भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस (युसिएमएस) का विद्यार्थीहरूले रिले अनसन सुरू गरेका छन्।
मेडिकल कलेज प्रशासनले ड्रेस कोड अनिवार्य गरेपछि पछिल्लो एक सातादेखि त्यहाँका विद्यार्थीहरू आन्दोलित छन्।
आफूहरूको आन्दोलनलाई कमजोर पार्न प्रहरीले हस्तक्षेप गरेको भन्दै विद्यार्थीहरूले सोमबारदेखि मेडिकल कलेजमै रिले अनसन सुरू गरेका हुन्।
विद्यार्थी र मेडिकल कलेजका प्रिन्सिपल प्रोफेसर डा. लक्ष्मी पाठकबीच उत्पन्न विवादलाई समाधानका लागि स्थानीय प्रशासनले छलफल गर्दै आएको थियो।
एमबिबिएस तेस्रो, चौथो र पाँचौं वर्ष तथा इन्टर्न गर्ने विद्यार्थीहरूका लागि मेडिकल कलेज प्रशासनले गोजी बिनाको पहेंलो सर्ट र कालो पाइन्ट ड्रेस कोड तोकेपछि विद्यार्थीहरूले गोजी सहितको अर्कै ड्रेस बनाउनुपर्ने माग गरेका थिए। भैरहवा अत्यन्त गर्मी हुने ठाउँ भएकोले सोही अनुसारको ड्रेस बनाउनुपर्ने र महिलाको लागि सर्ट र पाइन्टको सट्टा कुर्ता सुरूवाल बनाउनुपर्ने भन्दै विद्यार्थीहरूले प्रिन्सिपल डा. पाठकसँग माग राखेका थिए।
तर डा. पाठकले ड्रेस नलगाइ आउने विद्यार्थीलाई कक्षाकोठामा प्रवेश गर्न नदिएपछि आफूहरू आन्दोलित हुनुपरेको विद्यार्थीहरूले बताएका छन्।
आन्दोलनकै क्रममा विद्यार्थीहरूले प्रिन्सिपल डा. पाठकको राजीनामा माग राखेपछि विवाद झनै चर्किएको हो। प्रिन्सिपल डा. पाठकले सामाजिक संजालमार्फत आफूलाई विद्यार्थीहरूले मेडिकल कलेजमा बन्धक बनाएको भन्दै अभिव्यक्ति दिएपछि विद्यार्थीहरू झनै आन्दोलित बनेका थिए।
विद्यार्थीहरूले भने प्रिन्सिपल डा. पाठकलाई आफूहरूले बन्धक नबनाएको बरू पाठक आफै आफूहरूको माग सम्बोधन गर्नुभन्दा मेडिकल कलेजकै कोठाभित्र बसेको दावी गरेका छन्।
डा. पाठकले सामाजिक संजालबाटै आफूलाई विद्यार्थीहरूले बन्धक बनाएको बताएपछि चिकित्सक संघ र मानव-अधिकारकर्मीहरूको समेत प्रशासनलाई दवाव बढेको थियो।
आइतबार स्थानीय प्रशासनले सर्वदलीय-सर्वपक्षीय बैठकपछि हस्तक्षेप गरी डा. पाठकलाई मेडिकल कलेजबाट बाहिर निकालेको थियो।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले मेडिकल कलेजको समस्या समाधानका लागि राखिएको सर्वदलीय-सर्वपक्षीय बैठकले गरेको निर्णय अनुसार प्रिन्सिपल डा. पाठकलाई कार्यकक्षबाट निकालिएको बताए।त्यहाँका विद्यार्थीहरूले भने स्थानीय प्रशासनले आफूहरूमाथि बल प्रयोग गरेको र डा. पाठकको राजीनामा माग गर्दै रिले अनसन सहितको आन्दोलन थालेका हुन्।
विद्यार्थीहरूको आन्दोलनमा मेडिकल कलेजका आंशिक चिकित्सकहरूले समेत साथ दिएका छन्। विद्यार्थी र आंशिक चिकित्सकहरूको आन्दोलनका कारण मेडिकल कलेजमा हुने उपचार सेवा प्रभावित बनेको छ।विद्यार्थीहरूले अहिलेको आन्दोलन ड्रेस कोडका कारण मात्र नभई आफूहरूमाथि भइरहेको श्रम-शोषण र परीक्षा दिन गरिएको प्रतिबन्धविरूद्ध भएको बताएका छन्।
‘सरकारले तल्लो तहको श्रमिकहरूको समेत १७ हजार ५ सय पारिश्रमिक तोकेको छ। तर लाखौं रुपैयाँ खर्च गरेर एमबिबिएस अध्ययन गरेका हामी आंशिक चिकित्सकहरूलाई मेडिकल कलेजले १० हजार रुपैयाँ पारिश्रमिकमा कजाइरहेको छ,’ एक आंशिक चिकित्सकले भने।
मेडिकल कलेज प्रशासनले गरेका गलत क्रियाकलापविरूद्ध आवाज उठाउने विद्यार्थीहरूलाई परीक्षा दिनबाट प्रतिबन्ध लगाउने गरेको बताएका छन्।
मेडिकल कलेजमा एमबिबिएस र बिडिएस अध्ययन गरिरहेका विद्यार्थी तथा आंशिक चिकित्सक गरी ६ सय बढी रिले अनसनमा सहभागी भएका छन्। त्यस्तै आवासीय चिकित्सकले समेत विद्यार्थीहरूको आन्दोलनलाई समर्थन जनाएका छन्।
यस्तै विद्यार्थीहरू र आंशिक चिकित्सकहरूले सोमबार बिहान प्रहरी दमनको विरोध र प्रिन्सिपल डा. पाठकको राजीनामा माग गर्दै विरोध र्याली निकालेका थिए।
प्रमुख जिल्ला अधिकारी अर्यालले कलेज प्रशासनले विद्यार्थीका जायज मागहरू सम्बोधन गर्नुपर्ने, तत्काल पठनपाठन र उपचार सेवा सुरू गर्न कलेज प्रशासनलाई आग्रह गरेका थिए।
मेडिकल कलेज प्रशासनले भने विद्यार्थीहरूको माग अनुसार ड्रेस कोडको निर्णय फिर्ता गरिएको भएपनि विद्यार्थीहरूले डा. पाठकको राजीनामा माग राखेपछि सहमती जुट्न नसकेको बताए।
‘दुई-तीन दिन अगाडिदेखि नै विद्यार्थी र स्थानीय प्रशासनसँग बसेर गरिएको छलफलमा कलेज प्रशासनले अहिलेलाई ड्रेस कोडको निर्णयलाई अगाडि नबढाउने र आन्दोलन गरेको भनेर विद्यार्थीहरूमा कुनैपनि दबाब सिर्जना नगर्ने तथा विद्यार्थीहरूले पनि आन्दोलन फिर्ता लिने सहमती भएको थियो,’ मेडिकल कलेजका सूचना अधिकारी सुशिल गुरुङले भने।
गुरुङले राजीनामा दिने वा नदिने भन्ने विषय सम्बन्धित व्यक्ति र मेडिकल कलेज प्रशासनको मात्र रहेको बताए।