'तपाईं दुनियाँ, हामी राउटे!'
फोटोग्राफर किशोर शर्मालाई राउटे समुदायका मान्छेले घरिघरि यही भन्थे।
आफ्नै संसारमा रमाइरहेका राउटे समुदायलाई दुनियाँको मतलब थिएन। त्यही भएर नै आफूभन्दा अलग समुदायलाई उनीहरू 'दुनियाँ' भनेर सम्बोधन गर्थे।
राउटेहरूको फोटो खिच्न गएका किशोरलाई भने यो सुनेर एउटा कुरा मनमा आउँथ्यो — दुनियाँका लागि उनीहरू घुमन्ते होलान्, तर बरालिने रहर त सबैमा हुन्छ नि!
उनी यो पनि सोच्थे — राउटेपन त हरेक मान्छेको मनमा हुन्छ सायद!
गत साता राउटेहरूको जनजीवन झल्काउने फोटो किताब सार्वजनिक गरेका किशोरले पहिलोपटक सन् २०११ मा राउटे बस्ती फेला पारेका थिए। त्यो पनि बाक्लो कुहिरोको बीचमा। उनलाई राउटेहरू कुहिरोभित्र आफ्नै संसारमा रमाइरहेको समुदायजस्ता लागे। अनि त्यही समय उनले किताबको नाम सोचे — लिभिङ इन द मिस्ट।
'फोटो सर्कल' ले निकालेको यो किताब किशोरले एक दशकभन्दा लामो समयदेखि राउटेहरूमाथि गरेको खोजको अभिलेख हो।
किताबबारे चर्चा गर्नुअघि उनी कसरी राउटे समुदायसँग नजिक भए भन्नेबारे कुरा गरौं।
सन् २०११ मा फोटो सर्कलले एउटा कार्यशाला सञ्चालन गरेको थियो, जसको उद्देश्य थियो – फोटोमार्फत कथा भन्ने। त्यही कार्यशालामार्फत् किशोरले १४ साता राउटे समुदायमाझ बिताए। उनी सन् २०१४ र २०१७ मा पनि त्यहाँ पुगे।
राउटेहरूको बस्तीमा जानुअघि किशोरले कहिलेकाहीँ टेलिभिजन र वृत्तचित्रहरूमा उनीहरूलाई देखेका थिए। उनले सुनेका थिए – राउटेहरू जंगलमा बस्ने समुदाय हुन्। उनीहरूको कुनै निश्चित बासस्थान हुँदैन। घुमन्ते प्रवृत्तिका हुन्छन्। उनीहरूको भाषा, लवज र पहिरन पनि फरक हुन्छ।
यति मात्र होइन, राउटेहरूको बस्तीमा जाँदै गर्दा गाउँलेहरूले केही भ्रामक कुरा पनि बताएका थिए। भनेका थिए, 'राउटेहरू जादु र टुनामुना गर्छन्। उनीहरू एकोहोरो र रूखो स्वभावका हुन्छन्।'
यी सब कुराले किशोरको मनमा खुल्दुली झनै बढायो।
राउटेहरू कसरी बस्छन् होला? उनीहरूको समाज र संस्कृति कस्तो होला? उनीहरूले बाहिरी मान्छे देख्दा के–कस्ता प्रतिक्रिया जनाउँछन् होला? यस्ता प्रश्न किशोरको दिमागमा घुमिरह्यो।
बिस्तारै राउटेहरूसँग घुलमिल हुँदै जाँदा किशोरले महसुस गरे – उनीहरू बाहिरी मान्छेसँग खासै खुल्दैन रहेछन्। महिलाहरू त झन् बोल्न गए भने पनि डराउने! उनीहरू आफ्नो बासस्थान सरिरहँदा रहेछन्। बाहिरी संसारबाट त्यति विचलित पनि हुँदा रहेनछन्।
यति हुँदाहुँदै राउटेहरूलाई फोटोको ज्ञान रहेछ। यसको कारण के भने, सन् १९६९ मा अमेरिकी शोधकर्ता योहान राइनहार्डले राउटेहरूलाई भेटेर सर्वप्रथम अध्ययन गरेका थिए। उनीहरूको फोटो पनि खिचेका थिए। त्यसको केही समयपछि मानवशास्त्री डोरबहादुर विष्टले पनि राउटेहरूलाई भेटेर फोटो खिचेका थिए। त्यसयता थुप्रैले उनीहरूको फोटो खिचे।
'हामीभन्दा अघि पनि अरूले फोटो खिच्ने गरेकाले उनीहरू क्यामरा देखी तर्सेनन्,' किशोरले भने, 'हामी आउनुको कारण के होला भनेर चाहिँ उनीहरू सचेत थिए।'
किशोरले पहिलोपटक राउटे समुदायलाई सल्यानमा भेटेका थिए। सन् २०१४ मा तेस्रोपटक दैलेखमा भेटे। त्यति बेला उनी डेनमार्कको डेनिस स्कुल अफ मिडिया एन्ड जर्नालिजममा फोटोग्राफी पढ्दै थिए। आफ्नो कलेजको प्रोजेक्टका लागि उनले राउटेको कथालाई नै निरन्तरता दिएका थिए।
उनी एक महिना दैलेखमा बसे र राउटेहरूको फोटो खिच्नुका साथै नजिकका गाउँलेहरूसँग पनि कुराकानी गरे। अरू गाउँलेले त्यो समुदायलाई हेर्ने दृष्टि के–कस्तो छ भन्ने किशोरले बुझे। २०१७ मा उनी अन्तिमपटक राउटेहरूको फोटो खिच्न गएका थिए।
'पहिलोपटक जाँदा उनीहरूको बस्ती खोज्नै हामीलाई मुस्किल भएको थियो। अहिले चाहिँ त्यहाँ नजिकै बस्ने साथीहरूसँग सम्पर्क भएकाले उनीहरूलाई खोज्न त्यति गाह्रो हुन्न,' किशोरले भने।
करिब छ वर्ष राउटे बस्ती ओहोरदोहोर गर्ने क्रममा किशोरले उनीहरूमा केही परिवर्तन महसुस गरेका छन्। विशेषगरी सामुदायिक वनको अवधारणा आएपछि उनीहरूले गर्दै आएको काठको भाँडा बनाउने काम कम भएको छ। काठको भाँडा बनाएर जीविकोपार्जन गर्ने राउटे समुदाय हिजोआज राज्यबाट पाउने भत्तामा मात्र निर्भर भएको किशोरलाई त्यति चित्त बुझेको छैन।
'पहिला उनीहरूले प्रतिव्यक्ति पाँच सय रूपैयाँ पाउँथे। हिजोआज झन्डै पाँच हजार पाउँछन्। कतिले त्यो पैसा दुरूपयोग गरेका छन् भन्ने पनि सुनेको छु,' उनले भने, 'उनीहरूले आफ्नो पहिरन र भाषा भने अझै जोगाएका छन्। अहिले पनि उनीहरूको जीवनयापन अरूभन्दा फरक छ।'
त्यसबाहेक बाहिरी समुदायका मान्छेले उनीहरूलाई आधुनिक बनाउनुपर्छ र एकै ठाउँमा राख्नुपर्छ भन्ने कुरा गरेको पनि किशोरलाई चित्त बुझेको छैन।
घुमन्ते फिरन्ते राउटेहरूको संख्या करिब १४५ छ। बढ्दो आधुनिकीकरणका कारण भविष्यमा उनीहरूको अस्तित्व हराउनसक्छ। तर उनीहरूलाई अहिले नै परिवर्तन गर्नुपर्छ भन्दै बाहिरी तत्वले जबरजस्ती गर्न नहुने उनको भनाइ छ।
'राउटेहरूलाई यसरी राखेर हुन्न। उनीहरूलाई पढाउनुपर्छ, जागिर दिनुपर्छ, समयअनुसार परिवर्तन गराउनुपर्छ भनेर कतिपय मान्छेले भन्नुहुन्छ। तर अरूले भनेजस्तो उनीहरू एकठाउँ अडिग भएर बसिरहने समुदाय नै होइन। उनीहरूलाई पढाउने र जागिर दिनेजस्ता काम गर्नेबित्तिकै त्यो समुदायको अस्तित्व संकटमा पर्छ,' किशोरले भने, 'उनीहरूले समयअनुसार आफैं परिवर्तन हुन चाहे त्यो छुट्टै कुरा हो। तर त्यसलाई बाहिरी तत्वले हस्तक्षेप गरेर परिवर्तन गराउनु हुन्न।'
उनले अगाडि भने, 'राउटेहरू नागरिकता र जग्गा दिन्छु भन्दा त चाहिन्न भनेर भाग्ने खालको समुदाय हो। अहिलेजस्तो भौतिकवादी समाजमा उनीहरू जुन तरिकाले बाँचिरहेका छन्, त्यो निकै रोचक छ। मान्छेहरू त्यसरी पनि बाँच्न सक्ने रहेछन् भनेर देख्दा अचम्म लाग्छ।'
किशोरको किताब 'लिभिङ इन द मिस्ट' राउटेहरूसँगको उठबस र उनीहरूसँगको सामीप्यको अनुभूति समेटिएको व्यक्तिगत डायरी पनि हो। यसमा फोटा मात्र छैनन्, उनले राउटे र नजिकका गाउँलेहरूसँग भएका कुराकानी र निकटता पनि अभिव्यक्त गरेका छन्।
भनिन्छ – एउटा चित्रले हजारौं शब्द बोल्छ।
