सर्पले डसेर कपिलवस्तुको बाणगंगामा एकै घरका दुई दिदीबहिनीको मृत्यु भएको छ।
बाणगंगा नगरपालिका-९ भलवाड जिनुवाका मोतिलाल क्षेत्रीका दुई छोरी ८ वर्षीया इशिका क्षेत्री र ३ वर्षीया रितिका क्षेत्रीको सर्पले डसेर मृत्यु भएको हो।
वडाअध्यक्ष कमल पौडेलका अनुसार बालिकाहरु मंगलबार राती १० बजेसम्म फिल्म हेरेर बसिरहेका थिए। १० बजेपछि आमाले कोठामा फिनाईल छर्किएर खाटमा झुल लगाएर छोरीहरुलाई सुताएकी थिइन्।
एउटा खाटमा रितिका र इशिका सुतेका थिए। १० बजे सकुशल हास्दै रमाउँदै सुतेकी रितिका राती १ बजे पेट दुख्यो भन्दै छटपटिन थालेपछि सँगै सुतेकी इशिका पनि बिउँझिएकी थिइन्।
बहिनी छटपटिएपछि उठेर हेर्दा ओछ्यानमा सर्प देखेरे इशिकाले चिच्चाउँदै परिवारका सदस्यलाई उठाएकी थिइन्। उनका हजुरबुवा दुर्गाबहादुर क्षेत्रीले विस्तारमा गुजुल्टिएर बसेको करेत सर्पलाई राती नै मारेका थिए।
त्यतिन्जेलसम्म रितिका अचेत भइसकेकी थिइन्। उनलाई राति नै उपचारका लागि कपिलवस्तुको गोरुसिंगे स्थित सर्पदंश उपचार केन्द्रमा उपचारको लागि लगिएको थियो।
उनलाई आइसियुमा राखेर उपचार गर्नुपर्ने भएकाले केन्द्रले राति नै लुम्बिनी प्रादेशिक अस्पताल रेफर गरेको केन्द्रका व्यवस्थापक नवीन भण्डारीले जानकारी दिए।
रितिकासँगै इशिकालाई पनि सर्पदंश उपचार केन्द्रमा लगिएको थियो। उनी ३ बजेतिर पेट दुख्यो भन्दै छटपटाउन थालेकी थिइन्।
वडा अध्यक्ष पौडेलले करेत सर्पको विष ढिलो गरि चढ्ने भएकोले इशिकालाई बहिनीलाई भन्दा केहि ढिलो विष चढेको बताए।
दुबै दिदिबहिनीलाई मंगलबार राती चार बजेतिर लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको लागि ल्याएपनि रितिकाको वुधबार बिहान र इशिकाको बुधवार साँझ मृत्यु भएको अस्पतालले जनाएको छ।
लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. नेत्र बहादुर रानाले दुबै दिदिबहिनीलाई गम्भिर अवस्थामा अस्पतालमा ल्याएकोमा उपचारको क्रममा मृत्यु भएको जानकारी दिए।
वडा अध्यक्ष पौडेलले बालिकाहरुलाई खाटमा झुल टांगेर र कोठामा फिनाईल छर्किएर सुताएको भएपनि पहिले नै बिस्तारमा सर्प गएर बसेको कारण टोकेको हुन सक्ने बताए।
‘नानीहरु सुतेका बिछ्यौना दिउसो घाममा सुकाएका रहेछन्, अलि अलि च्यातिएको अवस्थाका बिछ्यौना सुकाएको बेलामा नै सर्प गएर बसेको हुनसक्छ,’ वडाअध्यक्ष पौडेलले भने। पौडेलले रितिकाको हातमा र इशिकाको कानमा सर्पले डसेको डाम भेटिएको बताए।
यसअघि गत असार २५ गते कपिलवस्तुकै बुद्धभुमी १ कपासिका दुई दाजुभाइ ११ बर्षीय दीपक र ९ बर्षीय प्रदीप भुसालको पनि राती सुतेको समयमा सर्पले टोकेर मृत्यु भएको थियो।