अभियन्ता ई:सँगै आजदेखि सडक व्यवसायी पनि आन्दोलनमा उत्रिएका छन्। राष्ट्रिय सभागृहमा व्यवसायीहरू पनि विभिन्न प्लाकार्ड बोकेर प्रदर्शनमा उत्रिएका हुन्।
उनीहरूले ‘गरिबमारा काम नपा, हामीलाई सास फेर्न पनि ठाउँ नदिएर के पाउछौ?’, ‘बालेन-सुनिता तिमीहरूलाई मत र साथ दिनु हाम्रो के गल्ती नै थियो?’, ‘मारपिट लुटपाट बन्द गर, गरिब, सडक मजदुर, उद्यमी होइन- गरिबी हटाऊ’, लगायतका विभिन्न प्लाकार्ड बोकेर प्रदर्शन गरेका हुन्।
मंगलबार करिब ३ घण्टा लामो काठमाडौं महानगर र ई: का प्रतिनिधिबीच वार्ता भए पनि त्यो वार्ता सफल हुन सकेन।
काठमाडौं महानगरपालिका पहिले भएको सहमतिबाट पछि हटेपछि सामाजिक अभियन्ता ईः र उनका प्रतिनिधिसँगको वार्ता निष्कर्षविहीन भएको थियो।
व्यवसायी र ई: का प्रतिनिधिहरूले पहिलेकै ठाउँमा व्यापार गर्न पाउनुपर्ने माग राखेका थिए। महानगर प्रतिनिधिहरूले उक्त माग स्वीकार गरेनन्।
त्यसपछि ईःका प्रतिनिधि र व्यवसायीले केही ठाउँको नाम लेखेर त्यहाँ व्यापार गर्न पाउनुपर्ने माग राखे। दसैं-तिहारजस्ता चाडपर्व नजिकिएकाले उनीहरूले ती ठाउँमा व्यापार गर्न पाउनुपर्ने माग राखेका थिए।
ती ठाउँमा छठसम्म निश्चित समय तोकेर व्यापार गर्न दिनेमा महानगरले सहमति जनाएको थियो।
काठमाडौं महानगरका मेयर बालेन शाहले स्थानीय तहको चुनावअघि फुटपाथ व्यवसायीको उचित व्यवस्थापन गर्ने भनेर गरेको वाचा पूरा गर्नुपर्ने लगायत माग ई:ले राखेका छन्।
महानगर प्रहरीले फुटपाथ व्यवसायीमाथि गरेको दुर्व्यवहार अन्त्य गर्नुपर्ने माग पनि ई:ले गरेका छन्। माग पूरा नहुन्जेल आन्दोलन गरिरहने ई: ले बताएका छन्।
तस्बिरहरू: