हेटौंडास्थित सञ्चो अस्पतालका चिकित्सक विकास थापा र प्रशान्त विडारीमाथि आक्रमण गर्ने चार जनालाई पक्राउ गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नै कानुनबमोजिम काम गर्नु भन्ने निर्देशन दिनु परेको पाइएको छ।
चिकित्सक कुट्ने रमा प्रधान, उनकी छोरी रमिता, छोरा रोहित र भतिजा अनुप प्रधानलाई बुधबार प्रहरीले नियन्त्रणमा लियो। चिकित्सकहरूलाई पनि बोलाएर छलफल गरायो। त्यसपछि कुट्नेहरूलाई छोडिदियो। बिहीबार बिहान प्रधानमन्त्री कार्यालयको निर्देशनपछि फेरि उनीहरूलाई पक्राउ गरेको हो।
‘बिहान चिकित्सक संघका पदाधिकारीहरू प्रधानमन्त्रीलाई भेट्न आउनुभएको थियो। उहाँहरूले डाक्टरहरूको सुरक्षा हुनु पर्नेबारे प्रधानमन्त्रीसँग माग गर्नुभयो। प्रधानमन्त्रीले पनि सुरक्षा प्रशासनलाई कानुनबमोजिम काम गर्न निर्देशन दिनुभएको हो,’ प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमिल्सिनाले सेतोपाटीसँग भने।
चिकित्सकमाथि आक्रमण गर्नु फौजदारी अपराध मानिन्छ।
फौजदारी अपराधका घटनामा अनुसन्धान अघि बढाउने पूर्ण अधिकार हुने प्रहरीलाई प्रधानमन्त्रीले किन निर्देशन दिनुपर्यो?
बुधबारै उनीहरूलाई निन्त्रणमा लिएर अनुसन्धान किन नथालेको भनेर हामीले जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एसपी सीताराम रिजाललाई सोध्यौँ। जाहेरी दिन चिकित्सक तयार नभएपछि कुटपिट गर्नेलाई पनि हिरासतमा राख्न नसकिएको उनले बताए।
तर आक्रमणमा परेका चिकित्सकहरूले भने प्रहरीले दुबै पक्षलाई राखेर कुरा गराएको बताएका छन्।
डाक्टर विडारीले सेतोपाटीलाई बताएअनुसार एसपी रिजालको रोहबरमा दुबै पक्षलाई राखेर छलफल भएको थियो। छलफलका क्रममा प्रधान परिवारले चिकित्सकलाई फेरि धम्क्याए।
‘एसपीकै अघि जो-जो डाक्टरले जाहेरी दिन्छ सबैलाई काटेर हिँड्छौं भने। त्यसपछि मुद्दा हाल्ने आँट कसरी आउँछ? हामी केही नभनी त्यहाँबाट उठेर हिँड्यौं,’ विडारीले भनेका छन्।
फौजदारी अपराधका घटनामा प्रहरीले दुबै पक्षलाई राखेर छलफल गराउने वा मिलापत्र गराउने कुनै प्रक्रिया हुँदैन।
एसपी रिजालले भने छलफल र मिलापत्र नगराइएको बताए।
‘मिलापत्र गराएको भन्ने होइन। त्यस्तो धम्की दिएको भन्ने पनि मैले सुनिनँ। चिकित्सकहरूलाई जाहेरी दिने हो भने अनुसन्धान अघि बढाउँछौं भनेको हुँ। उहाँहरूले छोडिदिऊँ भन्नुभयो,’ उनले भने।
यो घटनामा आक्रमणमा परेका चिकित्सकहरू डराएर जाहेरी दिन नसकेको देखिन्छ।
डाक्टरमाथि कुटपिट भएको भिडिओ आक्रमण गर्ने प्रधान परिवार र डाक्टरमार्फत् नै प्रहरीले पाएपछि आफैं पनि अनुसन्धान अघि बढाउन सक्थ्यो। यसरी आफैं प्रतिवेदन उठाएर फौजदारी अपराधका घटनामा अनुसन्धान प्रक्रिया अघि बढाउन प्रहरीलाई मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ४ ले अधिकार दिएको छ।
हामीले हेटौंडाका एसपी रिजाललाई डाक्टरहरू डराएपछि त प्रहरी आफैंले पनि प्रतिवेदन उठाएर मुद्दा अघि बढाउन सक्छ नि भनेर सोधेका थियौँ। उनले आफूहरूले प्रतिवेदन उठाउँदा मुद्दा कमजोर हुने बताए।
