दसैंको मुख्य दिन आज मंगलबार मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएसँगै घरबाहिर मान्यजनका टीका र आशीर्वाद थाप्न हिँड्नेहरूको चहलपहल बढ्दो छ।
यसैबीच टीका र जमरा लगाएर पिङ खेल्न झुम्मिनेहरू पनि उत्तिकै हुन्छन्। दसैंमा एकचोटि धर्ती छाड्नुपर्छ भन्ने परम्परागत मान्यताअनुसार सबै उमेरका व्यक्तिहरू पिङ खेल्न झुत्तिने गर्छन्।
गोरखा बारपाकको सुलिकोट जराङ गाउँमा मंगलबार दिउँसो यस्तै दृश्य देखियो। गाउँभरिका मान्छे यहाँ पिङ खेल्न आएका थिए र आफ्नो पालो पर्खिँदै हावासँग बात् मार्दै थिए।
पछिल्लो समय बढ्दो सहरीकरणले पिङ खेल्ने क्रम घट्दो छ। तैपनि गाउँघरतिर अझै पनि दसैं लाग्नुभन्दा अगाडि नै खुला चउरमा पिङ गाड्ने क्रम सुरू हुन्छ। तिहार लाग्ने बेलासम्म गाउँका केटाकेटी र युवायुवती पिङमा चचहुई चचहुई गर्दै केही पललाई भए पनि धर्ती छाड्ने गर्छन्।
शारदीय मौसमको मन्द हावाबीच खेलिने पिङ मनोरञ्जनको साधन मात्र होइन, योसँग हाम्रो सामाजिक र सांस्कृतिक महत्व जोडिएको छ।
पिङ खेल्ने बहानामा गाउँभरिका मान्छे एकठाउँ भेला हुन्छन्, जसले सामाजिक सद्भाव बढाउँछ। अर्कातिर, यसले दसैं बेला धर्ती छाड्नुपर्छ भन्ने परम्परागत मान्यता जीवित राखेको छ।