सबैजसो घरआँगनमा भित्रिएको दसैं मनाउन व्यस्त भइरहँदा भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस युसिएमएसका विद्यार्थीहरू भने अशन बसिरहेका छन्।
मेडिकल कलेज प्रिन्सिपलको राजीनामा माग गर्दै विद्यार्थीहरूले सुरू गरेको रिले अनसन सोमबार आठौं दिन पनि जारी छ। मेडिकल कलेज प्रशासनले ड्रेस कोड अनिवार्य गरेपछि दुई साताअघि सुरू भएको विद्यार्थीहरूको आन्दोलन पछिल्लो एकसातादेखि भने प्रिन्सिपलको राजीनामा माग गर्दै रिले अनशनसम्म आइपुगेको छ।
एमबिबिएस तेस्रो, चौथो र पाँचौं वर्ष तथा इन्टर्न गर्ने विद्यार्थीहरूका लागि मेडिकल कलेज प्रशासनले गोजीबीनाको पहेंलो सर्ट र कालो पाइन्ट ड्रेस कोड तोकेपछि सुरू भएको विवाद बढ्दै जाँदा अहिले विद्यार्थीहरू प्रिन्सिपल डा.लक्ष्मी पाठकको राजीनामाको माग सम्म पुगेका हुन्।
विवाद बढ्दै गएपछि विद्यार्थीहरूले मेडिकल कलेजमा धर्ना सहितको आन्दोलन सुरू गरेका थिए। सोही क्रममा डा. पाठकले सामाजिक सञ्जालमार्फत् आफूलाई विद्यार्थीहरूले कार्यकक्षमै बन्धक बनाएर राखेको बताएपछि मानव अधिकारकर्मीहरूको दवावमा स्थानीय प्रशासनले हस्तक्षेप गरी बाहिर निकालेको थियो।
स्थानीय प्रशासनले आफूहरूको आन्दोलनलाई कमजोर पार्न धरपकड गरेको र प्रिन्सिपल डा. पाठकले पनि बन्धक बनाएको झूटो अभिव्यक्ति दिएर बदनाम गर्न खोजेको विद्यार्थीहरूले दाबी गरेका छन्। विद्यार्थीहरूले प्रिन्सिपल डा. पाठकलाई आफूहरूले बन्धक नबनाएको र आफ्नै हठले प्रहरी प्रशासनको उपस्थितीमा आफ्नो कार्यकक्षमा बसेको आरोप लगाएका छन्।
विद्यार्थीहरूले मेडिकल कलेजको ओपिडी बलकको ढोकामै आठ दिनदेखि रिले अनशन जारी राखेका छन्।
विद्यार्थीहरूले आफूहरूको आन्दोलनलाई विफल बनाउन स्थानीय प्रशासनले हस्तक्षेप गरेको र सो क्रममा दुव्र्यवहारसमेत गरेको भन्दै थप आन्दोलन गर्नुपरेको बताउँदै आएका छन्।
आफूहरूको आन्दोलनमा एमबिबिएस र बिडिएसका विद्यार्थी मात्र होइन, आंशिक र आवासीय चिकित्सकहरूको समेत साथ रहेको विद्यार्थीहरूको दाबी छ।
तथापि, मिडियामा बोल्न भने विद्यार्थीहरू धक मान्छन्।
‘जसले आन्दोलनको अगुवाइ गर्यो, मिडियामा अगाडि आएर बोल्यो त्यही व्यक्ति सबैभन्दा पहिले मेडिकल कलेज प्रशासनको निशानामा पर्छ, अहिलेको आन्दोलन कुनै एकजनाको मात्र विषय नभएकाले हामी सबैले यसको नेतृत्व गरेका छौं,’ विद्यार्थीहरू भन्छन्।
विद्यार्थीहरूले अहिलेको आन्दोलन ड्रेस कोडका कारण मात्र नभई आफूहरूमाथी भईरहेको श्रम शोषण र परीक्षा दिन गरिएको प्रतिबन्धविरूद्ध भएको बताएका छन्।
‘हाम्रो आन्दोलन ड्रेसको विषयबाट सुरू भएकाले रिले अनसनसम्म आइपुग्दा पनि त्यसैमा अड्किएको भन्ने लाग्न सक्छ तर, अहिलेको आन्दोलन ड्रेसको विषयमात्र नभइ हामीमाथी मेडिकल कलेजले गर्ने श्रम शोषण र विभिन्न नाममा गरिने ज्यादतीकाविरूद्ध समेत हो,’ विद्यार्थीहरू भन्छन्।
