संयुक्त राष्ट्रसंघका महासचिव एन्टोरियो गुटरेस मंगलबार आउने भएपछि लुम्बिनीमा उनको स्वागतको तयारी गरिएको छ।
मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा महासचिव गुटरेसले बुद्धजन्मस्थल लुम्बिनीको भ्रमण गर्ने कार्यक्रम तय भएको छ।
महासचिवको रूपमा पहिलो पटक आइतबार नेपाल भ्रमणमा आएका गुटरेसले मंगलबार लुम्बिनीको समेत भ्रमण गर्ने भएपछि लुम्बिनीमा सरसफाई र रंगरोगन गरेर चिटिक्क पारिएको छ। लुम्बिनीको चार नम्बर गेटबाट शान्तिदीप जाने बाटो कालोपत्रे गरिएको छ भने लुम्बिनी भित्रका सडक, पुष्पबाटिका लगायत सरसफाइ गरेर चिटिक्क पारिएको छ।
लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले महासचिव गुटरेसको स्वागतको लागि सबै तयारी गरिएको बताए। महासचिवको भ्रमणले बुद्ध र लुम्बिनीको विश्वव्यापी प्रचारको अवसर मिल्ने र आगामी दिनमा लुम्बिनीको विकासमा संयुक्त राष्ट्रसंघको योगदानको खोजी गर्न सकिने उपाध्यक्ष लामाले बताए।
‘लुम्बिनीमा राष्ट्रसंघका महासचिव आउनु नै हाम्रो लागि गौरवको विषय हो, गुटरेसको भ्रमणले विश्वव्यापी रूपमा बुद्ध र लुम्बिनीको प्रचार हुने छ’, उनले भने।
महासचिवलाई बुद्धजन्मस्थलमा भव्यताका साथ स्वागत गर्दै विश्वशान्तिको सन्देश दिन सक्ने गरी तयारी गरिएको उपाध्यक्ष डा.लामाले बताए।
लुम्बिनीको विकासका लागि संयुक्त राष्ट्रसंघको भूमिका निकै महत्वपूर्ण रहेको बताउँदै यो भ्रमणले लुम्बिनीको विकास र सम्वर्द्धनमा थप टेवा पुग्ने विश्वास गरिएको उपाध्यक्ष डा. लामाले बताए।
‘महासचिवको लुम्बिनी भ्रमण लुम्बिनीबासीका लागि मात्र नभई नेपालकै लागि गौरव हो, उहाँले शान्तिभूमि लुम्बिनीबाटै विश्व शान्तिका लागि सन्देश पनि दिनुहुनेछ’, उपाध्यक्ष डा.लामाले भने। लामाका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि महासचिव गुटरेससँगै लुम्बिनी आउने गरी कार्यक्रम तय भएको छ।
महासचिव गुटरेस मंगलबार बिहान ८ः३५ मा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्नेछन्। विमानस्थलदेखि १५ किलोमिटरको दुरीमा रहेको लुम्बिनी भने उनी हेलिकप्टरबाट जाने छन्। गुटरेस बिहान ८ः५० बजे लुम्बिनी पुग्नेछन्।
कोषका सदस्य सचिव सानुराजा शाक्यका अनुसार महासचिव गुटरेसलाई लुम्बिनी विकास कोषका अध्यक्ष एंव संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती, लुम्बिनीका मुख्यमन्त्री डिल्ली चौधरी, उपाध्यक्ष डा. ल्हारक्याल लामा सहित सरकारी उच्चस्तरीय अधिकारीहरूले स्वागत गर्नेछन्।
गुटरेसलाई हेलिप्याडबाट गाडीमार्फत चार नम्बर गेट हुँदै शान्तिदीपमा लगिनेछ। शान्तिदीपदेखि मायादेवी मन्दिरसम्म भने गुटरेस पैदल पुग्ने छन्। कोषका अनुसार गुटरेसलाई लुम्बिनीमा रहेका विहार, बौद्धधर्मका गुरू, भिक्षु भिक्षुणी सहित लुम्बिनी साँस्कृतिक नगरपालिकाका स्थानीय आमा समूह, थारु लगायत विभिन्न जातीय समूह र होटल व्यवसायीहरूले समेत शान्तिदीपदेखि मायादेवी मन्दिरको दुवै तर्फ बसेर स्वागत गर्नेछन्।
