतोपाटीसँग भने, ‘डेढ घन्टा जति भएको थियो हामी सुतेको, श्रीमतीले धकलेर खाटबाट फालेपछि म ब्युँझिएँ, तर सास फेर्न सक्ने अवस्था नै थिएन।’
भुइँ तलाको खाटको भित्तातिर गोविन्दकी ५ वर्षकी छोरी सुतेकी थिइन्। श्रीमती विमला बीचमा र उनी छेउमा सुतेका थिए। विमलाले घर भत्किनेबित्तिकै थाहा पाएर गोविन्दलाई खाटबाट धकेलेकी थिइन्।
‘उनले धकेलेपछि मेरो आधा शरीर खाटबाट तल थियो, पुरिएको टाउकोतर्फको भाग माथि भएको रहेछ,’ गोविन्द भन्छन्, ‘मलाई त घरको माटो, ढुंगा खसिसक्दा पनि थाहा भएन, घर भत्किएर छातीभन्दा माथिको भाग पुरिइसकेको रहेछ।’
गोविन्दले भुइँचालोको पत्तो पाउन त सकेनन्, तर बाँच्ने जिजीविषाचाहिँ एकरत्ति कमजोर हुन दिएनन्। जसोतसो बल लगाएर हातले टाउकामा परेको ढुंगामाटो फाल्दै पुरिएको शरीरको भाग आफैंले निकाले।
अँध्यारो भएकाले सपनामा भएको जस्तो महसुस पनि भयो उनलाई।
गोविन्द निस्कँदासम्म श्रीमती विमलाको पनि टाउको भाग पुरिइसकेको थियो। उनले छामछामछुमछुम पारे। विमलाको टाउकोमुनि माटो थियो। माथीपट्टि ढुंगाहरूले छोपिएको थियो। गोविन्दले श्रीमतीलाई पनि हात समातेर ताने।
त्यसपछि बल्ल छोरीतर्फ ध्यान गयो। भित्तातिर सुतेकी छोरी भने सबै पुरिएका थिइन्।
‘छोरीलाई त झन् सास फेर्न गाह्रो भएको थियो, दुई मिनेट मात्र ढिलो भएको भए उनी मर्थिन्,’ भुइँचालाले निम्त्याएको विपद् सम्झँदै गोविन्द भन्छन्, ‘भित्तातिरको ढुंगामाटोले छोरीलाई झन् धेरै च्यापेछ, दुई जना लागेर जसोतसो गरी छोरीलाई उकासेर बाहिर आयौं। छोरीले लामो सास फेरिन्।’
माथिल्लो तलामा सुतेकी उनकी भान्जी भने घर भत्किनेबेला उछिट्टिएर बाहिरै खसेकी थिइन्। घरको बीचको भाग नभत्किएकाले माझ कोठामा सुतेका उनका बुवालाई केही पनि भएन। उनी आफैं घरबाहिर निस्किए।
घर भत्किएर च्यपिएका आफू, श्रीमती र छोरी बाहिर निस्कँदासम्म कम्तीमा सात मिनेट लागेको गोविन्दले सुनाए।
घरमा पुरिएकाहरूलाई बचाउन भने उनकी श्रीमती विमलाको मुख्य भूमिका छ।
‘मैंले त घर हल्लिएकै बेला थाहा पाइसकेको थिएँ, हल्लिनेबित्तिकै ढुंगा र माटो खसेर आइसकेको थियो,’ त्यो त्रासदी सुनाउँदै उनले भनिन्, ‘ममाथि ढुंगा खसिरहेको थियो, श्रीमान ब्युँझिनुहोला भनेर धकेलेर फालें, छोरीलाई चोट नलागोस् भनेर उनको टाउकोमाथि मेरो हात राखेँ।’
गोविन्दको सडकछेउमै भएको घर ३० वर्ष पुरानो हो। घर भत्किए पनि परिवारले नयाँ जीवन पाएको उनले बताए। ‘घर त सबैको सहयोग र आफ्नो मिहिनेतले नयाँ पनि बनाउन सकिएला, सबैभन्दा ठूलो कुरा त बाँच्न सफल भएका छौं,’ उनले सुनाए।
शनिबारदेखि गोविन्दको परिवार भत्किएको घरछेउमा त्रिपालको व्यवस्था गरेर बसिरहेका छन्।