भारती मानन्धरलाई केही दिनअघिसम्म राजनीतिबारे कुनै चासो थिएन।
राष्ट्रपति होस् या प्रधानमन्त्री; कुन नेता के गर्दैछन्, के भन्दैछन्; उनलाई कुनै वास्ता हुन्थेन।
पछिल्लो संविधान दिवसको एउटा घटनाले भने भारतीलाई विक्षिप्त बनाएको छ।
त्यस दिन उनलाई आफन्तहरूले केही समाचार पठाएका थिए। भारतीले जसै ती समाचार पढिन्, उनको होस उड्यो।
भारतीका श्रीमान चेतन मानन्धरको हत्या अभियोगमा सर्वस्वसहित जन्मकैद सजाय पाएका नेपालगन्जका 'रिगल' भनिने योगराज ढकाललाई संविधान दिवसको अवसर पारेर माफी दिइएको थियो। २०७५ साल भदौ अघिको घटना भए ४० प्रतिशत र त्यसपछिको घटना भए ५० प्रतिशत कैद सजाय भुक्तान गरेको कैदीलाई जेलमा असल चालचलन देखाएमा बाँकी कैद छुट दिने कानुनी व्यवस्था छ।
भदौ २९ को मन्त्रिपरिषद बैठकको सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले ढकालको सजाय माफ गरेका थिए।
'सुरूमा त मैले पत्याइनँ। जब रिगललाई रिहा गरिएको र जेलबाहिर जयजयकार गरिएको भिडिओ देखेँ, मेरो त होसहवास गुम्यो,' २८ वर्षीया भारतीले सेतोपाटीसँग भनिन्।
त्यस दिन बाँके र दाङबाट दर्जनौं युवा रिगलको स्वागत गर्न घोराही कारागार पुगेका थिए। ती युवाले अबिर-खादा लगाइदिएर, अंकमाल गरेर रिगलको स्वागत गरे। उनी चढेको गाडीलाई लावालश्कर लागेर स्कर्टिङसमेत गरियो।
'उसलाई यस्तरी स्वागत गरिएको थियो, मानौं ऊ देशका लागि ठूलो काम गरेर आएको हो,' भारतीले भनिन्, 'त्यो भिडिओ हेरेर मलाई झन् गाह्रो भयो।'
'राष्ट्रपतिज्यूसँग भेट भयो भने म सोध्नेछु, मेरो जिन्दगी उजाड्ने हत्यारालाई के आधारमा आममाफी दिनुभयो?'
चेतन र भारतीको सानै उमेरमा प्रेम विवाह भएको थियो। तर भारतीका आमाबुवाले उनलाई चेतनबाट छुटाउन भारतको मुम्बई लिएर गए।
मुम्बई गएपछि चेतनसँग उनको कुनै सम्पर्क भएन।
उनी दिनरात चेतनकै यादमा छट्पटाइरहिन्। जसरी हुन्छ नेपाल फर्किने र चेतनसँगै जिन्दगी बिताउने उनको एक मात्र ध्याउन्न थियो।
सँगसँगै उनलाई चेतनले अर्कै केटीसँग विवाह गरे कि भन्ने चिन्ता पनि थियो।
चेतनको चिन्ताले मनको चैन चोरेपछि उनी एकदिन आमाबुवालाई छलेर नेपाल फर्किइन्।
'फिल्म क्षेत्रमा काम गर्ने एक जनाको सहयोग लिएर म नेपालगन्ज आइपुगेकी थिएँ,' भारतीले सम्झिइन्, 'उनले मलाई फिल्ममा काम गर्ने हो भनेर सोधेका थिए। मैले उनलाई आफ्नो सबै कुरा बताएँ र नेपाल पुर्याइदिनू भनेर सहयोग मागेँ।'
नेपालगन्ज आएर भारती आफ्नी फुपूको घर गइन्।
मुम्बईमा धुइँपत्ताल खोजी गरिरहेका आमाबुवाले उनी फुपूको घर पुगेको थाहा पाए।
