मोबाइल तथा इमेल इन्टरनेटको प्रयोगले व्यापकता नपाउँदासम्म सूचनाको प्रमुख माध्यम बनेको हुलाक कार्यालयको दैनिकी प्रविधिको विकासपछि भने फेरिएको छ। पहिले चिठीपत्रहरू ओसारपसार गर्ने हुलाकले अहिले भने आफ्नो सेवालाई विस्तार गर्दै लगेको छ।
जिल्ला हुलाक कार्यालय रूपन्देहीका प्रमुख ऋषिकेश रेग्मी पछिल्लो समय व्यक्तिगत रूपमा आदानप्रदान हुने चिठीपत्रहरू हुलाकमार्फत् आउन घटे पनि हुलाकको कार्य क्षेत्र भने बढेको बताउँछन्।
व्यक्तिगत चिठीपत्रहरूको आदानप्रदान हुन छोडेपछि हुलाक कार्यालयमा मानिसहरूको चाप कम भए पनि हुलाकले गर्ने सेवा र काम भने थपिँदै गएको रेग्मीले बताए।
‘सेवाग्राहीको उपस्थिति कम देखिएपछि झट्ट हेर्दा हुलाकको काम पनि घटेजस्तो लाग्न सक्छ तर, व्यक्तिगत र सरकारी पार्सल, सरकारी चिठीपत्रको काम, टिकट बिक्री, पार्सल भुक्तानीसँगै एफएम रेडियो, पत्रपत्रिका नवीकरण, केबुल नवीकरण, पत्रपत्रिका र रेडियो टेलिभिजनको अनुगमन, मूल्यांकन गरी लोक कल्याणकारी विज्ञापनको भुक्तानी लगायतको सेवा समेत पछिल्लो तीन वर्षदेखि हुलाक कार्यालयले गर्दै आएको छ,’ रेग्मीले भने।
चिठीपत्र र पार्सल बोक्ने मात्रै होइन हुलाकले अहिले हुलाक बचत बैंक, लोक सेवा आयोगको दर्खास्त फारम संकलनको काम र संचार माध्यमहरूको काम थपिँदा झनै कामको भार थपिएको उनले बताए।
सरकारले जिल्लाका सरकारी कार्यालयमा सूचना अधिकारी भए/नभएको, उनीहरूले जिम्मेवारी अनुसारको काम गरे/नगरेको र प्रत्येक तीन महिनामा सरकारी कार्यालयले प्रगति प्रतिवेदन तयार पारे/नपारेको अनुगमन गर्ने जिम्मा समेत जिल्ला हुलाक कार्यालयलाई दिएको छ। प्रविधिको विकाससँगै हुलाक कार्यालयले पनि आफ्नो सेवालाई सोही अनुसार रूपान्तरण गर्दै लगेको रेग्मीले बताए।
रेग्मीका अनुसार चिठीपत्र आदानप्रदानको क्रम घटे पनि कार्यालयले संकलन गर्ने राजश्वमा भने कमी आएको छैन। टिकट बिक्रीबाट मात्रै रूपन्देहीमा झण्डै एक करोड ७ लाख रुपैयाँ संकलन भएको छ।
रेग्मीका अनुसार गत आर्थिक वर्ष ०७९/८० मा जिल्ला हुलाक कार्यालयबाट ४५ लाख ६४ हजार र ईलाका हुलाक कार्यालय बुटवलबाट ६१ लाख ३४ हजार गरी १ करोड ६ लाख ९८ हजार रुपैयाँको टिकट बिक्री भएको छ।
यस्ता टिकटहरू मालपोत, नापी, यातायात कार्यालय, प्रशासन लगायतका कार्यालयहरूमा बढी उपयोग हुने गर्दछन्। ईलाका हुलाक कार्यालय बुटवलकी प्रमुख सरिता भट्टराईले हुलाक कार्यालयमा व्यक्तिगत चिठीपत्रको आदानप्रदान घटे पनि टिकट बिक्री भने बढ्दै गएको बताइन्।
‘सन्चो बिसन्चोको जानकारीको रूपमा पठाउने व्यक्तिगत चिठीपत्रको आदानप्रदान मात्रै घटेको हो, सरकारी तथा वैदेशिक पार्सल, कर्जा सूचनाका लागि बैंकले पठाउने पत्रहरू भने पहिलेभन्दा झनै बढेका छन्,’ भट्टराईले भनिन्।
कार्यक्षेत्र थपिँदै गएपछि पहिले घरघरमा चिठीपत्र पुर्याउँदै हिँड्ने हल्काराहरू पनि अहिले अरू काममा व्यस्त हुने गरेका छन्। जिल्ला हुलाक कार्यालयसँगै १५ वटा ईलाका हुलाक कार्यालय र ४९ वटा अतिरिक्त हुलाक कार्यालय रहेको रूपन्देहीमा दुई सय ९० जना कर्मचारी कार्यरत छन्।
जिल्ला हुलाक कार्यालय प्रमुख रेग्मीका अनुसार रूपन्देहीमा ३१ जना स्थायी कर्मचारी, ३५ जना करार र दुई सय २४ जना अस्थायी कर्मचारी कार्यरत छन्।