सरकारले श्रमिकहरूको न्यूनतम पारिश्रमिक १७ हजार ५ सय तोकेको, तर लाखौं रुपैयाँ खर्च गरेर एमबिबिएस, बिडियस अध्ययन गरेका आंशिक चिकित्सकहरूलाई मेडिकल कलेजले १० हजार रुपैयाँ पारिश्रमिकमा कज्याइरहेको उनीहरूको गुनासो छ।
दसैं पर्वमा घरपरिवारमा रमाइलो भइरहेको बेला रिले अनशनमा बस्नु आफूहरूको रहर नभइ मेडिकल कलेज प्रशासनले निम्त्याइदिएको बाध्यात्मक परिस्थिती रहेको एक छात्राले बताइन्।
‘घरमा सबैजना जम्मा भएर दसैंको रमाइलोमा हुनुहुन्छ, म यहाँ छु,’ उनले भनिन्।
रिले अनशनमा मेडिकल कलेजमा एमबिबिएस र बिडिएस अध्ययन गरिरहेका विद्यार्थी तथा आंशिक चिकित्सक गरी ६ सय बढीले साथ दिएको उनीहरूको दाबी छ। त्यस्तै आवासीय चिकित्सकहरूले समेत विद्यार्थीहरूको आन्दोलनलाई समर्थन जनाएको उनीहरूले बताएका छन्।
उनीहरूले मेडिकल कलेजका प्रिन्सिपल डा. पाठकको राजिनामा नआउँदासम्म रिले अनशन जारी रहने बताएका छन्।
विद्यार्थीहरूले आफूहरू कुनै पनि गुनासो लिएर मेडिकल कलेज प्रशासनमा जाँदा सुनुवाइ हुनुको सट्टा अपमान गर्दै बाहिर निकाल्ने गरेको गुनासो गरे।
‘हामीहरू कुनै पनि गुनासो लिएर प्रशासनमा जाँदा प्रिन्सिपलले गेट आउट भन्दै बाहिर निकाल्ने गर्नुहुन्छ, विद्यार्थीहरूसँग सम्बन्धित विषयमा निर्णय गर्दा आफूहरूको रायसुझाव लिनु त कता हो कता ड्रेस नलगाएको निहुँमा एमबिबिएसको अन्तिम वर्षको कक्षा नै रद्द गरिदिनुभयो,’ एमबिबिएस चौथो वर्षका एक विद्यार्थीले भने।
विद्यार्थीहरूको अभिभावक बन्नुपर्ने प्रिन्सिपलले आफूहरूका कुनै पनि कुरा नसुन्ने र मानसिक यातना दिने गरी धम्क्याउने गरेको उनीहरूको आरोप छ।
‘विद्यार्थीहरूका कुनै पनि समस्या नसुन्ने व्यक्ति प्रिन्सिपल हुन सक्दैन, विगतका वर्षमा पनि उहाँकै कारणले धेरै विद्यार्थीको परीक्षा रोकिएको थियो अहिले पनि उहाँ त्यही हठमा रहेपछि राजीनामा नै विद्यार्थीको लागि उत्तम विकल्प हो,’ विद्यार्थीहरू भन्छन्।
प्रिन्सिपलको राजीनामा नआउँदासम्म आफूहरूको रिले अनसन जारी रहने र दसैंको दिनमासमेत आफूहरू घर नगई आन्दोलनमै रहने विद्यार्थीहरूले बताए।
विद्यार्थीहरू आठ दिनदेखि रिले अनशनमा बसिरहँदा मेडिकल कलेज प्रशासन भने दसैंको बिदामा बन्द गरिएको छ। गत शुक्रबारदेखि नै मेडिकल कलेज प्रशासन बन्द छ।
विद्यार्थीहरूको आन्दोलनको विषयमा मेडिकल कलेज प्रशासनसँग प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन।
मेडिकल कलेज प्रशासनका तेज केसीले सूचना अधिकारी सुशील गुरूङलाई सम्पर्क गर्न भने पनि गुरूङले फोन नउठाएपछि कुरा हुन नसकेको हो।
विद्यार्थी र आंशिक चिकित्सकहरूको आन्दोलनका कारण मेडिकल कलेजमा हुने उपचार सेवा प्रभावित बनेको छ।
विद्यार्थीहरूले मेडिकल कलेजको उपचार सेवामा कुनै अवरोध नगरे पनि आंशिक चिकित्सकहरू उपचार सेवामा सहभागी नभएपछि विरामीहरूको उपचार प्रभावित बनेको छ।
सधैंजसो बिरामीहरूले भरिने मेडिकल कलेजका बेडहरू एकसाता यता भने खाली बनेका छन्। अस्पतालको आकस्मिक र ओपिडीसँगै सबै विभागीय ब्लकहरूमा बिरामीहरूको उपस्थिती शून्य प्रायः छ।