भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग र पर्खाल भित्रको जग्गा आफ्नो नाममा बनाएर मुआब्जा माग गरेका पर्वतराज मिश्रले मुआब्जा नपाउने भएका छन्। विमानस्थल सुदृढीकरण आयोजना कार्यान्वयन इकाइले मुआब्जा नदिने निर्णय गरेको हो।
सोमबार जिल्ला प्रशासन कार्यालय रूपन्देहीमा बसेको जिल्ला मुआब्जा निर्धारण समितिको बैठकले यस्तो निर्णय गरेको हो।
व्यक्तिको नाममा दर्ता गरेर मुआब्जा माग गरे पनि उक्त जग्गाबारे प्रश्न उठेपछि मुआब्जाबापत रकम उपलब्ध नगराउने निर्णय गरेको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी एवं मुआब्जा निर्धारण समितिका संयोजक गणेश अर्यालले बताए।
'मालपोतको निर्णय विवादरहित नदेखिएको र पछि विवाद निरूपण भएपश्चात कानूनअनुसार नै हुने हुँदा हाललाई पर्वतराजकान्त मिश्रको माग अनुरूपको मुआब्जा उपलब्ध गराउन नसकिने निर्णय भएको छ,' उनले भने।
भूमाफिया र मालपोत कार्यालयका अधिकृतहरूकै मिलेमतोमा विमानस्थलभित्रको करिब ५ विघा जमिन गत वैशाखमा सिद्धार्थनगर नगरपालिका- ५ का मिश्रले आफ्नो नाममा दर्ता गरेका थिए।
मिश्रले फिल्डबुकमा भए पनि हदबन्दीका कारण व्यक्तिका नाममा नरहेको ४ बिघा १७ कट्ठा ६ धुर जमिन गत वैशाख ८ गते आफ्नो नाममा दर्ता गराएको पाइएको थियो।
पर्वतराज हालै उक्त जमिनको मुआब्जा माग गर्दै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुदृढीकरण आयोजना कार्यान्वयन इकाइ कार्यालयमा पुगेका थिए। यसपछि मात्र विमानस्थलको जमिन व्यक्तिको नाममा दर्ता भएको थाहा भएको हो।
सातवटा कित्तामा रहेको ४ बिघा १७ कट्ठा ६ धुर जमिन आफ्नो नाममा दर्ता गराएपछि पर्वतराज जग्गाको मुआब्जाको लागि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुदृढीकरण आयोजना कार्यान्वयन इकाइ कार्यालयमा पुगेका थिए।
पर्वतराजको नाममा दर्ता भएको जमिन विमानस्थलको धावनमार्गमा र पर्खालभित्र पर्छ।
सिद्धार्थनगर नगरपालिका–१० निवासी सुर्जा मिश्राइनको ३० बिघा १४ कट्ठा १४ धुर जमिन थियो। भूमिसम्बन्धी ऐन २०२१ अनुसार ११ बिघाभन्दा बढी जमिनमा हदबन्दी लाग्ने भएपछि सबै जमिन सुर्जाको नाममा दर्ता हुन सकेन।
सुर्जा निःसन्तान थिइन्। उनले हदबन्दीमाथिको जमिन मालपोत कार्यालयमा फाँटवारी भरेर काली मन्दिरको नाममा दिने भइन्।
२०२५ साल माघ १८ गते सुर्जाको मृत्यु भएपछि अपुतालीको विवाद भयो। विभिन्न व्यक्तिले अपुताली दाबी गर्दै अदालतमा मुद्दा दर्ता गराएका थिए।
जिल्ला अदालत हुँदै सर्वोच्च अदालतसम्म पुगेको उक्त मुद्दाको फैसलापछि २०६४ सालमा मालपोत कार्यालय, रूपन्देहीले सुर्जाका देवर नाता पर्ने रमाकान्त मिश्रको नाममा जमिन दर्ता गर्ने निर्णय गरिदियो।
रमाकान्तको नाममा गर्दा गर्ने निर्णय गर्दा साविक भुजौली नक्सा सिट नम्बर ९(ख) का कित्ता नम्बर ७,२ ९, ३२, ६७, ६८, ९२, ९४ को ४ बिघा १७ कट्ठा ६ धुर जमिन काली मन्दिरलाई छोड्ने निर्णय भएको पाइएको छ।
मालपोत कार्यालयले रमाकान्तको नाममा जग्गा दर्ता गरिदिने निर्णय गरे पनि दर्ता नहुँदै २०६४ साल मंसिर २२ गते उनको मृत्यु भयो।
रमाकान्तको मृत्युपछि नजिकका हकदार उनका नाति पर्वतराज कान्त मिश्रले काली मन्दिरका लागि छोडिएको जमिनबाहेक भुजौली ९(क) र (ख) का २४ वटा कित्ताका हदबन्दी लाग्ने पर्ने १० बिघा ६ कट्ठा १९ धुर जमिन आफ्नो नाममा दर्ता गराए।
पर्वतराजको नाममा दर्ता गरिएको र काली मन्दिरलाई छुट्याइएको जमिन बाहेक १३ बिघा १३ कट्ठा ८ धुर जग्गामा मोही कायम भएको थियो। पर्वतराजले विभिन्न मितिमा आफ्नो नामको जमिने बेचे। बाँकी रहेको १ बिघा १ कट्ठा जमिन पनि विमानस्थल बन्दा अधिग्रहणमा परेपछि उनले मुआब्जा लिएका थिए।
हदबन्दी लागेको भनेर मन्दिरलाई छोडिएको जमिन समेत हाल मिश्रको नाममा दर्ता भएको पाइएको हो। सिद्धार्थनगर नगरपालिका–५ का बासिन्दा पर्वतराज भारतको गोरखपुरमा बस्छन्।
