जनकपुरधाम उपमहानगरपालिका-२३ बेलास्थित धान खेतमा मृत फेला परेका युवकको पहिचान खुलेको छ।
बिहीबार बिहान मृत फेला परेका युवक जनकपुरधाम उपमहानगरपालिका-२४ सोनापाराका २३ वर्षीय रूपेश महरा रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाका अनुसार रूपेशको मुख लगायत शरीरका अन्य भागमा रगत लागेको अवस्थामा शव फेला परेको थियो।
रोजगारी सिलसिलामा भारतको मद्रासमा बस्दै आएका रूपेश दसैं मनाउन घटस्थापनाका दिन घर आएका थिए।
'दाइ घरमा भान्जी खेलाएर बस्नुभएको थियो। बुधबार चार बजेतिर उहाँको मोबाइलमा कसैको फोन आयो र उहाँ हिँड्नुभयो। राति उहाँको फोन नलागेपछि कतै साथी वा आफन्तको घर जानुभएको होला भन्ने हामीलाई लागेको थियो। तर हिजो दिउँसो दाइको शव फेला परेको खबर आयो,' रूपेशकी बहिनी मनिषाले भनिन्।
शव र घटनास्थलको प्रकृतिले उनको हत्या भएको देखिएको प्रहरी भनाइ छ। घटनास्थलमा तालिमप्राप्त कुकुरबाट अनुसन्धान गरेपछि शव पोस्टमर्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको डिएसपी अवाले बताए।
मृतकको परिवारले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिइसकेपछि शव पोस्टमर्टम सुरू हुने उनले जानकारी दिए।