नेपालको जेठो हिमाल भनिने अन्नपूर्ण प्रथम (८०९१ मि) को पश्चिमी आधार शिविर निरन्तर भासिरहेको छ। जमिन भासिएर बनेको खाल्डो वरिपरि पहिरो झरिरहेका छन्। यसरी झरेका पहिरो आधार शिविरमा रहेका होटल नजिकै आइपुगेका छन्।
पदयात्राका लागि उत्कृष्ट गन्तव्य मानिने अन्नपूर्ण अधार शिविर (एबिसी) मा अहिले ६ वटा होटल छन्। पहिरो जाने र जमिन भासिने क्रम यसरी नै बढे अबका केही दशकपछि एबिसीका होटल रहने छैनन्। निरन्तर जमिन भासिएका ठाउँमा नयाँ होटल बनाउने सम्भावना पनि नरहेको कास्कीको अन्नपूर्ण गाउँपालिका–११ का ४१ वर्षीय वडाध्यक्ष हिमबहादुर गुरूङ बताउँछन्।
एबिसी पदमार्गको छोमरोङ घर भएका हिमबहादुर १०/१२ वर्षको उमेरमा भेडा चराउन एबिसी पुगेका थिए। त्यतिबेला पर्यटक खासै आउँथेनन्। फाट्टफुट्ट हिमाल चढ्न आउने आरोही मात्र देखिन्थे। यस्ता आरोही र केही पदयात्री त्यतिबेला हिमबहादुरको गोठमा बस्थे। गोठालासँगै ढिडो पकाएर खान्थे।
त्यतिबेला एबिसी यसरी भासिएको थिएन। एउटा सानो खोल्सोजस्तो मात्र थियो। अहिले भासिएको ठाउँ पूरा चउर थियो। त्यहीँ आफूले भेडीगोठ राखेर बर्खायाममा भेंडा चराउन गएको याद उनलाई अझै ताजा छ। जुन अनुभव उनले मंगलबार संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसलाई सुनाए।
‘सानो खोल्सो भासिएर अहिले यति ठूलो भयो, अब चउर पनि सकिएको छ,’ उनले भने, ‘यस्तै अवस्था रहिरहे अबका केही वर्षमै होटल पनि पहिरोमा पर्छ।’
अन्नपूर्ण आधार शिविर भासिएको ठाउँमा अहिले गेग्रान मात्र छ। समुन्द्री सतहबाट ४ हजार १ सय ३० मिटर उचाइमा यसरी जमिन भासिएर गेग्रान थुप्रिनुको रहस्य के होला?
काठमाडौं विश्वविद्यालयका प्राध्यापक रिजनभक्त कायस्थले पृथ्वीको तापक्रम बढेको प्रमाणका रूपमा यसलाई ब्याख्या गरे। पुरानो हिमक्षेत्र (परमाफ्रष्ट) भएको ठाउँबाट बरफ पग्लिएर जमिन भासिएको उनले बताए।
‘हिमाली क्षेत्रमा गेग्रान र बरफ जमेर बसेका हुन्छन्, पृथ्वीको तापक्रम बढ्दा बरफ पग्लिएर बग्यो,’ उनले भने, ‘बरफको ठाउँमा गेग्रान मात्र बाँकी रहँदा जमिन भासिन पुग्यो।’
तापक्रम वृद्धि हुँदा हिमाली क्षेत्रमा प्रत्यक्ष असर पारेको उनले बताए।
नेपालको उत्कृष्ट पर्यटकीय गन्तव्यहरू हिमाली क्षेत्रमै भएकाले यसको असर पर्यटनमा प्रत्यक्ष परेको कायस्थले बताए।
अन्नपूर्ण–११ का वडाध्यक्ष हिमबहादुरका अनुसार यस्ता घटनाले भेंडालगायत चौपाया पालनमा समस्या आएको बताए।
‘हिमालका चउरहरू यसरी नै भासिएपछि कहाँ भेंडा चराउने, कहाँ गोठ राख्ने?,’ उनले सेतोपाटीलाई भने, ‘लेकतिर चउर मासिँदै जाँदा गाउँ गाउँमा भेंडापालन गर्ने किसानको संख्या पनि घटिरहेको छ।’
हिमनदी विज्ञ प्राध्यापक कायस्थले पुरानो हिउँ क्षेत्रबाट बरफ पग्लिएर जाँदा पहिरो निम्तिने बताए। यसले हिमाली क्षेत्रका बासिन्दालाई प्रत्यक्ष असर गरेको भन्दै उनले अन्यत्र पनि यसका असर देखिँदै जाने बताए।
‘हिमालमा हिउँ पग्लिएर गयो, हिउँ क्षेत्र घट्यो भन्ने प्रमाण यही हो,’ उनले भने, ‘यसको असर त्यहाँका बासिन्दामा प्रत्यक्ष पर्छ नै, अन्यत्र पनि असर देखिँदै जान्छ।’
पृथ्वीनारायण क्याम्पस भूगर्भ विभागका पूर्व प्रमुख प्राध्यापक कृष्ण केसीले यस्ता घटनाले हिउँ पग्लिने क्रम अत्यधिक बढेको प्रमाण दिएको बताए।
‘हिमालमा बरफ र गेग्रान मिलेर बसेका ठाउँबाट बरफ पग्लिएपछि पानीले जसरी पनि निकास लिन्छ,’ उनले भने, ‘बरफ पग्लिएपछि वरिपरि पहिरो जान्छ, जमिन भासिन्छ, यसका असर अनुमान गर्न सकिँदैन।’
अन्नपूर्ण हिमालसँगै जोडिएको छोमरोङका हिमबहादुरका अनुसार एबिसीमा पहिले चउर भएको ठाउँ भासिँदै जाँदा एउटा ताल पनि बनेको थियो। जुन दश वर्ष अघिसम्म देखिन्थ्यो। अहिले ताल देखिँदैन। ताल फुटेर बगेको उनले बताए।
अन्नपूर्ण प्रथम र अन्नपूर्ण दक्षिणबाट आएका हिमनदी पनि सुक्दै गएको उनको अनुभव छ। अहिले पनि उक्त ठाउँबाट हिउँ पग्लेर पानी बगिरहेको छ। तर पानी सुक्दै गएको हिमबहादुरले बताए।
‘हिमालको जराबाट रसाएको खोला पनि अहिले एकदम सानो छ, ताल पनि सुकिसक्यो’, उनले भने, ‘पहिले बाह्रै महिना हिउँले ढाकिने ठाउँ अहिले चट्टानमात्र देखिन्छ।’
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) स्थापना भएको ठाउँमै यति ठूलो समस्या देखिँदा पनि अहिलेसम्म वैज्ञानिक अनुसन्धान हुन सकेको छैन।
एक्याप प्रमुख रविन कडरियाले संरक्षण र वातावरणमैत्री पूर्वाधार निर्माणमा आफूहरूले काम गरेको बताए।
‘बदलिँदो परिस्थिति अनुसार अब जलवायु परिवर्तनका विषयमा पनि हामीले कार्यक्रम गर्दैर्छौं, तर यो हाम्रो काबुको विषय रहेन,’ उनले भने, ‘अनुकूलनका योजनाहरू मात्र हामीले लागु गरिरहेका छौं, जनचेतना फैलाउने काम पनि गर्दैछौं।’
अन्नपूर्ण आधार शिविरमा पछिल्ला ४० वर्षमा तापक्रम वृद्धि र वर्षामा पनि वृद्धि भएको कडरियाले बताए।
अन्नपूर्ण गाउँपालिका अध्यक्ष विष्णु केसीले जलवायु परिवर्तनका कारण गाउँपालिकाबासीले भोग्नुपरेका समस्या राष्ट्रसंघका महासचिव गुटेरेस जानकारी गराएका थिए। उनले हिउँ पर्ने सिजनमा हिउँ नपर्ने, बाढी, पहिरो, हिमपहिरो जस्ता घटना बढ्दै गएको बताए। जसले हिमाली क्षेत्रका बासिन्दालाई क्षति भइरहेको बताए।
जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रका बासिन्दाले पाएको दु:ख अकल्पनीय रहेको भन्दै उनले बर्सेनि मानिसको जीउधन गुमाउनुपरेको बताए।
‘जलवायु परिवर्तनले गर्दा वर्षैपिच्छे मानिसले ज्यान गुमाएका छन्, सरकारी र व्यक्तिगत सम्पत्तिमा नोक्सान पुगेको छ,’ उनले भने, ‘हिमाल जोगाउन नसक्दा यसको प्रत्यक्ष असर हामीलाई परेको छ।’
अध्यक्ष केसीले जलवायु अनुकूलन र वातावरण संरक्षणका क्षेत्रमा सहयोग गर्न महासचिव गुटेरेसलाई आग्रहसमेत गरेका थिए।
जवाफमा गुटेरेसले नेपालका कारण जलवायु परिवर्तन नभएको बताए। धनी, विकसित र औद्योगिक राष्ट्रका कारण जलवायु परिवर्तनका असर नेपालमा देखिएको भन्दै उनले विश्व समुदायमा यसबारे कुरा राख्ने बताए।
‘जलवायु परिवर्तनले हिमाल र हिमाली क्षेत्रका मानिसमा परेका प्रभाव साँच्चै कठिन छ, म यसबारे विश्वको ध्यानाकर्षण गराउँछु,’ उनले भने, ‘विकसित देशहरूले नेपाललाई क्षतिपूर्ति दिनुपर्छ।’
राष्ट्रसंघका महासचिव गुटेरेस अन्नपूर्ण आधार शिविर पुगेर जलवायु परिवर्तनका असर प्रत्यक्षबारे स्थानीयसँग सरसल्लाह गर्नु नेपालका लागि फाइदाजनक भएको जलवायु परिवर्तन विज्ञ जगदीश पराजुलीले बताए।
संयुक्त राष्ट्र संघीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको सम्मेलन (कोप–२८) आउँदो नोभेम्बर ३० देखि डिसेम्बर १२ सम्म दुबईमा हुँदैछ।
गएको वर्ष इजिप्टमा भएको उक्त सम्मेलनमा पनि नेपालले जलवायु संकटले पुर्याएको नोक्सानीबापत क्षतिपूर्ति दाबी गरेको थियो।
‘नेपालले जलवायुजन्य हानी तथा नोक्सानीबाट क्षतिपूर्ति पाउनुपर्छ भन्ने आवाजलाई राष्ट्रसंघका महासचिवले साथ दिएका छन्, यसले हाम्रो आवाज अन्तर्राष्ट्रिय समुदायमा पुर्याउन टेवा पुग्छ,’ उनले भने, ‘आउँदो नोभेम्बरमा हुने कोप–२८ मा हाम्रो आवाज अझ सशक्त बन्नेछ।’
महासचिव गुटेरेसको साथले नेपालको दाबीलाई बलियो बनाएको र विकसित देशहरूको ध्यानाकर्षण गरेको पराजुलीले बताए।