मालपोत कार्यालयले भने उक्त जमिन हदबन्दी नलाग्ने र जिल्ला अदालत गराएको मिलापत्रका आधारमा पर्वतराजको नाममा दर्ता गरिदिएको जनाएको छ।
मालपोत कार्यालय, रूपन्देहीका प्रमुख मालपोत अधिकृत कुमार आचार्य रहेका छन्। कार्यालयका मुद्दा शाखा प्रमुख अजितकुमार साहनी रहेका छन्। आचार्यकै निर्णयले पर्वतराजको नाममा उक्त जमिन दर्ता भएको हो।
'जिल्ला अदालतको मिलापत्रका आधारमा हामीले जग्गा दर्ता गरिदिएको हो,' आचार्यले सेतोपाटीसँग भने।
२०७९ सालसम्म फिल्डबुकमा कसैको नाममा नरहेको र मुआब्जाका लागि समेत कसैले दाबी नगरेको उक्त जमिन एकाएक पर्वतराजले आफ्नो भनेपछि विमानस्थल आयोजनाका अधिकारीहरू आश्चर्यमा परेका छन्।
पर्वतराजले मुआब्जा दाबी गर्दै निवेदन दिएपछि विमानस्थल आयोजना कार्यालयले सम्बद्ध निकायहरूमा पत्राचार गरेको छ। आयोजनाले नेपाल नागरिक उड्डयन प्राधिकरण, जिल्ला प्रशासन कार्यालय र सम्बद्ध अन्य निकायहरूमा पर्वतराजलाई मुआब्जा नदिने जानकारी गराएको छ।
विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीका अनुसार पर्वतराजले आफ्नो भनेर दाबी गरेको जमिन पहिले नै कित्ताकाट भएर नेपाल नागरिक उड्डयन प्राधिकरणको नाममा आइसकेको छ।
मालपोत कार्यालय, रूपन्देहीले कित्ताकाट गरी नेपाल नागरिक उड्डयन प्राधिकरणको नाममा गरिदिएको जमिन साविककै कित्ता नम्बर राखेर सोही कार्यालयले पर्वतराजको नाममा दर्ता गरिदिएको पनि अधिकारीले बताए।
विमानस्थलभित्रको जमिन व्यक्तिको नाममा दर्ता गरिदिने निर्णयविरूद्ध कानूनी प्रक्रियामा जाने पनि उनले बताए।
‘आयोजनाबाट नेपाल नागरिक उड्डयन प्राधिकरणमा जानकारी गराइसकिएको छ। कानूनी प्रक्रियाका लागि पनि पहल भएको छ,’ उनले भने।
पर्वतराजलाई मुआब्जा दिनुपर्ने भएर उनले करिब ९ करोड रुपैयाँ पाउनेछन्। यति धेरै रकम भागबण्डा लगाउने गरी मिलेमतोमा उक्त जमिन पर्वतराजको नाममा दर्ता भएको अनुमान मालपोत कार्यालय, रुपन्देहीकै केही कर्मचारीहरूको छ।
हदबन्दी लाग्ने भएपछि जग्गाधनी सुर्जाले नै मन्दिरलाई दिएको जमिन पर्वतराजको नाममा नाममा गर्दा साटफेर पनि गरिएको छ।
भुजौली नक्सा सिट ९(ख) को २९ नम्बर कित्ताको जमिन मालपोत कार्यालयले पर्वतराज नाममा दर्ता गरिदिएको छ। भुजौली नक्सा सिट ९(क) को जमिन २०७५ सालमै अधिग्रहणपछि नेपाल नागरिक उड्डयन प्राधिकरणको नाममा दर्ता भइसकेको थियो।
विमानस्थलको अधिग्रहणमा परेको जमिन पर्वतराजका नाममा दर्ता गर्दा मालपोत कार्यालयले मुआब्जा वितरण समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी, विमानस्थल आयोजना र नागरिक उड्डयन प्राधिकरणसँग राय लिएको छैन।
रूपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले विमानस्थलभित्रको जमिन व्यक्तिको नाममा दर्ता भएको विषयमा अनुसन्धान सुरू गरिएको बताए। उनका अनुसार उक्त जग्गाको विषयमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुदृढीकरण आयोजना कार्यान्वयन इकाइ र स्थानीयवासीले विशेष चासो लिएका छन्।
मालपोत कार्यालय, नापी कार्यालय र विमानस्थल आयोजनाका प्रमुखसँग जग्गाको विषयमा फाइल मगाएर अध्ययन सुरू गरिएको छ। पर्वतराजका नाममा दर्ता भएको जमिन विमानस्थलको पर्खालभित्रै पर्छ जहाँ काली मन्दिरको संरचना पनि रहेको छ।
यसअघि सिद्धार्थनगर नगरपालिकामा दाहसंस्कारको लागि छुट्याएको सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता भएको घटना सार्वजनिक भएको थियो।
अन्तर्राष्ट्रिय विमानस्थल नजिक घागरा खोला छेउमा स्थानीयवासीले वर्षौंदेखि शवदाहस्थलका रूपमा प्रयोग गर्दै आएको साढे एक बिघाभन्दा बढी जमिन अर्घाखाँचीको साबिक मैदान गाविस–५ निवासी फर्सुराम घिमिरले आफ्नो नाममा दर्ता गराएको पाइएको थियो।
यस घटनामा पनि छानबिन सुरू भएको छ।