रूपन्देहीमा दसैंका लागि शक्तिकी देवी मानिने दुर्गा भवानीका मूर्ति बनाउन कालिगढहरूलाई भ्याइनभ्याइ छ।
दसैंको घटस्थापनाका दिन बाघमा सवार दुर्गा भवानीको मूर्ति स्थापना गरी नवरात्रभर पूजाअर्चना हुने गर्छ। दुर्गाका वरिपरि गणेश, लक्ष्मी, कात्र्तिकेय, दुर्गाले बध गरेका राक्षस लगायतका मूर्ति हुन्छन्। स्थायीरूपमा स्थापित दुर्गा मन्दिरमा त पूजाआराधना हुने नै भयो। यसबाहेक अस्थायी मूर्ति स्थापना परेर पनि नवरात्रभर बजार र गाउँघरका चोकहरूमा नवरात्रभर दुर्गा भवानीको पूजाआराधना हुन्छ।
घटस्थापाका दिन स्थापित यस्ता अस्थायी मूर्ति पूजा विसर्जनपछि कोजाग्रत पूर्णिका दिन नदी–तलाउमा विसर्जन गर्ने चलन छ। करिब दुईसाताका लागि स्थापना गरिने अस्थायी दुर्गा मन्दिरहरूमा स्थापना गरिने मूर्ति माटोबाट बनाइएका हुन्छन्।
कालिगढहरू यस्ता मूर्ति बनाउन व्यस्त रहन्छन्।
रुपन्देहीको रोहिणीका चिन्कु केवटले बडादसैंकै लागि झन्डै दुई महिना मूर्ति बनाए। उनको घर भारतसँगको सीमानजिकै छ। उनले अरू केही कालिगढसँग मिलेर भैरहवा–परासी सडक किनारमा मूर्ति बनाए। नवदुर्गामा दुर्गाभगवती, सरस्वती, लक्ष्मी, कुमार र गणेशसँगै उनीहरूका बहान गरी १० प्रकारका मूर्ति स्थापना गरिन्छन्।
चिन्कुले यस वर्षको दसैंमा आठ सेट दुर्गामूर्ति बनाए।
उनले भने, ‘पाँच सेटको अर्डर आएपछि बनाउन थालेको हुँ। काम थालेपछि अर्डर पनि थपियो।’
चिन्कुका अनुसार १० वटाको एक सेट मूर्ति तयार गर्न एक हप्ता लाग्छ। एक सेट मूर्ति साढे एक लाखदेखि दुईलाख रुपैयाँसम्ममा बिक्री हुन्छ। उनले यसैअनुसार अर्डर लिएका हुन्छन्।
पूरा सेटबाहेक खास किसिमको मूर्तिको पनि अर्डर आउँछ। त्यसको पनि मूल्य निर्धारण गरेर अर्डर लिएका हुन्छन्। चिन्कु भन्छन्, ‘मूर्तिको साइजअनुसार एउटाको १५ हजारदेखि ३५ हजार रुपैयाँसम्म मूल्य हुन्छ।’
उनी वर्षभरि सिमेन्ट र माटोका घोडा, हात्ती, मयुर, डाँफे लगायत मूर्ति बनाउँछन्। यो पनि प्रायः अर्डरअनुसार नै हुन्छ।
दसैँ अघिको दुई महिना भने दुर्गा भवानी र उनीसँग सम्बन्धित मूर्ति बनाउन खट्छन्। तिहारका लागि पनि लक्ष्मीको मूर्तिको अर्डर हुन्छ।
चिन्कुका लागि दसैँ राम्रो आम्दानी गर्ने अवसर हो। उनले दसैँका लागि मूर्ति बनाएको १५ वर्षभन्दा बढी भयो। भन्छन्, ‘दसैँमा मूर्तिको व्यापार राम्रो हुन्छ। आम्दानी पनि राम्रो हुन्छ।’
यस वर्ष असोज दोस्रो सातासम्म वर्षा भइरहेकाले मूर्ति सुकाउन समस्या भयो। यसकारणले पनि आफूले सोचेजति संख्यामा बनाउन नसकेको उनले बताए। उनले भने, ‘अहिलेको दसैँका लागि सानाठूला गरी ७० वटा भन्दा बढी मूर्ति बने होला।’
यस्ता अस्थायी मूर्ति बनाउन सबैभन्दा ठूलो समस्या माटोको छ। मूर्तिका लागि उपयुक्त माटो जतासुकै पाइँदैन। धेरै खोजी गर्नुपर्छ। उनी भन्छन्, ‘आम्दानी राम्रो हुन्छ तर मूर्ति बनाउन लेसाइलो माटो पाउन मुश्किल छ। एकैपटक धेरै माटो चाहिने भएकाले झन् गाह्रो पर्छ।’
माटोसँगै खर, डोरी, बाँस, सनपाट, पराल, भुस, काठको धुलो र कपडा पनि चाहिन्छ। मूर्ति समयमा तयार गर्न घाम पनि लाग्नुपर्छ।
लेसाइलो माटोमा काठ र परालको भुस मिसाएर मुछिन्छ र कम्तीमा २४ घण्टा त्यतिकै राखिन्छ। माटो नरम भएपछि मूर्ति बनाएर घाममा सुकाइन्छ। राम्ररी सुकेको मूर्तिमा सुहाउँदो रङ लगाएर आकर्षक बनाइन्छ।
चिन्कुका अनुसार मूर्ति बिक्री गर्दा एकमुष्ट ठूलो रकम बुझेजस्तो देखिए पनि कच्चा पदार्थ जुटाउँन लाग्ने खर्च र तीन–चार जना कालिगढ खटेर मिहिनेत गरेको आधारमा हेर्दा मूल्य धेरै होइन। सस्तो नै हो।
केही वर्षअघिसम्म दसैंतिहारमा तराई क्षेत्रमा धेरै प्रयोग हुने अस्थायी मूर्ति भारतीय बजारबाट आयात हुने गरेको थियो। हाल नेपाली कालिगढहरूले नै बनाउन थालेका छन्।
चिन्कुको टिममा भारतको सुनौलीका रामनरेश साहनी पनि छन्। उनी मूर्ति बनाउनकै लागि नेपाल आएका हुन्।
भन्छन्, ‘दसैंका मूर्ति बनाउने काम अस्थायी हो। यो मौकामा नेपाल आउँछु र मूर्ति बनाउने काम सकेपछि भारत फर्किन्छु। दसैंमा राम्रै आम्दानी हुन्छ।’
चिन्कुका अनुसार दसैंका बेला अस्थायी मूर्तिको माग राम्रो हुन्छ तर सिपालु कालिगढको अभव छ। कालिगढ नपाएर पनि उनी अर्डर अनुसार मूर्ति बनाउन भ्याउँदैनन्।
भन्छन्, ‘नेपालमा राम्रो सिप भएका कालिगढहरू पाउनै मुस्किल छ। चाडपर्वको समयमा मात्र माग हुने भएकाले मूर्ति बनाउन पनि धेरैले सिक्न खोज्दैनन्। सिक्न चाहनेलाई मैले पनि सिकाउने गरेको छु।’
दसैंमा माग हुने दुर्गा भवानी र उनीसँग सम्बन्धित मूर्ति दसैंकै ठिकअगाडि बनाउने चलन छ।