सिद्धार्थनगर नगरपालिकामा दाह संस्कारका लागि प्रयोग भइहरेको सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता भएको पाइएको छ।
वडा नम्बर १० स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको पश्चिमतर्फ घागरा खोला किनारमा डेढ बिघाभन्दा बढी जग्गा स्थानीयवासीले दाहसंस्कारको लागि संरक्षण गरेका थिए।
उक्त जगा व्यक्तिको नाममा दर्ता गराएको रहस्य सार्वजनिक भएको छ। मालपोत कार्यालयको अभिलेखअनुसार उक्त जग्गा २०७० साल वैशाख २८ गते अर्घाखाँचीको साविक मैदान गाविस–५ बस्ने फर्सुराम घिमिरेको नाममा दर्ता भएको देखिन्छ।
घाट निर्माणका लागि आफूहरूले लामो समयदेखि संरक्षण गरेको जग्गा अहिले व्यक्तिका नाममा पास भएको थाहा पाएपछि स्थानीयवासी आश्चर्यमा परेका छन्।
वडा नम्बर १० का वडाध्यक्ष सुर्जमान अहिर यादवका अनुसार साविक भुजौली गाविस–७ ‘क’ मा पर्ने कित्ता नं. ६१ मा ‘पितृ विसर्जन तथा शव दहन स्थल’ रहेको एक बिगाहा ११ कट्ठा ५ धुर जग्गा स्थानीय आमा समूहको संरक्षण्मा थियो।
जग्गा वडा नं. १० मा रहे पनि संरक्षणको जिम्मा वडा नं. ४ को आमा समूहले लिएको थियो। अहिले व्यक्तिको नाममा रहेको भन्दै आठ वर्षको तिरो (कर) एकमुस्ट बुझाएको पाइएको छ। यस्तो अवस्थाले आफू आश्चर्यमा परेको वडाध्यक्ष यादवले बताए।
‘वर्षौंदेखि आमा समूहले संरक्षण गर्दै आएको जग्गा एक्कासी कसरी व्यक्तिको नाममा गयो? कागजपत्र पनि आमा समूहकै नाममा छ तर एकाएक व्यक्तिको नाममा रहेको भन्दै २०७९/८० मा नगरपालिकामा एकमुस्ट रूपमा ८ वर्षको तिरो बुझाइएको छ। यो कसरी भयो?,’ उनले आश्चर्य प्रकट गरे।
वडाध्यक्ष यादवका अनुसार २०७९/८० मा नगरपालिकामा तिरो बुझाएको भन्दै २०८०/८१ को तिरो बुझाउन वडा नं. १० कार्यालयमा आएपछि उक्त जग्गा व्यक्तिको नाममा दर्ता भएको रहस्य बाहिरिएको हो।
शव दाहस्थल रहेको जग्गा व्यक्तिको नाममा दर्ता भएको थाहा पाएपछि जिल्ला प्रशासन कार्यालय र मालपोत कार्यालय, भैरहवा (रूपन्देही) लाई जानकारी गराएर त्यस्तो दर्ता रद्द गर्न पहल गरेको उनले बताए।
‘व्यक्तिको नाममा जग्गा दर्ता भएको थाहा पाएपछि जग्गा रोक्का राख्न मालपोत कार्यालयमा आग्रह गरेका छौं। प्रशासनलाई पनि भनेका छौं,’ उनी भन्छन्, ‘जग्गा शव दाहस्थलकै रूपमा कायम गर्न पहल गरिरहेका छौं। काम भएन भने जिल्ला प्रशासन र मालपोत कार्यालयमा धर्ना पनि दिन्छौं।’
उनले जग्गाको प्रमाण जुटाउने काम पनि भइरहेको बताए।
वर्षौंदेखि मृतकको दाहसंस्कार स्थलका रूपमा प्रयोग हुँदै आएको उक्त स्थानमा २०४९ सालमा स्थानीयवासी र सिद्धार्थनगर नगरपालिकाको संयुक्त योगदानमा विश्रामस्थल र दाहसंस्कार घाट बनाइएको थियो।
त्यसयता तत्कालीन जिल्ला विकास समिति र सिँचाइ कार्यालय रूपन्देहीले नदी कटान रोक्न बजेट विनियोजन गरी तटबन्ध निर्माण गरिएको यादवले बताए।
स्थानीयवासी श्रीप्रसाद यादवका अनुसार उक्त जग्गामा २०६१ सालमा ‘रूपन्देही वातावरण संघ’ ले वृक्षारोपण र तारबार गरी ‘स्मृति वनवाटिका’ नामकरण गरेको थियो। त्यही सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता भएको थाहा पाएपछि आश्चर्यमा परेको उनले बताए।
‘वनवाटिका नामकरण पछि २०६२ सालमा लुम्बिनी युवा ग्रामीण विकास संघ र हेफर इन्टरनेसनलको सहयोगमा वृक्षारोपण गरी संरक्षण गरिएको थियो,’ उनले आश्चर्य प्रकट गरे, ‘अहिले कसरी व्यक्तिको नाममा दर्ता भयो?’