यता चेतनका साथीहरूले पनि भारती नेपाल फर्किएको खबर पाए र त्यो खबर चेतनसम्म पुर्याए।
'चेतनका साथीहरू मलाई लिन आए,' उनले भनिन्, 'म पनि घर फर्किन्नँ भनेर उनीहरूसँगै गएँ र चेतनसँगै बस्न थालेँ।'
त्यसैबीच उनीहरूको एउटा छोरा जन्मियो।
चेतन नेपालगन्जमा ठेक्कापट्टाको काम गर्थे। होटल पनि चलाउन थालेका थिए। भारती घरमै बसेर गृहस्थी चलाउँथिन्।
'उहाँलाई सबैले दाइ-दाइ भन्थे। अलपत्र परेका युवाहरूलाई काम दिनुहुन्थ्यो। खाना खुवाउनुहुन्थ्यो,' उनले भनिन्, 'दसैं-तिहारमा पैसा चाहियो वा कसैलाई केही पर्यो भने सबै जना मेरै श्रीमानलाई गुहार्न आउँथे।'
रिगल पनि नेपालगन्जमा व्यवसाय गर्थे। उनी नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरूण दल बाँके-३ का सभापतिसमेत थिए।
सुरूमा रिगल र चेतन एकै समूहमा थिए। चेतनले रिगललाई दाइ भन्थे। पछि चेतन नेकपा एमालेसँग नजिकिए। यसले उनीहरूको सम्बन्ध टुट्यो।
बाँकेमा काम गरेका एक प्रहरी अधिकृतका अनुसार रिगलको समूहबाट छुट्टिएपछि चेतनले आफ्नै व्यवसाय र ठेक्कापट्टा थालेका थिए। यसैमा कुरा नमिल्दा रिगल र चेतनबीच दुश्मनी बढेको ती अधिकारीले बताए।
भारतीलाई भने उनीहरूको सम्बन्ध र फाटोबारे विस्तारमा केही थाहा छैन।
उनी यति मात्र भन्छिन्, 'रूपडियातिर नेपाल र भारतबीच चल्ने बस समिति खुलेको थियो। त्यसमा मिलेर काम गर्ने कि एक्लाएक्लै गर्ने भन्ने विषयमा झगडा परेको हो कि भन्ने लाग्छ।'
'एकदिन फोनमै बाझाबाझ भएको थियो,' उनले अगाडि भनिन्, 'के विषयमा कुरा भयो, त्यो चाहिँ थाहा पाइनँ।'
उनका अनुसार त्यो घटनापछि चेतन र रिगल दुवै काठमाडौं गएका थिए। दुई दिनपछि फर्किँदा चेतन निकै तनावमा थिए। रातभरि निदाउँथेनन्।
एक साँझ रिगलले चेतनलाई सम्पर्क गरी भोलिपल्ट अर्थात् २०७२ असार २८ गते भेट्न बोलाए।
'उहाँको ब्रत थियो। दाइ त हो नि भनेर केही नखाई भेट्न जानुभयो,' भारतीले भनिन्, 'एकै छिनमा आउँछु भनेर गएको मान्छे फर्किनुभएन।'
प्रहरीका अनुसार बाइकमा गइरहेका चेतनमाथि रिगल समूहले खुँडा प्रहार गरेको थियो। उनको हातमा गम्भीर चोट लागेको र अत्यधिक रक्तश्राव भएर मृत्यु भएको प्रहरीले जनाएको छ।
चेतनको हत्यापछि नेपालगन्ज सुनसान भएको थियो। भारतीलाई भने घटनाको अत्तोपत्तो थिएन।
गाउँकै एक जना भाइ आएर उनको घरको ढोका ढकढक्याए र भने, 'भाउजू छिटो ढोका खोल्नू।'
भारतीले जसै ढोका खोलिन्, गाउँका ती भाइले हडबडाउँदै भने, 'दाइलाई रिगलले खुकुरी हान्यो!'
