पाथीभरा दर्शनका लागि आएका भक्तजनलाई बोकेर मन्दिरसम्म पुर्याउनु उनको दैनिकी बनेको छ। उनी कहिले साना केटाकेटी, कहिले वृद्ध त कहिले सामान बोकेर पाथीभरा मन्दिर ओहोरदोहोर गर्छन्। उनी हुन् २८ वर्षीय पेम्बा शेर्पा, जो ३ वर्षदेखि यसरी नै भारी बोक्दै आएका छन्।
ताप्लेजुङको सुकेटारसम्म पक्की सडक भए पनि त्यहाँदेखि तल्लो फेदीसम्म कच्ची सडक छ। पर्यावरणीय कारणले त्यहाँभन्दा माथि सडक सुविधा छैन। मन्दिर दर्शनका लागि आउने भक्तजनहरू कोही ठूलो फेदीमै बास बस्छन् भने कोही सानो फेदीमा।
सामान्यतया पैदल हिँड्दा सानो फेदीबाट ठूलो फेदीसम्म पुग्न २ घण्टा लाग्छ भने ठूलो फेदीबाट मन्दिर पुग्न तीन घण्टा लाग्छ। सानो फेदीबाट ठूलो फेदीसम्म २ किलोमिटर र ठूलो फेदीबाट मन्दिरसम्म साढे दुई किलोमिटर उकालो चढ्नुपर्छ। ठूलो फेदीबाट माथि लागेपछि बस्ने र खाने ठाउँ पाइँदैन। जुन फेदीमा बसेको भए पनि मध्यरातदेखि नै मन्दिर जाने क्रम सुरू हुन्छ।
भक्तजनसँगै भारी बोक्न पेम्बा पनि मध्यरातदेखि नै सक्रिय हुन्छन्। उनले एकैदिनमा तीन पटकसम्म ओहोरदोहोर गरेका छन्। आफूले ९० किलोसम्मको मानिसलाई बोकेर मन्दिर पुर्याएर ल्याएको उनले बताए।
मान्छे बोक्न अनुमति लिनुपर्ने रहेछ। पाथीभरा क्षेत्र विकास समितिले लाइसेन्स दिँदो रहेछ।
पेम्बाजस्तै अरू ६ सय जना छन्। उनीहरूमध्ये ४ सय जना सक्रिय छन्।
जसले हिँड्न नसक्ने भक्तजनलाई मन्दिरसम्म लैजाने अनि मन्दिरबाट फर्काउने गर्छन्। सामान होस् या मान्छे सबै बोक्दा किलोको आधारमा उनीहरूले ज्याला लिन्छन्। सामान्यत: एक किलोको १ सय रुपैयाँ ज्याला लिइन्छ। यद्यपि यो मूल्य सिजन अनुसार फरक हुन्छ। किनकि भारी बोक्नेको माग बढेपछि मूल्य स्वाभाविक बढ्ने नै भयो। तर बच्चा बोक्दा भने उनीहरूले किलोको आधार बनाउँदैनन्। आपसी सहमतिमा मूल्य तोक्ने गरिन्छ। वर्षैभरी मन्दिर दर्शन गर्न आउनेहरू भए पनि असोज, कात्तिक र मंसिर अनि चैत, वैशाख र जेठमा भक्तजन धेरै हुने पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताए।
समुन्द्री सतहदेखि ३ हजार ७ सय मिटरको उचाइमा मन्दिर रहेकाले लेक लाग्ने खतरा रहन्छ। त्यसैले मन्दिर पुगेर भक्तजनहरू धेरै समय बस्दैनन्। यद्यपि मन्दिर पुगेर दर्शन गर्न पाउँदाको आनन्दले अनि त्यहाँबाट देखिने मनोरम दृष्यले भने सबै कुरा बिर्साउँछ।