‘प्रहरी आफैंले मुद्दा उठाउँदा घटना एकातिर छ ग्राभिटी पुग्दैन। मुद्दा फितलो हुन्छ। उहाँहरू डराएको भए हामीलाई मुद्दा अघि बढाइदिनुहोस् भन्या भए भइहाल्थ्यो बढाइदिन्थ्यौँ त्यसो भएन,’ उनले भने।
प्रहरीले आफैं प्रतिवेदन नउठाए चिकित्सकहरू कार्यरत अस्पतालले नै जाहेरी दिन सक्थ्यो। आफूकहाँ काम गर्ने चिकित्सकको निम्ति जस्तोसुकै कानुनी कारबाही लड्न पनि तयार हुनुपर्ने जिम्मेवारी अस्पतालले उठाउन सक्नुपर्थ्यो। परिआउँदा उसले चिकित्सकलाई साथ नदिएको देखिन्छ।
अस्पतालले पनि नदिएपछि चिकित्सकको हकहितका निम्ति काम गर्ने नेपाल चिकित्सक संघले आफैं जाहेरी दिन सक्थ्यो।
संगठनले लिखित जाहेरी दिँदासमेत प्रहरीले नलिएको भए एउटा कुरा हुन्थ्यो। प्रहरीले जाहेरी नलिए सरकारी वकिलकहाँ जाहेरी दिन पाइने व्यवस्था पनि कानुनमा छ।
तर उसले कानुनी प्रक्रियाका लागि जाहेरी दिन छोडेर कहिले सिडिओ त कहिले प्रधानमन्त्रीलाई गुहार्न सजिलो मान्यो।
‘हिजो सिडिओसँग कुरा गर्दा तपाईंहरूले जाहेरी दिनुहोस्, हामी कारबाही अघि बढाउँछौं भन्नुभयो। पछि छलफलमा पीडितहरूलाई थप धम्क्याउने काम भयो। यसले जाहेरी दिने वातावरण नभएपछि हामीले प्रधानमन्त्रीलाई भेटेका हौं,’ संघका अध्यक्ष डाक्टर अनिलकुमार कार्कीले सेतोपाटीसँग भने, ‘आज बिहान प्रधानमन्त्रीलाई भेटेर यसरी सेवा दिन सक्दैनौं भनेर स्पष्ट भनेका छौं। उहाँले गृह मातहतका निकायलाई कडा कारबाही गर्नु भनेर निर्देशन दिनुभएको भन्ने कुरा आएको छ।'
नायब महान्यायाधिवक्ता सञ्जीवराज रेग्मी भने यो घटनाको उजुरी प्रधानमन्त्रीसम्म जानुपर्ने खालको नभएको बताउँछन्।
‘जाहेरी प्रहरीकोमा दिन सकिन्थ्यो। डाक्टर डराएको भए प्रहरी आफैंले उठाउन सक्थ्यो,’ उनले भने,‘अरूले पनि जाहेरी दिन सक्थे। प्रहरीले नलिएको भए सरकारी वकिलको कार्यालयमा जान सकिन्छ। तर प्रधानमन्त्रीकैमा जानुपर्ने खालको यो घटना होइन।’
महान्यायाधिवक्ता कार्यालयका अर्का एक अधिकारीले पनि कानुनी व्यवस्था हुँदाहुँदै तिनको कार्यान्वयन गर्ने प्रक्रिया नथालेर प्रधानमन्त्रीको शक्ति प्रयोग गर्नु शोभनीय नदेखिने बताए।
‘यस्तो अभ्यासले कमजोर हुने कानुनी व्यवस्था हो, अनुसन्धान प्रणाली हो। यो प्रणालीले आफैं काम गर्ने बनाउनु सबैको दायित्व हुनुपर्ने हो। तर राजनीतिक शक्तिको भरमा यसलाई चलाउँदा कानुनको शासन कमजोर हुन्छ,’ उनले भने।
यसरी भएको थियो घटना
गत साउन २२ गते हेटौंडा-१२, पदमपोखरीका ४२ वर्षीय राजेश प्रधानको हेटौंडास्थित सञ्चो अस्पतालमा उपचार गरिएको र पछि अस्पतालले भरतपुरस्थित चितवन मेडिकल कलेजमा रेफर गरेको तीन दिनपछि बिरामीको मृत्यु भएको थियो।