खबर सुन्नेबित्तिकै भारतीको अनुहारको रङ फुंग उड्यो। ज्यान चिसो भयो।
उनले 'के भनेको यस्तो' भन्दै खबर ल्याउने भाइलाई एक थप्पड हिर्काइन्।
ती भाइले खबर सही हो भनेपछि भारती कराउँदै घरबाहिर दौडिइन्।
चेतन आफ्ना आमाबुवासँग छुट्टिएर बसेका थिए। भारती सुरूमा चेतनका आमाबुवा बस्ने घर गइन्। त्यहाँ ताल्चा लगाइएको थियो। टोल सुनसान थियो।
उनी त्यहाँबाट दौडिँदै नर्सिङ होम पुगिन्।
नर्सिङ होममा चेतनको शव देखेपछि उनी ठाउँको ठाउँ बेहोस भइन्। त्यसपछि के भयो, भारतीलाई याद छैन।
यो घटनापछि भारती मानसिक रूपमा कमजोर हुँदै गइन्।
'मलाई धेरै गाह्रो भयो। टाउकोको औषधि खान थालेँ। रिगललाई खोज्न दिनरात उसको घर जान्थेँ,' उनले भनिन्, 'त्यो घटनापछि रिगल भाग्यो। म अदालत पनि गएँ। तर न्याय पाइनँ।'
त्यसैबीच काठमाडौंमा प्रहरीसँगको मुठभेडमा कुमार घैंटे मारिए।
घैंटेको मृत्युपछि रिगलले जिल्ला अदालत बाँके पुगेर आत्मसमर्पण गरे।
त्यसपछि मुद्दा मामिलामा लागेर भारती कयौंपटक अदालत धाइन्। उनको एउटै माग थियो — न्याय चाहियो।
अदालतमा सुनुवाइ भइरहँदा पनि उनी न्यायाधीशसँग एउटै कुरा दोहोर्याउँथिन् — मलाई क्षतिपूर्ति चाहिँदैन। बस् मलाई न्याय दिनुहोस्। रिगललाई जन्मकैद होस्। जिन्दगीभर जेलबाट बाहिर निस्किन नपाओस्।
नभन्दै जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७६ वैशाखमा रिगललाई हत्यामा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैद सजाय सुनायो। हत्यामा संलग्न रहेको भन्दै अन्य १२ जनालाई पनि तीनदेखि १० वर्ष कैद सजाय तोक्यो।
'त्यो दिन मैले अदालतबाट न्याय पाएँ भनेर सिँढी ढोगेकी थिएँ,' भारतीले भनिन्।
चेतनको हत्यापछि उनी आफ्नो सानो छोरालाई लिएर सासू-ससुरासँग बस्थिन्। उनी मानसिक रूपमा विक्षिप्त भएकीले छोराको हेरविचार सासू-ससुराले नै गर्थे।
भारती ६ वर्षसम्म सासू-ससुरासँगै बसिन्। अहिले भने नेपालगन्जमा एक्लै डेरा लिएर बस्दै आएकी छन्। तर उनले छोरालाई आफूसँग राख्न पाएकी छैनन्।
स्वास्थ्य अवस्था ठीक नभएको कारण देखाएर सासू-ससुराले छोरा राख्न नदिएको उनी बताउँछिन्। उनलाई आफ्नो ११ वर्षीय छोरा भेट्न अदालत धाउनुपर्छ।
यी सबका बीच चेतनका हत्याराले सजाय पाएपछि उनको मनलाई सन्तोक भएको थियो। माफीको निर्णयले त्यो सन्तोक पनि खोसिएको भारती बताउँछिन्।
'मैले न्याय पाएँ भन्ने सोचेकी थिएँ। यही सन्तोकले साथीभाइसँग बाहिर निस्किन थालेकी थिएँ। तनाव कम हुँदै गएको थियो,' उनले भनिन्, 'केही समयदेखि त जिम पनि जान थालेकी थिएँ। फिजिकल, कार्डियोहरू अरूलाई सिकाउँथेँ पनि।'
यसैबीच भारतीका बुवाको निधन भयो। चेतनको हत्यापछि उनका आमाबुवा मुम्बईबाट फर्किएर बर्दियामा बस्न थालेका थिए।
उनले बुवाको किरियाको सातदिने काम सकेर नेपालगन्ज फर्केलगत्तै रिगल छुटेको समाचार पाएकी थिइन्।
'समाचार पढेर म खुब रोएँ। बिस्तारै घाउमा मह्लम लाग्न थालेको थियो। आममाफीले घाउ फेरि आलो बनाइदियो,' उनले भनिन्।
उनले सामाजिक सञ्जाल फेसबुकका माध्यमबाट आफूमाथि अन्याय भएको र राष्ट्रपतिलाई भेट्न चाहेको उल्लेख गरेकी छन्।
'घर-गृहस्थी तबाह भएकी एक नारीका श्रीमानको हत्या गर्नेलाई यहाँ आममाफी दिइन्छ? म राष्ट्रपतिलाई भेटेर सोध्न चाहन्छु- आममाफीको अर्थ के हो?' उनले भनिन्।
यो पनि: