सुरक्षित कार्यस्थलको माग गर्दै आवासीय डाक्टरहरूले आन्दोलन जारी राखेपछि विगत चार दिनदेखि मुलुकका विभिन्न अस्पतालमा सेवा प्रभावित बनेको छ।
असोज ९ गतेदेखि 'स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समिति'को अगुवाइमा विभिन्न मागसहित आन्दोलन भइरहेको छ।
पछिल्लो समय पोखरास्थित मणिपाल, चितवनस्थित माडी, मकवानपुरको हेटौंडास्थित सञ्चो, लमजुङ जिल्ला अस्पतालमा डाक्टरहरूमाथि आक्रमण भएको थियो।
डाक्टरहरूले बलियो कानुन बनाउन सरकारसँग माग गरेका छन्। डाक्टरहरूमाथि आक्रमण गर्नेलाई पक्राउ गरी कानुनअनुसार कडा कारबाही गरिनुपर्ने अडानमा उनीहरू छन्।
'स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समिति' ले बिहीबार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतलाई भेटेर मागबारे जानकारीसमेत गराइसकेका छन्।
यस्ता छन् डाक्टरहरूका माग
'धरौटीमा छाड्न हुन्न, जेल हाल्नुपर्छ'
डाक्टरहरूमाथि कुटपिटमा संलग्न हुनेलाई पक्राउ गरी कडा कारबाही गरिनुपर्ने र त्यस्ता व्यक्तिलाई धरौटीमा नछाडी जेल पठाउनुपर्ने माग उनीहरूको छ।
‘पछिल्लो समय मणिपाल, माडी, हेटौंडा, लमजुङलगायत विभिन्न स्थानमा भएका घटनाका दोषीलाई पक्राउ गरी तत्कल कारबाही गरिनुपर्छ,’ त्रिवि शिक्षण अस्पतालमा कार्यरत डाक्टर सुमन आचार्यले भने।
स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ (पहिलो संशोधनसहित) मा व्यवस्था भएको दफा १५ को कसुर र सजाय सम्बन्धमा भएको व्यवस्थामा संशोधन गर्न पनि डाक्टरहरूले माग गरेका छन्।
‘...दफा ३ बमोजिमको कुनै कार्य गरेमा न्यूनतम सजाय ३ वर्षभन्दा बढी कैद र तीन लाख जरिवाना गरिनेछ’ कायम गर्नुपर्छ,’ डाक्टरहरूले कानुनमै परिमार्जन गर्न गृह र स्वास्थ्य मन्त्रीलाई आग्रह गरिसकेका छन्।
साथै स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ (पहिलो संशोधिन सहित) मा व्यवस्था भएको दफा ४ को उपदफा (१) लाई संशोधन गर्न उनीहरूले माग गरेका छन्।
‘… स्वास्थ्य संस्थामा दफा ३ विपरीतको कुनै काम कारबाही गरेमा वा गर्न लागेमा त्यस्तो स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्था कार्यरत कर्मचारी वा स्वास्थ्य संस्थालाई तत्काल राज्यले सुरक्षा प्रदान गर्नेछ र नियमानुसार सार्वजनिक मुद्दा चलाई कारबाही प्रकृया अगाडि बढाउनेछ’ भन्ने कायम गरिनुपर्छ,’ डा. आचार्यले भने।
सुरक्षा दिने अधिकारीले गल्ती गरेमा उसलाई पनि कानुनी दायरामा ल्याउने गरी ऐन संशोधन गर्न उनीहरूले माग गरेका छन्।
‘दफा ४ मा उपदफा (५) थप गरी ‘यसरी सुरक्षा प्रदान गर्नु पर्ने सम्बन्धित अधिकारीले तत्काल सुरक्षा प्रदान गरी कारबाही प्रक्रिया अगाडि नबढाएमा सो अधिकारीलाई समेत प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ’ भन्ने संशोधन गर्नुपर्छ,’ उनले भने।
साथै दफा १५ को उपदफा (३) लाई संशोधन गरी क्षतिपूर्ति कसुरदार वा राज्यले समेत व्यहोर्ने व्यवस्था गर्नुपर्ने आन्दोलनरत डाक्टरहरूको माग छ।
स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ (पहिलो संशोधिन सहित) मा व्यवस्था भएको दफा १२ को कोष व्यवस्था कार्यान्वयन सम्बन्धमा ७२ घण्टाभित्र कार्यविधि तयार गरी कार्यान्वयन गर्न उनीहरूले सरकारसँग माग गरेका छन्।
'अस्पतालभित्र सुरक्षा प्रहरी बलको व्यवस्था गरिनुपर्छ'
अस्पतालभित्र कार्यरत स्वास्थ्यकर्मीलाई सुरक्षाको प्रत्याभूति गराउन स्वास्थ्य सुरक्षा प्रहरी बलको व्यवस्था गर्न पनि डाक्टरहरूले माग गरेका छन्।
उनीहरूले स्वास्थ्य संस्थालाई सुरक्षित कार्यस्थल बनाउन अस्पताल प्रमुख, सम्बन्धित ठाउँको प्रहरी प्रमुख, उपभोक्ता प्रतिनिधि र कानुनी अधिकारी सम्मिलित समन्वय समिति गठन गर्न माग गरेका छन्। ‘समन्वय समितिले अस्पतालका नियमित सेवाको सुनिश्चितता गर्छ,’ आन्दोलनरत डाक्टरहरू भन्छन्।
डाक्टरहरूमाथि कुटपिटका घटना बढिरहेकोले यसो हुनुको कारण पहिचान गरी निराकरण गर्न उच्चस्तरीय समिति गठन गर्न पनि उनीहरूले सरकारसँग माग गरेका छन्।