अस्पतालका अनुसार बिरामीलाई साउन २२ गते दिउँसो अस्पताल ल्याइएको थियो। डेंगीबाट ग्रसित उनमा निमोनियाको समस्या देखिएको थियो। श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पतालले आइसियूमा राखेर उपचार गर्नुपर्ने परिवारलाई सुनायो। तर परिवारले आइसियूमा राख्न मानेन। वार्डमै उपचार थाल्न अस्पतालसँग आग्रह गर्यो। अस्पतालले बिरामीको हेरचाह पनि अलिक राम्रो हुन्छ भनेर एचडियूमा भए पनि राखौं भनेर आग्रह गरेपछि परिवार सहमत भयो।
एचडियूमा राखेको एक दिन पनि नभई बिरामीको अवस्था थप जटिल देखिएपछि आफूहरूले भोलिपल्टै चितवन मेडिकल कलेजमा रेफर गरेको र त्यहाँ तीन दिनपछि बिरामीको मृत्यु भएको डाक्टर विडारीले बताए।
उनले बिरामीको मृत्यु भएको भोलिपल्ट पनि परिवार र आफन्त सदस्यहरू सञ्चो अस्पतालमा आएको र अस्पतालले बिरामीको मृत्यु हुनु अघिको अवस्थाबारे बताएर घर पठाएको बताए।
एक महिनापछि बुधबार बिहान परिवारका सदस्यसहित एक हुल मानिस उपचारमा संलग्न चिकित्सकमाथि आक्रमणमा उत्रिएका हुन्।
अस्पतालका अनुसार घटना बुधबार बिहान १० बजेतिरको हो। बिरामीको राउन्डिङ गरिरहेको बेला २०-२५ जनाको हुल आएर एक्कासी आफूहरूमाथि कुटपिट गरेको डाक्टर विडारीले बताए।
‘डाक्टर विकास र म दुबै जना बिरामीको राउन्डिङमा थियौं। त्यही बेला पाँच जना जति मानिस आएर कुरा गर्नु छ भन्नुभयो। ठिकै छ एकैछिनपछि कुरा गरौंला भनेर हामी बिरामीको राउन्डिङमै थियौं। तर हामी राउन्ड लिँदालिँदै बाहिर २०-२५ जनाको हुल भेला भइसकेको रैछ। त्यसपछि एक्कासी हुल आएर डाक्टर विकासलाई तान्यो र मुक्का हानिहाल्यो। मैले डाक्टर विकासलाई तान्न खोज्दा मलाई पनि धमाधम हान्न थाल्यो। पछि कोठामा लगेर समेत कुटपिट गर्यो,’ डाक्टर विडारीले भने।
कुटपिटबाट डाक्टर थापाको मुखको हड्डी भाँच्चिएको छ भने डाक्टर विडारीको अनुहारमा चोट लागेको छ।
बुधबारको घटनालगत्तै प्रहरीको टोली पनि घटनास्थलमा पुगेको थियो। तर प्रहरीले आक्रमण गर्नेलाई पक्राउ गर्नुको सट्टा उल्टै घाइते चिकित्सकलाई कुराकानीका लागि जिल्ला प्रहरी कार्यालय लगेको उल्लेख गर्दै डाक्टर विडारीले भने- हिजोको घटनामा प्रहरी पक्षबाट पनि कमजोरी भएको देखियो। किनकी कुटपिटबाट घाइते भएका हामीलाई अस्पताल लैजानु पर्नेमा कुराकानीका लागि जिल्ला प्रहरी कार्यालय लगेर गयो।’
जिल्ला प्रहरी कार्यालयमा एसपीसहितको रोहबरमा भएको कुराकानीको क्रममा आक्रमणकारीले त्यहाँ पनि आफूहरूलाई धम्क्याएको डाक्टर विडारीले बताए।
आफूहरूलाई आक्रमण गर्ने टोलीले एसपीकै अगाडि पनि मान्छे काट्ने धम्की दिएको उल्लेख गर्दै उनले भने, ‘उनीहरूले एसपीकै अगाडि जो-जो डाक्टरले जाहेरी दिन्छ सबैलाई काटेर हिँड्छौं भने। एसपीकै अगाडि काटेर हिँड्छु भनेपछि मुद्दा हाल्ने आँट कसरी आउँछ? कतिले त हामी जेल गइरहेकै मान्छे हो बाल छैनसमेत भने। त्यसपछि हामी केही नभनी त्यहाँबाट उठेर हिँड्यौं।'
एसपी रिजालले भने छलफलको क्रममा आक्रमण गर्ने पक्षबाट थप कुनै धम्की नआएको बरू आफूले पीडित रहेका चिकित्सकहरूलाई जाहेरी दिन सल्लाह दिएर पठाएको जिकिर गरे।
यो पनि:
हेटौंडामा कुटिएका डाक्टर भन्छन्- एसपीकै अगाडि काट्छु भनेपछि मुद्दा हाल्ने आँट कसरी आउँछ?