पाल्पामा बाँदरको आक्रमणबाट तीन वटा बाख्रा मरेका छन्। तानसेन नगरपालिका वडा नं. ९ दमकडामा खरबारीमा चराउन लगिएका बाख्रालाई बाँदरले आक्रमण गरेको थियो। आक्रमणबाट दुई वटा बाख्रा घाइते भएका छन्।
वडा नंं ९ दमकडा गोठुवामा गोविन्द खराल र भगवती खरालले भगवती बाख्रा फार्म संचालन गर्दै आएका थिए। सोही फार्ममा रहेका बाख्रालाई सोमबार दिउँसो चराउन भन्दै नजिकैको खरबारीमा लगेको समयमा ठूलो बथानसहित आएका बाँदरले आक्रमण गरेका थिए।
बाँदरको आक्रमणबाट तीन वटा माउ बाख्रा मरेका छन् भने दुइटा घाइते भएको गोविन्द खरालले बताए।
बाँदरको बथानले २५ वटा बाख्राको समूहमा एक्कासि पसेर आक्रमण गरेको खरालले बताए।
‘एक सयभन्दा बढी संख्यामा आएका बाँदरले खरबारीमा चरिरहेका बाख्रालाई एक्कासि आक्रमण गरेका थिए, आक्रमणबाट तीन वटा माउ बाख्रा मरेका छन्,’ खरालले भने।
पछिल्लो समय गाउँघरमा मान्छेका बस्तीहरू रित्तिदै जाँदा बाँदरका बथान भने बढ्दै गएका छन्। ठूलो संख्यामा आउने बाँदरको बथानले पशुपंक्षीलाई मात्र होइन मानिसलाई समेत जिस्काउने र आक्रमणको प्रयास गर्न थालेका छन्।
तानसेन वडा नं. ९ का वडा अध्यक्ष राजेश कुमार अर्यालले बाँदरको बिगबिगी बढ्दै गएपछि जंगल क्षेत्रमा मानिसहरू एक्लै हिँड्डुल गर्न समेत समस्या हुने गरेको बताए।
‘पुरूषसँग केही डराउने गरे पनि महिलाहरू एक्लै छन् भने बाटोमा हिँड्दा पनि बाँदरले जिस्काउने गर्छन्,’ वडा अध्यक्ष अर्यालले भने।
यसअघि खेतबारीमा लगाएको र घरभित्रै पसेर समेत अन्न खाएर हैरान पार्ने गरे पनि मर्ने गरी नै पशुलाई आक्रमण गरेको भने यो पहिलो घटना भएको अर्यालले बताए। ग्रामीण क्षेत्रमा मानिसहरूको बसोबास घट्दै जाँदा खेतबारी समेत बाँझिएर जंगल बढ्दै गएका छन्।
एकातर्फ जंगल बढेर बाँदरको संख्या समेत बढ्दै गएको छ भने अर्कोतर्फ खेतबारीमा खेती लगाउन छोडेपछि घरभित्रै समेत पसेर बाँदरले अन्न खाने गरेका छन्। बाँदरको समस्याले ग्रामीण क्षेत्रका बासिन्दा आजित बनिरहे पनि नियन्त्रणको लागि ठोस योजना बन्न नसकेको वडा अध्यक्ष अर्यालले बताए।
‘नियन्त्रण गर्ने भनेको कि धपाएर हो भने कि त मारेर हो। नेपालको कानुन अनुसार अहिलेसम्म बाँदरलाई मार्न पाइँदैन धपाउन खोज्यो एउटा बथानलाई धपाएर नफर्किंदै फेरि अर्को बथान आइसकेको हुन्छ,’ वडा अध्यक्ष अर्यालले भने।
एउटै जंगलमा ठूलो संख्यामा धेरै बथान बाँदर बढ्दै जाँदा किसानहरू हैरान बनेको उनले बताए।
जंगल क्षेत्र र खेतबारीमा समेत उनीहरूको लागि आवश्यक आहार नभेटिँदा आक्रामक हुँदै गएको अर्यालले बताए।