अर्घाखाँचीको अर्घा भगवती मन्दिरबाट हराएको पञ्चमुखी शंकर भगवानको मूर्ति ५१ वर्षपछि प्रतिस्थापन गरिएको छ।
२०३० साल वैशाख २५ गते अर्घा भगवती मन्दिरबाट झण्डै आठ सय वर्ष पुराना बहुमूल्य मूर्तिहरू चोरी भएका थिए।
हराएका मध्ये धातुबाट निर्मित शंकर भगवान (पशुपतीनाथ) को मूर्ति भेटिएपछि नवदुर्गाको साइत पारेर गत शुक्रबार विधिपूर्वक मन्दिरमा प्रतिस्थापन गरिएको हो।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सरोज भुसालका अनुसार मन्दिरबाट चोरी भएको मूर्ति वैदिक विधिपूर्वक प्रतिस्थापन गरिएको बताए।
सन्धिखर्क नगरपालिका वडा नं. ९ स्थित अर्घा डाँडामा बाइसे चौविसे राजाहरूको अर्घा दरबार क्षेत्रभित्र भगवती मन्दिर निर्माण गरी पूजाआजा गर्दै आएका थिए।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भुसालका अनुसार उक्त मूर्ति १३०० वर्षतिर भगवती मन्दिरमा प्रतिस्थापन गरी पूजा गर्न सुरू गरेको इतिहास छ। अध्यक्ष भुसालका अनुसार १२७५ मा भारतको कुमाइ गढवालमा हिन्दु-मुस्लिम लडाइँ सुरू भएपछि हिन्दु धर्मको रक्षार्थ हिन्दु पुरेतहरू त्यहाँबाट अर्घा आएको भन्ने किम्वदन्ती छ।
‘१२७५ मा भारतको गढवालबाट हिन्दु धर्मको रक्षाका लागि हिँडेका हाम्रा पूर्खाहरू १३०० वर्षतिर अर्घामा आएर बसोबास गरेका थिए, त्यतिबेला नै भगवान शंकरको मूर्ति पनि लिएर आएको र अर्घा भगवती मन्दिरमा पूजा सुरू गरेका थिए भनिन्छ,’ उनले भने।
अर्घा राज्यका तत्कालीन राजा जिल्ला राई र रामभक्त भुसालले टाउकोमा बोकेर ल्याइ प्रतिस्थापन गरिएको उक्त मूर्ति मन्दिर फोरेर चोरी भएको थियो।
मन्दिरका मूर्तिहरू चोरिएपछि तत्कालीन अवस्थामै केहि व्यक्तिहरूविरूद्ध मुद्दा दायर गरिएको थियो। मूर्ति फेला परेको भएपनि कोहि व्यक्तिले आफ्नो भएको दावी गरेपछि उक्त मुद्दा अदालतमा पुगेको थियो।
दुई समूहले मूर्ति आफ्नो भएको दावी गरेपछि अदालतले मूर्ति नियन्त्रणमा लिएर छानविन सुरू गरेको थियो। अदालतमा मुद्दा चलिरहेका बेला तत्कालीन नेकपा माओवादीको आक्रमणमा अर्घाखाँचीको जिल्ला सदरमुकाम सन्धिखर्कका अन्य सरकारी कार्यालयसँगै अदालत समेत ध्वस्त भएपछि मूर्ति चोरी मुद्दा कागजात पनि नष्ट भएका थिए।
अदालतमा कागजात जलेर नष्ट भएपछि उक्त मुद्दा पनि अदालतमै अड्किएको थियो। पछि तत्कालीन पुनरावेदन अदालत बुटवलले उक्त मूर्ति अर्घा भगवती मन्दिरबाट चोरिएको मूर्ति नै रहेको भन्दै फैसला गरिदिएको थियो। तर मूर्ति कहाँ छ भन्ने पत्ता नलाग्दा मन्दिरले मूर्ति पाउन सकेको थिएन।
हालैमात्र उच्च अदालत तुलसीपुर बुटवल इजलासका एक कर्मचारीले अर्घाबाट चोरिएको जस्तै चारवटा मुख सहितको शंकर भगवानको मूर्ति अदालतमा बेवारिसे अवस्थामा रहेको बताएपछि बल्ल मूर्ति फेला परेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भुसालले सेतोपाटीलाई बताए।
अध्यक्ष भुसालले मूर्ति फेला परेको तेस्रो दिनमै मन्दिरमा लगि विधिपूर्वक प्रतिस्थापन गरिएपनि उक्त मूर्ति कसले चोरी गरेको थियो भन्ने बताएनन्।
‘मूर्ति चोरी हुँदा म दुई वर्षको मात्रै थिएँ, सानो छँदाको घटना भएकोले मूर्ति कसले चोरी गरेको हो भन्ने मलाई थाहा भएन,’ उनले भने।
मूर्ति चोरी सम्बन्धी मुद्दाका सबै कागजात र मिसिलहरू अदालतमा भएको आक्रमणसँगै नष्ट भएकोले यस विषयमा जानकारी लिन नसकिएको उनले दावी गरे।
