झिसमिसे उज्यालो भएपछि ४९ वर्षीय जितबहादुर वादी खोलामा जान बाटो लाग्छन्। खोलामा पुगिसक्दा प्रष्ट उज्यालो हुन्छ।
अघिल्लो बेलुका सुल्झाएका पासो एक घण्टा जतिमा खोलाको तलदेखि माथिसम्म थापेर घर फर्किन्छन्।
बेलुका घाम अस्ताउने बित्तिकै फेरि त्यही खोलामा पुग्छन्। सबै पासो उतार्छन्। पासोमा परेका माछा बोकेर फर्किन्छन्। कुनै दिन चार—पाँच किलो माछा जालमा पर्छन् कहिले त्योभन्दा थोरै हुन्छन्। कहिले त रित्तै पनि फर्किनुपर्छ।
जाजरकोटको कुशे गाउँपालिका–५, खुर्पाका जितबहादुरको गाउँमुनि सरूगाड (खोला) बग्छ। उनी भदौ अन्तिमदेखि असारसम्म यसैगरी बिहान–बेलुका खोलामा पुग्छन्।
बिहान थापेका पासो बेलुका निकाल्दा छरछार भएर बिग्रेका हुन्छन्। राति अबेरसम्म बसेर सुल्झाउँछन्। भोलिपल्ट एकाबिहानै सरूगाड पुग्छन् र उसै गरी पासो थाप्छन्।
उनका अनुसार सरुगाडमा स्वादिलो असला माछा पाइन्छ। त्यहाँ जोखिम उठाएर मारेका माछा बेचेर आउने पैसाले उनको परिवार चल्छ। जितबहादुर घरेलु हतियार बनाउने र धार लगाउने आरन पनि चलाउँछन्। आरनमा खलोप्रथा चल्छ। खलो भन्नु वर्षभरि काम गरेको ज्यालाबापत एकै पटक एकमुस्ट अन्न पाउनु हो।
उनी आफ्नो थोरै खेतमा अन्न पनि फलाउँछन्। यसरी तीनतिरबाट दुःखले परिवारको गुजारा हुन्छ।
सुख्खा याममा खोलामा माछा मार्नु उनको मुख्य पेसा हो।
भन्छन्, ‘हाम्रो त मुख्य पेसा नै यही हो। यसैबाट पैसा आउँछ। अरू पेसाबाट घरमा आउने अन्नले वर्षभरि खान पनि पुग्दैन।’
उनी सुरूगाडबाट ल्याएको माछा घरैबाट प्रतिकिलो पाँच सय रुपैयाँमा बेच्छन्। गाउँपालिका कार्यालय भएको ठाउँसम्म पुर्याउन सके ६०० रुपैयाँ किलोमा बिक्री हुन्छ तर पुर्याउनै पाउँदैनन्, घरमै बिक्री भइसक्छ।
सुकाएको माछा घरबाटै प्रतिकिलो साढे तीन हजार रुपैयाँमा बिक्री हुन्छ। माछाबाट उनलाई राम्रो कमाइ हुन्छ।
भन्छन्, ‘सिजनभरिको कमाइ हेर्दा माछाबाट महिनाको कम्तीमा १५ हजार रुपैयाँ हुन्छ। कहिलेकाहीँ त्योभन्दा बढी पनि हुन्छ। पैसा बचत हुँदैन, घरखर्चमै ठिक्क हुन्छ।’
जितबहादुरका तीन छोरा र दुई छोरी छन्। दुई छोराको बिहे भइसकेको छ। एक छोरा पढ्दैछन्।
उनी आरनबाट खलो (अन्न) पाउँछन् तर आम्दानी सन्तोषजनक छैन। भन्छन्, ‘वर्षभरि काम गर्दा एउटा परिवारबाट ३० किलोजति धान आउँछ। कसैले त यसपालि फलेन भनेर दिँदैनन्।’
उनी २५ घरधुरीबाट खलो पाउँछन्। यी घरधुरी उनले आफ्नो भागमा पाएका हुन्।
यस हिसाबले सबै घरबाट पाउँदा उनी वर्षमा साढे सात क्विन्टल अन्न पाउँछन्। यसले करिब चार महिनाको खान्की पुग्छ। आठ महिनामा आफ्नो खेतीको उत्पादन र माछाको आम्दानीले पुर्याउनुपर्छ।
जितबहादुर सुकाएको माछा बेच्न कहिलेकाहीँ डोल्पासम्म पनि पुग्छन्। गाउँमा किलोको साढे तीन हजार रुपैयाँमा बिक्री हुने सुकाएको माछा डोल्पामा १० हजार रुपैयाँसम्ममा बिक्री हुने उनको भनाइ छ।
उनी माछा अलिक धेरै हुँदामात्र डोल्पासम्म जाने हुन्। गाउँकै मान्छेले खोज्ने भएकाले हत्तपत्त टाढा जाने मौका पर्दैन।
उनी भन्छन्, ‘सहरबाट आउने मान्छेले सरुगाडको माछा मिठो हुन्छ भनेर टिपाटिप गर्छन्। गाउँमा पनि त्यसरी नै बिक्छ। माछा धेरै हुँदामात्रै डोल्पासम्म जाने हो।’
यसरी सरूगाडका माछाबाट गुजारा चलाउँदै आएका जितबहादुर केही वर्षयता निकै चिन्तित छन्। उनका अनुसार केही मान्छेले जेनरेटरबाट खोलामा करेन्ट लगाएर माछा मार्ने गरेका छन्। विषादी प्रयोग गर्नेहरू पनि छन्।
यसरी मार्न थालेपछि खोलामा माछा घटेको छ। करेन्ट र विषादीले भुरा माछा पनि मर्न थाले।
जितबहादुर भन्छन्, ‘करेन्ट लगाउनेहरू राति जान्छन्। दिउँसो जानेले विष हाल्छन्।’
यस्तो नराम्रो काम रोक्न नसक्दा माछा मारेर जीविकोपार्जन गर्ने आफ्नो समुदायलाई समस्या परेको उनको भनाइ छ।
उनी भन्छन्, ‘हामी नाचगान गरेर, मादल बजाएर जीविकोपार्जन गर्ने समुदाय हो। अहिले त्यो चलन छैन। रोजीरोटी चलाउन माछा मार्छौं। अरूले करेन्ट चलाउन थाले, हाम्रो पेसा धरापमा पर्यो।’
खोलामा करेन्ट र विषादीले माछा मार्ने प्रवृत्ति रोक्न उनको माग छ।