‘स्वास्थ्यकर्मीका लामो कार्य समय, अत्याधिक कार्यबोझ तथा आमनागरिकसम्म स्वास्थ्य सेवासम्बन्धी चेतनाको अभावले गर्दा चिकित्सक र स्वास्थ्यकर्मी पटक-पटक कुटिई रहने घटना आइरहेकाले कारक तत्व पहिचान गरी निराकरण गर्न उच्चस्तरीय समिति गठन गर्ने र सुझाव कार्यान्वयनमा प्रतिबद्ध रहनुपर्छ,’ डाक्टरहरूले भनेका छन्।
डाक्टरहरूका आन्दोलनबारे के भन्छ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवासीय डाक्टरहरूले उठाएका मागप्रति सरकार सकारात्मक रहेको बताएको छ।
मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले डाक्टरहरूका माग सम्बोधन गर्न संवाद भइरहेको बताए।
‘उहाँहरूले उठान गर्नुभएको सुरक्षित कार्यस्थलका सम्बन्धमा प्रत्येक स्वास्थ्य संस्थाहरूमा निर्देशन दिइसकेका छौं,’ उनले भने, ‘गृह मन्त्रालयले पनि ७७ वटै प्रहरी र प्रशासन कार्यालयमा निर्देशन दिइसकेको छ।’
गृह मन्त्रालयले स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐनअनुसार कारबाही गर्न बुधबार निर्देशन दिएको थियो।
‘बिहीबार बेलुकी गृहमन्त्रीज्यूको संयोजकत्वमा स्वास्थ्य मन्त्रीज्यूलगायत तथा आन्दोलनरत डाक्टरहरूको उपस्थितिमा वार्ता गरिएको थियो,’ उनले भने, ‘डाक्टरहरूका लगभग सबै मागमा सरकार सकारात्मक छ, सम्भवत: आज पुन: वार्ता भएर निचोडमा पुग्छौं।’
आवासीय डाक्टरहरू कार्यरत अस्पतालमा मात्रै सेवा केही प्रभावित भएको उनले बताए।
‘वीर, शिक्षण, पाटन, धरानलगायत अस्पतालमा सेवा केही प्रभावित भएको छ,’ उनले भने, ‘सेवामा असर परेको छ तर अस्पतालहरू बन्द नै हुने गरी प्रभावित भएको छैन।’
पछिल्लो समय कहाँ-कहाँ भएको थियो डाक्टरमाथि आक्रमण?
मकवानपुरको हेटौंडास्थित सञ्चो अस्पतालमा कार्यरत दुई जना डाक्टरमाथि गत भदौ २७ गते कुटपिट भएको थियो।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ पदमपोखरीका ४२ वर्षीय राजेश प्रधानको उपचारका क्रममा निधन भएपछि अस्पतालका डाक्टरहरू विकास थापा र प्रशान्त विडारीमाथि कुटपिट भएको थियो।
कुटपिटमा संलग्न रहेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरिसकेको छ।
डाक्टरहरू कुटपिटमा परेपछि नेपाल चिकित्सक संघको आह्वानमा देशैभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेक सेवा ठप्प पारेर आन्दोलन भएपछि सरकारले सहमति गरेको थियो।
सरकार र चिकित्सकबीच भएको सहमतिमा सञ्चो अस्पतालका डाक्टरमाथि कुटपिट गर्ने अभियोगमा पक्राउ परेका र पक्राउ पर्न बाँकीलाई पक्राउ गरी स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ अनुसार कारबाही गर्ने सहमति भएको थियो।
उक्त ऐन कार्यान्वयनमा सरकारका सरोकारवाला निकाय प्रतिवद्ध रहने, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा समन्वय समितिलाई सक्रिय बनाउनेलगायत बुँदामा सहमति भएको थियो।
तर त्यसपछि पोखराको मणिपाल र लमजुङ अस्पताललगायतमा डाक्टरमाथि आक्रमण भएको छ।
लमजुङ जिल्ला अस्पतालमा कार्यरत डाक्टर सन्दीप अधिकारीलाई रक्सीले मातेका वडाध्यक्षले कुटपिट गरेका थिए।
बेसीशहर नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष ऋषिराम बस्नेतले गत असोज ८ गते राति डाक्टर अधिकारीलाई कुटपिट गरेका थिए।
वडाध्यक्ष बस्नेतका आफन्त पर्ने बिरामी अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका थिए। उनको चेकजाँच गरी राति साढे १० बजेतिर वार्डमा सार्न लाग्दा वडाध्यक्ष बस्नेत आएर कुटपिट गरेका थिए। वडाध्यक्ष बस्नेतलाई प्रहरीले पक्राउ गरिसकेको छ।
असोज ८ मै पोखरास्थित मणिपाल शिक्षण अस्पतालका डाक्टर अनिल शाहमाथि आक्रमण भएको थियो। लमजुङकी एक बिरामीको उपचारका क्रममा मृत्यु भएपछि उनका आफन्तले डाक्टर शाहलाई आक्रमण गरेका थिए।
घटनाको भोलिपल्ट प्रहरीले पोखरा महानगरपालिका वडा नम्बर ५ मालेपाटनका विनय गुरूङलाई नियन्त्रणमा लिएको थियो। मणिपालमा काम गर्ने वातावरण नभएको भन्दै डाक्टरहरू काठमाडौं आएका छन्।