अध्यक्ष भुसालले मूर्ति चोरी भएको नै ५० वर्ष पुगिसकेको र पछिल्लो पुस्तालाई त्यसविषयमा जानकारी समेत थिएन। मूर्ति चोरीको विषय हराउँदै गएको अवस्थामा चोरिएको मूर्ति सोही मन्दिरमा लगेर प्रतिस्थापन गर्न पाउँदा खुसी लागेको उनले बताए।
‘पुर्खाले वर्षौं पहिले जुन मन्दिरमा मूर्ति स्थापना गर्नुभएको थियो, अर्घा भगवती माताको शक्तिले आधा शताब्दी पछि पनि सोही मन्दिरमा लगेर मूर्ति प्रतिस्थापन गर्न पाइयो, हामीहरू यसैमा खुसी छौं,’ भुसालले भने।
मूर्ति सकुशल फेला परेपनि तत्कालीन समयमा मूर्ति स्थापना गर्ने दुर्गादत्त, देविदास भुसाल लगायतका व्यक्तिका नामहरू र मिति समेत मूर्तिको बेसमा लेखिएकोमा चोरी गर्ने व्यक्तिहरूले प्रमाण नष्ट गर्न ती नाम र मिति लेखिएको बेस नष्ट गरेको अध्यक्ष भुसालले बताए।
हाल अर्घाखाँचीकै प्रमुख धार्मिक एवं पर्यटकीय स्थलको रूपमा विकास भएको अर्घा धुर्कोटदेखि खाँचीकोटसम्मका राज्यहरुलाई एकीकरण गरेपछि नेपाल एकीकरणमा परेको इतिहास पाइन्छ। मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भुसालका अनुसार अर्घामा राजा वीरकुमार शाहले अन्तिम राज गरेका थिए।
वीरकुमार शाहले मल्लकालीन समयमा निर्माण गरेको दरबार अहिले पनि अर्घामा रहेको छ। ७२ सालको भूकम्पमा केही क्षति भएपछि अहिले त्यसको पूर्नर्निमाणको लागि टेण्डर समेत भइसकेको छ।
सरकारले क वर्गको राष्ट्रिय सम्पदा क्षेत्रको सूचीमा राखेको अर्घा दरबार परिसरमा पछिल्लो सात वर्ष यता सरकारको करिब ९ करोड रुपैयाँमा विभिन्न भौतिक पूर्वाधारहरू निर्माण गरिएको अध्यक्ष भुसालले बताए।
सोही रकमबाट मन्दिर क्षेत्र वरिपरी पर्खाल लगाइएको छ, भने भत्किएका मन्दिर र पौवाहरूको मर्मत सम्भार तथा पुनर्निर्माणको काम भएको छ। अहिले पनि पुरातत्व विभागबाट अनुमति लिएर पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षति भएको अर्घा दरबारलाई पुनर्निर्माण गर्ने कामको प्रक्रिया अगाडि बढाएको भुसालले बताए।
गतवर्ष मात्रै दरबार क्षेत्र परिसरमा विश्वकै सबैभन्दा ठूलो दावी गरिएको दुर्गा भगवतीको सिंह वाहिनी मूर्ति निर्माण गरिएको छ। जुन मूर्तिले अर्घाको धार्मिक महत्व र आकर्षणलाई झनै बढाएको छ।
अर्घा भगवतीको अर्को महत्वपूर्ण पाटो भनेको सात आठ सय वर्ष पहिले जसरी पूजा हुँदै आएको थियो अहिलेपनि त्यहि अनुसार पूजा हुनु हो। मन्दिरका पूजेरी केशवराज आचार्यले त्यहाँ रहने हरेक पूजेरीहरूले पछिल्लो पुस्तालाई पूजाको शैली हस्तान्तरण गर्दै आएको बताए।
वर्षैभरी हरेक दिन साँझ बिहान नियमित पूजा आजा गरिने अर्घा भगवती मन्दिरमा विजयादशमी र चैते दसैंमा भगवतीको विशेष पूजा अर्चना हुने गर्छ। यहाँ नवरात्रको घटस्थापनादेखि हरेक दिन साँझ बिहान देवी दुर्गाको पूजा हुँदै आएको छ।
नवरात्र सुरू भएपछि यहाँ बजाइने बाजाहरूको आवाज सुनेपछि वरिपरीका गाउँहरूमा बल्ल दसैंको सुरूवात भएको मानिन्छ। त्यस्तै बडादसैंको महाअष्टमी र नवमीमा सयौं पशुहरूको बली दिने प्रचलन छ। त्यस्तै कोजाग्रत पूर्णिमामा भव्य रूपमा सराय नाँच प्रदर्शन गरिन्छ। बुढापाकाहरू कोजाग्रत पूर्णिमालाई अर्घाको पूर्णिमा समेत भन्ने गर्छन्। अहिले विभिन्न जिल्लामा सांस्कृतिक उत्सवको रूपमा नाच्ने गरिएको सराय नाँचको सुरूवात अर्घाबाटै भएको थियो भन्ने इतिहास पाइन्छ।