उक्त स्थानमा २०६८ सालमा स्थानीयवासी र सिद्धार्थनगर नगरपालिकाको संयुक्त प्रयासमा ‘पितृ विसर्जन उपभोक्ता समिति’ गठन गरी घाट सुदृढीकरण गरिएको थियो। स्थानीयवासी र संघसंस्थाको सहयोगमा शव दाहस्थलमा प्रतीक्षालय र प्रवेशद्वार निर्माण गरिएको छ।
वडाअध्यक्ष यादवका अनुसार अर्घाखाँचीको साबिक मैदान गाविस–५ का बासिन्दा फर्सुराम घिमिरले आर्थिक वर्ष २०७९/८० मा एकै पटक ८ वर्षको तिरो एकमुष्ट बुझाएका छन्। यसपछिमात्रै स्थानीयवासी र जनप्रतिनिधिहरूले उक्त जग्गा व्यक्तिका नाममा दर्ता भएको थाहा पाएका हुन्।
यसअघि कुनै पनि स्रेस्ता व्यक्तिको नाममा नभएको जग्गा मालपोत कार्यालयका कर्मचारीहरूको मिलोमतोमा मात्रै व्यक्तिको नाममा दर्ता गर्न सम्भव रहेको जनप्रतिनिधिहरूको भनाइ छ।
मालपोत कार्यालयको अभिलेखमा उक्त जग्गा २०७० सालअघि ‘पर्ती जग्गा’ उल्लेख गरिएको छ।
रूपन्देहीका प्रमुख मालपोत अधिकृत कुमार आचार्यले उक्त जग्गाको जग्गाधनीपुर्जा २०७० सालमा जारी गरिए पनि मालपोत कार्यालयको कम्प्युटर अभिलेखमा भने २०७१ सालमा दर्ता भएको देखिएको बताए।
उनका अनुसार घटनाको छानबिन सुरु भएको छ। ‘कागजपत्र हेर्दा शंकास्पद देखिन्छ। को कसको मिलेमतोमा यस्तो काम भयो, अनुसन्धान हुनु जरूरी छ,’ उनी भन्छन्, ‘व्यक्तिको नाम खारेज गरेर सार्वजनिक कायम गराउने प्रक्रिया सुरु गर्छौं।’
सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा अधिकारीका अनुसार वर्षौंदेखि स्थानीयवासीले संरक्षण गरेर शव दाहस्थलका रूपमा प्रयोग गरेको जग्गा व्यक्तिको नाममा पुग्नुको रहस्य खोजी भइहरेको छ।
‘कसरी व्यक्तिको नाममा पुग्यो भनेर मालपोत कार्यालयमा बुझिरहेका छौ। मालपोतकै कर्मचारीको मिलेमतोबिना व्यक्तिको नाममा जान सम्भव छैन, यसमा गहिरो अनुसन्धान हुनुपर्छ,’ उनी भन्छिन्।
वडा नंं. ४ का वडाअध्यक्ष मुक्तिनाथ यादवले सार्वजनिक शव दाहस्थल बनाइएको जग्गा हडपेर व्यक्तिको नाममा दर्ता गर्ने–गराउने कसैलाई पनि उन्मुक्ति हुन नहुने बताए।