महासचिव गुटरेसले लुम्बिनीमा सालको विरुवा रोप्नेछन्। त्यस्तै महासचिव गुटरेसले पत्रकारहरूसँग बुद्धजन्मस्थलबाट विश्व शान्तिको सन्देश दिने बताइएको छ। गुटरेसले मायादेवी मन्दिर, बुद्धजन्म स्मारक, पुष्पकरणी पोखरी, अशोक स्तम्भहरूको निरीक्षण लगायतमा डेढ घन्टा समय बिताउने छन्। त्यसपछि बिहान साढे १० बजे उनि काठमाडौं फर्कने छन्।
गुटरेसको लुम्बिनी भ्रमणको सुरक्षा प्रबन्ध नेपाली सेनाले गरिरहेको विकास कोषले जनाएको छ। रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सुरक्षा समितिको बैठक बसेर आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको बताए।
लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले राष्ट्रसंघका तेस्रो महासचिव ऊ थान्तको पहलमा सुरू भएको लुम्बिनी अन्तर्राष्ट्रिय सहयोग समितिमा संलग्न राष्ट्रहरूको बैठक वा सम्मेलनको आयोजनाका लागि समेत महासचिव गुटरेसलाई पुनःस्मरण गराइने बताए। बृहत्तर लुम्बिनीको विकासमा कोरियाली प्रोफेसर क्वाक योंग हुमले तयार गरेको विश्व शान्ति सहरको परिकल्पनामा आधारित गुरूयोजना समेतलाई ध्यानमा राखेर संयुक्त राष्ट्रसंघको सहयोग र सद्भावका लागि महासचिवको भ्रमण फलदायी हुने उनले बताए।
संयुक्त राष्ट्रसंघका महासचिवको रूपमा लुम्बिनी भ्रमण गर्ने गुटरेस छैटौं महासचिव हुन्। यसअघि सन् १९५५ ड्याग ह्यामसोल्ड महासचिव भएको बेला नेपालले संयुक्त राष्ट्रसंघको सदस्यता प्राप्त गरेको थियो। ड्यागले सन् १९५९ मा लुम्बिनी भ्रमण गरेको कोषले जनाएको छ। यद्यपि महासचिवका रुपमा भने भ्रमण भएको थिएन। तर, पनि उनी सहित गुटरेससम्म आइपुग्दा ६ जना महासचिवले बुद्ध जन्मस्थल लुम्बिनीमा पाइला टेक्नेछन्।
सन् १९५९ मार्चमा ड्याग ह्यामसोल्ड, सन् १९६७ अप्रिलमा ऊ थान्त, सन् १९८१ फेब्रुअरीमा कर्ट वाल्डहिम, सन् १९८९ मार्चमा ह्याभियर पेरिज द कोयर र सन् २००८ नोभेम्बरमा बान की मुनले संयुक्त राष्ट्रसंघको महासचिवको रूपमा लुम्बिनीको भ्रमण गरेका थिए। संयुक्त राष्ट्रसंघका महासचिवका रुपमा ऊ थान्तको लुम्बिनी भ्रमणलाई सबैभन्दा महत्वपूर्ण रूपमा लिइन्छ।
ऊ थान्तले सन् १९६७ अप्रिलमा लुम्बिनी भ्रमण गरेपछि उनकै पहलमा लुम्बिनीको विकासका लागि एउटा अन्तर्राष्ट्रिय समिति गठन भएको थियो। ऊ थान्तले नै लुम्बिनीको विकासका लागि गुरूयोजना बनाएर सोही अनुसार अघि बढ्न नेपाल सरकार समक्ष प्रस्ताव गरेपछि जापनिज वास्तुविद् प्राध्यापक केन्जियो टांगेले लुम्बिनी गुरुयोजना बनाएका थिए।
सन् १९७८ मा बनाएको लुम्बिनी गुरूयोजनाअनुसार यहाँको पूर्वाधार निर्माणको काम सुरू गरिएको थियो। तर सरकारले ४५ वर्षसम्म पनि लुम्बिनी गुरू योजनाको काम पुरा गर्न सकेको छैन।