रोजगारीका लागि भारतका विभिन्न ठाउँमा रहेका नेपालीहरू दसैं–तिहार मनाउन घर फर्किन थालेपछि केही दिनयता सीमानाका बेलहियामा घुइँचो बढेको छ। इलाका प्रहरी कार्यालय, बेलहियाका अनुसार भारतमा रहेका नेपालीहरू घर फर्कने क्रम दैनिक बढ्दो छ।
सीमावर्ती भारतीय बजार सुनौलीबाट बिहानैदेखि नेपालीको लर्को लाग्ने गरेको छ। भारतको गोरखपुर र नौतनहवासम्म रेलयात्रा गरेर आएकाहरू सुनौलीबाट बेलहियासम्म रिक्सामा आउँछन्। कोही पैदलै पनि आउँछन्।
भारतका कतिपय ठाउँबाट बुटवल, दाङ, कपिलवस्तु लगायतमा सिधा बस सेवा चल्ने गरेकाले ती बसमा पनि नेपालीहरू भित्रिएका छन्। धेरैजसोले परिवारका लागि लत्ताकपडा र घरायसी सामान ल्याउँछन्। योभन्दा बढी त उनीहरू आफ्नो र परिवारको खुसी बनेर आउँछन्।
यस्तै लस्करमा चितवनको नारायणगढका राजु अधिकारी बेलहियामा भेटिए जो सात वर्षपछि दसैंमा घर आउँदै थिए। उनमा खुसीको सीमा थिएन।
उनले भने, ‘घर आउन मन हुँदाहुँदै समय मिलेन। आउने भनेकै वर्ष कोभिड महामारी फैलियो। त्यसपछि यस वर्षमात्र मौका पर्यो।’
राजुका घरमा ८७ वर्षकी हजुरआमा छिन्। उनको हातबाट टीका लगाउन र आशीर्वाद लिन जागिरबाट छुट्टी मिलाए। राजु भारतको जम्मुकस्मिरमा भारतीय सेनामा कार्यरत छन्।
राजुले भने, ‘जहाँको भए पनि फौजमा काम गर्नेहरूलाई चाडपर्वमा छुट्टी मिलाउन गाह्रो हुन्छ। यसपटक त दसैँमा जसरी पनि जानुपर्छ भनेर छुट्टी मिलाएँ।’
उनलाई हरेक वर्ष घर बिदा मिल्छ तर दसैंको मौका सात वर्षपछि मात्र प¥यो। घरमा वृद्ध हजुरआमासँगै आमा, श्रीमती, छोराछोरीसँग रमाइलो गरी दसैं मनाउने उनको योजना छ।
उनले भने, ‘सात वर्षपछि यसपालि आउन पाएँ। अर्को पटकको दसैं कहिले मनाउन पाइने हो, थाहा छैन।’
रोजगारीका लागि दिल्ली पुगेका गुल्मीको अर्वेनीका रामप्रसाद केसीको परिवार पनि दसैँ मनाउन दुई वर्षपछि यसपटक घर आएको छ। रामप्रसाद, उनकी श्रीमती र छोराछोरी बुटवल बसपार्कमा भेटिए।
रामप्रसादले भने, ‘बुबाआमा र दाजुभाउजु घरमा बाटो हेरेर बस्नुभएको छ। हामीलाई पनि छिटो घर पुग्न पाए हुन्थ्यो भन्ने लागेको छ।’ उनीहरूका छोराछोरी घर पुग्न झन् बढी हतारिएका देखिन्थे।
पर्वतको विहादी गाउँपालिका–१, बाच्छाकी प्रेमकली पनि दसैँका लागि घर फर्किएकी छन्। उनी भारतको हरियाणामा रोजगारी गर्छिन्। उनी छोरी, छोराबुहारी र नातिनीका साथ बसपार्कमा भेटिएकी थिइन्।
प्रेमकलीले भनिन्, ‘अर्काको देशमा सुखदुःख जे भोगे पनि चाडपर्वमा आफ्नै गाउँघरको सम्झना आउँछ। आफ्नो घरमा जतिसुकै दुःख भए पनि चाडपर्वमा घर नै मन पर्छ।’
भारतबाट फर्किनेहरूमात्र होइन, पहाडबाट आएर रुपन्देही र आसपासमा पेसाव्यवसाय तथा रोजगारी गर्नेहरू पनि जन्मथलो फर्किंदैछन्। बुटवल बसपार्कमा बिहानैदेखि यात्रुहरूको भिड लाग्ने गरेको छ।
खासगरी पहाडी जिल्लाहरू पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, प्यूठान जाने गाडीमा यात्रुको चाप ह्वात्तै बढेको छ।
बुटवल बसपार्कस्थित पश्चिम नेपाल बस व्यवसायी प्रालिको टिकट काउन्टरका कर्मचारी रामुबहादुर क्षेत्रीका अनुसार पहाडी जिल्ला जाने यात्रुको संख्या अत्यधिक छ। गाडीमा यात्रुहरू खचाखच छन्।
पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेलका अनुसार यात्रुको चाप बढेपछि लामो दूरीमा बस थपिएको छ। उनी भन्छन्, ‘यात्रुको चापका आधारमा तत्कालै पठाउने गरी गाडी व्यवस्था गरेका छौँ। सकेसम्म यात्रुलाई सहज सेवा दिने प्रयासमा छौँ।’
गत वर्षको तुलनामा यस वर्ष पहाडी जिल्लामा जाने यात्रु संख्या बढी भएकाले अग्रिम टिक काट्ने र यात्रु संख्याका आधारमा बस थप्ने व्यवस्था गरेको उनले बताए।