सुर्खेतको चौकुने गाउँपालिका यतिबेला शोकमा छ। गाउँका एकै परिवारका पाँच जना सदस्यको भारतमा सवारी दुर्घटनामा मृत्यु भएको छ।
बिहीबार भारतको कर्नाटक राज्यस्थित गुलबर्गा सहरको अबजलपुर तलुका भन्ने ठाउँमा ट्रकले ठक्कर दिँदा चौकुने गाउँपालिका–७ अमलटाकुराका पाँच जनाको मृत्यु भएको हो।
महाराष्ट्र र कर्नाटक जोड्ने हाइवेमा मोटरसाइकलमा सवार उनीहरूलाई ट्रकले दिएको थियो।
मृत्यु हुनेमा दुई जना बालक छन्। चौकुने गाउँपालिका–७ का वडाध्यक्ष धनिराम धमलाका अनुसार अमलटाकुराका २७ वर्षका रतन नेवार, उनकी २५ वर्षकी श्रीमती अस्मिता नेवार, उनीहरूका पाँच वर्षका छोरा मिलन नेवार र अर्का दुई वर्षका छोरा धड्कन नेवारको मृत्यु भएको हो।
सोही दुर्घटनामा रतनकी भाइबुहारी स्वस्तिका नेवारको पनि मृत्यु भएको छ।
गत वर्ष फागुनमा रतनले परिवारै लिएर गएका थिए। तिहारमा फर्किने गरी घरको जिम्मा वृद्ध बुवाआमालाई दिएर उनीहरू भारत गएका थिए। रतनको घरमा यतिबेला बुवा धनबहादुर नेवार र आमा सीता नेवार मात्र छन्।
भारतको कर्नाटकमा महिलाहरूले पनि राम्रो काम पाउने भएकाले रतनले श्रीमती र छोराछोरी लिएर गएको छिमेकी दुर्गा बिसीले बताए।
‘त्यहाँ कम्पनीहरूमा महिलाहरूलाई पनि रोजगारी मिल्ने रहेछ, त्यही भएर पनि उनले परिवार लिएर गएका हुन्,’ बिसीले भने, ‘घटना भयो, यहाँ छोराबुहारी र नातिहरूलाई पर्खिरहेका बुवाआमा विचलित हुनुहुन्छ।’
दुर्घटनामा मृत्यु भएका रतनका छोरा मिलन गाउँकै एउटा विद्यालयमा एक कक्षामा पढ्थे।
रतनका ६ भाइ छन्। उनी काइँला छोरा हुन्। सबै भाइहरू भारतका छुट्टाछुट्टै ठाउँमा बसेर रोजगारी गर्छन्।
दुर्घटनामा मृत्यु भएका उनीहरू सबै रतनका ठाइँलो भाइलाई भेटेर कोठामा फर्किरहेका थिए। स्थानीय अस्पतालमा उपचार गराइरहेका ठाइँलो भाइलाई भेट्न उनी भाइबुहारी, श्रीमती र छोराहरूलाई पनि लिएर गएका थिए।
‘स्थानीय अस्पतालमा उपचार गराइरहेका रतनका भाइलाई भेट्न पाँचै जना गएर फर्किंदै गर्दा सवारी दुर्घटना भएको खबर त्यहाँ भएका आफन्तले गर्नुभएको छ,’ वडाध्यक्ष धमलाले भने।
उनका अनुसार पछाडिबाट आइरहेको ट्रकले मोटरसाइकललाई ठक्कर दिएको थियो।
अस्पतालबाट फर्किने क्रममा उनीहरू दुर्घटनामा परेका हुन्। उनीहरू सबैको घटनास्थलमै मृत्यु भएको चौकुने गाउँपालिकाका अध्यक्ष खड्क विक (विवश) ले बताए।
भारतमा मृत्यु भएका पाँचै जनाको दाहसंस्कार पनि भारतमै गर्ने तयारी गरिएको छिमेकी दुर्गा बिसीले बताए।
‘क्षतविक्षत भएका शव यहाँ ल्याउन पनि समस्या हुने भएकाले उतै दाहसंस्कार गर्ने तयारी गरिएको छ, दाहसंस्कारपछि किरिया उठाएर नेपाल ल्याउने हो,’ उनले भने।
चौकुने गाउँपालिकाको ७ नम्बर वडा कार्यालयले मृतकका परिवारलाई किरिया खर्चस्वरूप २० हजार रुपैयाँ दिने घोषणा गरेको छ।
शुक्रबार बसेको वडाको बैठकले किरिया खर्च दिने निर्णय गरेको वडाध्यक्ष धमलाले बताए।