डोल्पाको ठूलीभेरी नगरपालिका–३ की कविता मल्लको आजभोलि कम्प्युटरमा पढ्ने बानी बसेको छ।
स्कुल सञ्चालन हुँदा उनी तीन दिनमा एक दिन कम्प्युटरमा बसेर पढ्न पाउँछिन्। नजिकैको बालमन्दिर आधारभूत विद्यालयमा कक्षा ५ मा पढिरहेकी उनको स्कुलमा कम्प्युटर छ।
इ–लाइब्रेरी (अनलाइन पुस्तकालय) को कम्प्युटरमै बसेर पढ्न पाएपछि पाठ्य सामग्री बुझ्न उनलाई सजिलो भएको छ।
'सरहरूले पढाएको पनि नबुझिने त होइन, तर कम्प्युटरमा सँगसँगै अभ्यास पनि गर्न पाइन्छ,' उनले भनिन्, 'अझ एकपटक कक्षाकोठामा सरले पढाएको कुरा कम्प्युटर (इ–लाइब्रेरी) मा गएर आफूले फेरि पढ्यो भने नबिर्सिने गरी बुझिन्छ।'
डोल्पाको सदरमुकाम रहेको ठूलीभेरी नगरपालिका–२ दुनैमा रहेको बालमन्दिर आधारभूत विद्यालयले इ–पुस्तकालय सञ्चालन गर्दै आएको छ। विद्यालयमै एउटा कोठाभित्र स्थापना गरिएको इ–पुस्तकालय नियमित सञ्चालनमा छ। विद्यार्थीहरूलाई समूहगत रूपमा पालो मिलाएर उक्त पुस्तकालयमा पढ्न दिइन्छ।
इ–पुस्तकालयले विद्यार्थीहरूलाई आकर्षित मात्र गरेको छैन, उनीहरूको ज्ञान बढाउन समेत निकै मद्दत पुगेको छ। पुस्तकालयमा छिर्न पाएपछि विद्यार्थीहरू रमाउँदै आफ्नो कक्षाको पाठ्यक्रमभित्र भएका विभिन्न सामग्री सहजै पढ्छन्।
'कहिलेकाहीँ पालो आउँछ, लाइब्रेरीमा पुगेपछि जति समय दिए पनि नपुगेजस्तो लाग्छ,' पाँच कक्षामै पढ्ने सुशान्त महताराले भने, 'अडियो सँगसँगै पढ्दा कक्षामा भन्दा पुस्तकालयमा रमाइलो लाग्छ। बुझ्न पनि सजिलो भएको छ।'
कक्षा कोठामा पढ्दा नबुझेको कुरा इ–पुस्तकालयमा दोहोर्याउँदा सहजै बुझ्न सकिने उनले बताए।
'कक्षा कोठामा शिक्षकले पढाउँदा र आफैंले किताबमा पाठ पढ्दा केही कुरा नबुझेको जस्तो लाग्छ। त्यही पाठ कम्प्युटरमा खोलेर पढ्यो भने स्पष्ट हुन्छ,' महताराले भने।
भैरहवामा कक्षा दुईसम्म पढेका राकेश राजभर डोल्पा गएर पढ्न थालेपछि इ–पुस्तकालय प्रयोग गर्न पाएका छन्। उनी अहिले बालमन्दिर आधारभूत विद्यालयमा कक्षा पाँचमा पढ्छन्। घरमा आफैंले पढेको पाठ विद्यालयमा भएको कम्प्युटरमा पुनः पढ्दा बुझ्न सजिलो हुने उनले बताए।
'इ–लाइब्रेरीमा पढ्दा बुझ्न धेरै सजिलो हुन्छ। आफैं पढ्दा दिक्क लागिरहेको पाठ कम्प्युटरमा पढ्दा रमाइलो लाग्छ,' उनले भने, 'इ–लाइब्रेरीमा पढ्न थालेपछि कम्प्युटर चलाउन पनि सिकेका छौं।'
बालमन्दिर आधारभूत विद्यालयमा यो वर्षको वैशाखमा इ–पुस्तकालय स्थापना गरिएको हो। शिक्षा क्षेत्रमा काम गरिरहेका गैरसरकारी संस्था प्लान इन्टरनेसनल, स्याक नेपाल लगायतका विकास साझेदार संस्थाहरूको सहयोगमा पुस्तकालय स्थापना गरिएको प्रधानाध्यापक अम्बिका हमालले बताइन्।
उनका अनुसार दसवटा कम्प्युटर जडान गरिएको छ। स्कुलका १८४ विद्यार्थीमध्ये पुस्तकालयका ती कम्प्युटरमा कक्षा दुईदेखि पाँचसम्मका १०४ जनाले समूहगत रूपमा पढ्न पाउँछन्। एक पटकमा दस जनाको समूह बनाएर पुस्तकालयमा पढ्न पठाउने गरिएको प्रधानाध्यापक हमालले बताइन्।
यी कक्षाका १०४ जना विद्यार्थीलाई पालैपालो समूहमा पठाउँदा तीन दिनमा सबैको पालो आउँछ।
'इसिडी (प्रारम्भिक बालविकास कक्षा) र १ कक्षाका विद्यार्थी सानै भएकाले उनीहरूलाई कम्प्युटरमा पठाउँदैनौं। माथिल्लो कक्षाकालाई भने रोल नम्बरअनुसार दस जनाको समूह बनाएर पढ्न दिने गरेका छौं,' प्रधानाध्यापक हमालले भनिन्।
इ–पुस्तकालयमा भएका सामग्रीको निगरानी शिक्षकसँगै विद्यार्थीले पनि गर्ने गरेका छन्। कम्प्युटरमा बसेर पढ्न सिकेका विद्यार्थीको समूह बनाएर पनि निगरानीको जिम्मा दिइने उनले बताइन्।
कम्प्युटरमा पढ्न पाउँदा विद्यार्थीहरू खुसी देखिएको उनको भनाइ छ।
'कतिपय विद्यार्थी त दिइएको समय सकिएपछि पनि कम्प्युटर छोड्न मान्दैनन्। उनीहरूलाई १० मिनेट थप गरिदिन्छौं,' उनले भनिन्, 'पुस्तकालय भएपछि भाइबहिनीहरू समयमै आउँछन्, मन लगाएर पढ्छन्।'
विद्यार्थीहरूलाई बसेर पढ्न पाठ्यभार अनुसार ४५ मिनेट समय दिइएको हुन्छ।
इ–पुस्तकालय स्थापना भएपछि अपांगता भएका बालबालिकालाई अझ धेरै सहज भएको प्रधानाध्यापक हमालले बताइन्।
बालमन्दिर आधारभूत विद्यालयमा १० जना बहिरा बालबालिका पढ्छन्। इ–पुस्तकालयमा सांकेतिक भाषामा पनि पढ्न पाइने भएकाले उनीहरूलाई पढाउन सहज भएको उनले बताइन्।
कम्प्युटरहरूमा नेपाल सरकारले निर्धारण गरेको पाठ्यक्रम अनुसारका सफ्टवेयर बनाएर राखिएको हुन्छ। अडिओ, भिडिओ, एनिमेसन, सांकेतिक लगायत विधिबाट पढ्न मिल्ने गरी तयार गरिएको पुस्तकालयमा अभ्यासगत रूपमा विद्यार्थीले सिक्न सक्छन्।