सामूहिक हत्याको आशंका गरिएको मुगुको घटना अनुसन्धानका लागि कुकुरसहितको प्रहरीको विशेष टोली पुगेको छ।
छायाँनाथ रारा नगरपालिका–५ मुन्दु गाउँमा आमा र तीन जना छोराछोरी मृत भेटिएको घटनाको अनुसन्धानका लागि प्रहरीले विशेष टोली खटाएको हो।
शनिबार बिहान कुकुरसहितको टोली घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ।
प्रहरीले शुक्रबारदेखि सिल गरेको घटनास्थलमा कर्णाली प्रदेश प्रहरी कार्यालयको विशेष अनुसन्धान टोली र कोहलपुरबाट हिँडेको कुकुरसहितको टोली घटनास्थलमा पुगेको मुगुका प्रहरी प्रमुख डिएसपी वीरेन्द्र थापाले जानकारी दिए।
'अनुसन्धान टोली पुगेको छ, अब केही बेरमा मुचुल्का उठाएर शव पोस्टमर्टमका लागि पठाउने काम हुन्छ,' उनले भने।
शुक्रबार बिहान मुन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा, उनका ११ वर्षीय छोरा मनोज, सात jर्षीया छोरी अप्सरा र एक वर्षीय छोरा रहर घरमै मृत भेटिएका थिए।
छायाँनाथ रारा नगरपालिका–६ का वडाध्यक्ष तथा श्रीदेवीका काका नाता पर्ने खेमबहादुर रावलका अनुसार उनीहरूको धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको देखिएको छ।
श्रीदेवीका श्रीमान दीपक बोहोरा वैदेशिक रोजगारीका लागि कतार गएका थिए। घटनाबारे थाहा पाएपछि उनी नेपाल फर्किएका छन्। मुगु भने पुगिसकेका छैनन्।
पढ्नुहोस् सम्बन्धित समाचार-
टीका थापेर माइतीबाट फर्किएकै दिन आमा र तीन सन्तानको रहस्यमय मृत्यु
मुगुमा एकै परिवारका चार जनाको शव फेला परेको छ। छायाँनाथ रारा नगरपालिका–६ मुन्दुका आमा र छोराछोरीको शव भेटिएको हो।
मुगुका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापाका अनुसार मुन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा, उनका ११ वर्षका छोरा मनोज, सात वर्षकी छोरी अप्सरा र एक वर्षका अर्का छोरा रहरको शव भेटिएको हो।
शुक्रबार बिहान साढे ९ बजे प्रहरीलाई शव भेटिएको खबर स्थानीयले गरेका थिए।
मुगुको सदरमुकामदेखि ३ घन्टा दुरीमा रहेको उक्त गाउँ मुन्दुमा जिल्ला प्रहरी कार्यालयबाट टोली गएको छ। मुचुल्का भने भइसकेको छैन।
प्रहरीले अनुसन्धानमा सघाउन नेपालगञ्जबाट कुकुर मगाएको छ। शुक्रबार रातिसम्म कुकुर पुग्नेछ। त्यसपछि मात्र मुचुल्का गर्ने तयारी प्रहरीले गरेको छ।
मुगुका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाका अनुसार उनीहरूको शव आफ्नै घरमा फेला परेको हो।
श्रीदेवी र उनका छोराछोरीको हत्या भएको आशंका गरिएको छ। प्रहरीले मृत्युको कारणबारे भने खुलाएको छैन।
श्रीदेवीका काका नाता पर्ने छायाँनाथ रारा नगरपालिका–६ का वडाध्यक्ष खेमबहादुर रावलका अनुसार सबैको टाउको र घाँटीमा घाउ छन्।
'स्थानीयले शंका लागेर बाहिरबाट लगाएको ताल्चा फोडेर हेर्दा घाउसहित मृत भेटिएको हो,' वडाध्यक्ष रावलले भने, 'भान्सामा आमालाई हानेपछि छोराछोरीलाई सुत्ने कोठामा गएर हतियारले हानेको देखिएको छ।'
श्रीदेवी तीनै जना छोराछोरीलाई लिएर कात्तिक ७ गते दसैंको दिन टीका थाप्न माइती गाउँ कोटिल्ला गएकी थिइन्। उनको गाउँ मुन्दुबाट कोटिल्ला दुई घन्टाको दुरीमा पर्छ। दसै्को दिन माइतीबाट टिका थापेर श्रीदेवी र छोराछोरी कोटिल्लामै बसे। भोलिपल्ट माइती घरको बारीको कोदो टिप्न सघाएर ८ गते बेलुका उनी छोराछोरीसहित नै आफ्नो घर मुन्दु फर्किएकी थिइन्।
'आठ गते बेलुका चार बजे माइती घरबाट हिँडेर ६ बजेतिर घर पुगेकी रहिछन्। घर पुगेको केही समयपछि कसैले आएर हत्या गरेर बाहिरको मूल ढोकामा त्यसै घरको ताल्चा लगाएर गएको रहेछ,' वडाध्यक्ष रावलले भने, 'नौ गते बिहान स्थानीयले पनि अबेर बाहिरबाट ताल्चा लगाएको ख्याल गरेका रहेछन्। तर कतै बारीमा काम गर्न गएका होलान् भनेर वास्ता गरेनछन्। आज पनि बिहान त्यस्तै देखेपछि स्थानीयले नै ढोका फोडेका रहेछन्।'
स्थानीयले ढोका फोडेर घर भित्र चारै जना मृत देखेपछि प्रहरीलाई खबर गरेका हुन्। दिउँसो १२ बजेपछि मात्र प्रहरी घटनास्थल पुगेको उनले जानकारी दिए।
छायाँनाथ रारा नगरपालिकाका मेयर विष्णुकुमार भामले पछि स्थानीयले आफूलाई मृतकको शरीरमा घाउ देखेको बताएको जानकारी दिए।
श्रीदेवीका श्रीमान दीपक वैदेशिक रोजगारीका लागि कतारमा छन्। यसअघि केही वर्ष विदेशमै बसेर गत वर्ष उनी घर आएका थिए। गत वर्ष मंसिरमै उनी कतार गएका थिए।
श्रीमती र छोराछोरीको मृत्युको खबर पाएपछि दीपक कतारबाट फर्किन लागेका छन्। उनको आज रातिको नेपालका लागि टिकट भएको रावलले बताए।
'टिकट भइसक्यो, उडान कति बजे हुन्छ ठ्याक्क थाहा छैन,' उनले भने, 'काठमाडौंबाट फेरि नेपालगञ्ज र त्यहाँबाट मुगु जहाजमा आउने कुरा छ। सायद भोलि बेलुकासम्म पुग्नुहुन्छ होला।'
उनका अनुसार श्रीदेवीका छोरा मनोज गाउँकै बोर्डिङमा कक्षा तीनमा पढ्थे। ७ वर्षकी छोरी अप्सरा सामुदायिक विद्यालयमा दुई कक्षामा पढ्दै थिइन्।