तर राउटेहरूसँग जोडिएको भावनालाई चित्र/फोटोले मात्र न्याय गर्न सक्दैन भन्ने किशोरले ठाने, सायद। त्यही भएर फोटोमा भन्न नसकेका कथा र अभिव्यक्तिलाई उनले शब्दमार्फत व्यक्त गरेका छन्। गैरआख्यान विषयवस्तुलाई रिपोर्टजस्तो नभई आख्यान शैलीमा लेखेका छन्। यसले फोटोसँगै किशोरको लेखन कलाको दक्षता पनि उजागर गर्छ।
किशोरका फोटाले राउटेहरूको भूगोल, उनीहरू कहाँ र कसरी बसेका छन्, के–कस्ता वेशभूषा लगाएका छन्, उनीहरूको रहनसहन के–कस्तो छ लगायतको दृश्य दिन्छ। किताबमा भएका शब्दले राउटेहरूलाई व्यक्तिगत रूपमा बुझ्न थप मद्दत गर्छ।
उदाहरणका लागि, किताबमा राउटेहरूलाई वर्णन गर्दै किशोरले लेखेका छन्, 'झन्डै १४५ जना बस्ने बस्तीमा खुबै चहलपहल हुन्छ। कोही काठको भाँडा बनाइरहेका, कोही पानी ओसारिरहेका, कोही घाममा पल्टिरहेका। भुरा–भुरी चाहिँ खेल्दै गरेका। अनि एक दिन फेरि निर्णय हुन्छ त्यो ठाउँ छाड्ने। हिजो चहलपहल भएको ठाउँ भोलिपल्ट जाँदा हुँदैन। हुन्छन् त केवल केही कपडाका टुक्रा, फुटेका काठका भाँडा अनि लहरै उभिएका चराका खाली गुँडजस्ता छाप्रा।'
उनी अगाडि लेख्छन्, 'बस्ती सर्दा बस्ती र छाप्रा मात्रै छुट्ने गर्दैनन्। कहिलेकाहीँ त कुनै आफन्तका शरीर र सम्झना पनि छुट्ने गर्छन्। समुदायमा कसैको मृत्यु भयो भने मृत शरीर माटोमा गाडेर राउटेहरू त्यो ठाउँबाट सर्ने गर्छन्।'
यी र यस्ता स–साना विवरण फोटोले भनेर साध्य लाग्दैन। फोटोले भन्न नसकेका कुरा शब्दले र शब्दले भन्न नसकेका कुरा फोटोमार्फत भन्न खोजेजस्तो देखिन्छ।
किताबमा किशोरका फोटा श्यामश्वेत (ब्ल्याक एन्ड ह्वाइट) छन्। श्यामश्वेत उनलाई मनपर्ने शैली पनि हो।
भन्छन्, 'कहिलेकाहीँ रंगले राम्रो काम गर्छ, कहिले ब्ल्याक एन्ड ह्वाइटले। आफ्नो व्यक्तिगत काम गर्दा मलाई रंगमा भन्दा यसैमा रमाइलो लाग्छ।'
'सामाजिक डकुमेन्ट्री' विधाअन्तर्गत रहेर काम गर्ने किशोरले फोटोसँगै भिडिओको पनि काम गर्छन्। पछिल्लो समय उनी पूर्वी नेपालको कोशी टप्पुदेखि कञ्चनजंघा क्षेत्रमा काम गरिरहेका छन्। त्यहाँका थुप्रै मानिसले औपचारिक शिक्षा नपाएका भए पनि उनीहरूसँग रैथाने ज्ञान कति धेरै छ भन्ने कुराले उनलाई मोहित बनाएको छ। त्यही ज्ञानलाई उनी भिडिओमा अभिलेख गर्ने प्रयास गर्दैछन्।
हामीले उनलाई सोध्यौं, 'राउटेहरूबारे पनि भिडिओ बनाउने सोच्नुभएको छ कि?'
उनले भने, 'एउटै काममा मैले यतिका वर्ष समय लगानी गरिसकेँ। हुन त मलाई लामो समय लाग्ने र समाजमा त्यसले लामो समयसम्म छाप छाड्ने काम गर्न मनपर्छ। तर कहिलेकाहीँ एउटै काम कहिलेसम्म गर्ने भन्ने सोच पनि आउने रहेछ। त्यही भएर अहिलेलाई उनीहरूको भिडिओ बनाउनेबारे सोचेको छैन।'
भर्खरै प्रकाशित किताब 'लिभिङ इन द मिस्ट' भने कुनै दिन राउटेहरूसम्म पुर्याउन उनलाई मन छ। तर उनीहरूको प्रतिक्रिया कस्तो होला भन्नेमा असमञ्जस पनि छ।
दुनियाँको मतलब नराख्ने राउटेहरूले किताबको पनि मतलब नराख्दै भन्ने पो हुन् कि, 'तपाईं दुनियाँ, हामी राउटे!'
हुन पनि राउटेहरू यायावर न परे, किताबमा के अल्झिरहन्थे!