पछिल्लो समय चर्चामा आएका दुई सुन प्रकरणका मुख्य नाइके एउटै भएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले निष्कर्ष निकालेको छ।
उनी हुन् दाओजिन वाङ। अन्तरदेशीय अपराधको सञ्जाल खडा गरेर सुन तस्करी गर्ने दाओजिन वाङ चीन चोङकिङ नगरपालिकाका हुन्। भेपबाट तस्करी गरिएको ९ किलो र ब्रेक-सुबाट तस्करी गरिएको ६० किलो सुन प्रकरणका मुख्य नाइके उनै भएको सिआइबीले निष्कर्ष निकालेको छ।
गएको पुसमा भेपमार्फत तस्करी गरिएको सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयबाट चोरी भएको थियो। त्यसपछि सिआइबीले सुन चोरी गर्ने समूहलाई पक्राउ गर्यो। सुन ल्याउने तस्करहरूको पहिचान गर्यो तर पक्राउ गर्न सकेन। त्यस मुद्दामा सिआइबीले सुन पनि बरामद गरेन। त्यसको अनुसन्धान प्रतिवेदनको लिंक चार्टमा भने दाओजिनको नाम सिआइबीले समावेश गरेको थियो।
त्यो लिंक चार्टमा पूर्वसभामुख कृष्णबहादुर महरा र उनका छोरा राहुल महराको दाओजिन वाङसँग सिधा सम्पर्क हुने गरेको उल्लेख थियो।
कृष्णबहादुर महराले वाङलाई 'फलफूल व्यवसायी' भनेर चिनेको बताएका थिए। त्यो भेप प्रकरणमा अहिले दोस्रो चरणको अनुसन्धान भइरहेको छ। त्यही अनुसन्धानका लागि राहुललाई पक्राउ गरिएको सिआइबीले बताएको छ।
साउन २ गते त्रिभुवन विमानस्थल बाहिर ६० किलो तस्करीको सुन राजस्व अनुसन्धान विभागले ब्रेक-सुभित्र फेला पारेको थियो। उक्त ब्रेक-सु काठमाडौंस्थित रेडी ट्रेड प्रालिले हङकङबाट क्याथे एयरवेजमार्फत मगाएको खुलेको थियो।
यो प्रकरणमा संलग्नहरू पक्राउ परेपछि उनीहरूबाटै दाओजिन वाङ मुख्य नाइके भएको खुलेको हो।
सिआइबी स्रोतका अनुसार उनी १५/१६ वर्षदेखि नै नेपाल-हङकङ आउजाउ गरिरहेका व्यक्ति हुन्। पाँच वर्षयता उनी सुन तस्करीमा सक्रिय थिए। पछिल्लो पटक अप्रिलमा हङकङ गएका उनी अहिले फरार छन्।
सिआइबी प्रमुख एआइजी किरण बज्राचार्यले दाओजिन वाङ सुन तस्करीको जालोका 'डन' रहेको बताइन्। जसको एक हिस्सा अहिले सिआइबीले तोडेको बताउँछिन्।
'सुनमा मुख्य लगानी नै दाओजिनको हो। हङकङ-नेपाल-भारतमा हुने तस्करीको जालोका मुख्य व्यक्ति दाओजिन वाङ हुन्,' उनले भनिन्, 'अहिले हामीले साम्राज्यको एक हिस्सा तोडेका छौं। अब उनको साम्राज्य तोड्नुछ। म सिआइबीमा हुन्जेल यसको अनुसन्धानलाई निरन्तरता दिन्छु।'
एआइजी बज्राचार्यले दाओजिन पक्राउ परेमा अन्य धेरै व्यक्तिहरूको संलग्नता प्रष्ट हुने बताइन्। त्यसैले पनि अनुसन्धान जारी नै राख्नुपर्ने उनको भनाइ छ।
उनका अनुसार दाओजिनले काठमाडौंमा दुइटा समूह बनाएको छ भने हङकङमा चार जना सहयोगी राखेका छन्। काठमाडौंमा उनका मुख्य सहयोगी एलेक्स भन्ने याओ पुचेङ हुन्। जो केही समयअघि भारतमा पक्राउ परेर पनि छुटेका थिए। त्यसपछि नेपाल आएका उनलाई ब्युरोले पक्राउ गरेको हो। हङकङबाट सुन पठाउने व्यक्तिहरू सिन पेङ योङसिन, झोङ जिङचुआन (स्याम), लि र लिन हुन्।
अनुसन्धान अधिकृत एसपी संजयसिंह थापाका अनुसार हङकङमा यो समूहले १० वटा कम्पनी खडा गरेका छन्। जसमध्ये तीन वटा कम्पनीबाट काठमाडौंमा रहेको रेडी ट्रेड प्रालिलाई ब्रेक-सुभित्र सुन राखेर पठाएको देखिएको छ। दोङगुवान सुता ट्रान्सपोर्टेसन लिमिटेड, जियानमेन फिङटङ ट्रासपोर्टेसन सर्भिस र तालमड लिमिटेडले पठाएको उक्त सुन क्यारी अन ग्लोबल लजिस्टिक्समार्फत काठमाडौं आइपुगेको हो।
नेपालको ट्रान्स ग्लोबल लजिस्टिक्ससँग सम्पर्क गरी राजेन्द्र राई, हर्कराज राई र भारतीय नागरिक थाप्तेन छिरिङ (टासी) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सामान बाहिर झिकाउने काम गर्थे। यो काममा भन्सार एजेन्ट यादव पराजुलीको समेत संलग्नता देखिएको छ। भन्सार एजेन्ट पराजुलीसँग सुन लिएर हर्कराज राई र टासीले गोदामसम्म पुर्याउने काम गर्थे।
सामान कुन ठाउँमा पुर्याउने र कसलाई बेच्ने सबै कुराको तय हङकङमै हुने गरेको सिआइबीले जनाएको छ। हङकङमै बसेर काम गर्ने लिन र लिले ह्वाट्स एपमार्फत एउटा कोड काठमाडौंमा पठाउँथे। त्यो कोड १० रुपैयाँको नोटको फोटो थियो।
एयरपोर्टबाट सुन लिन, गोदाममा पुर्याउन, गोदामबाट किन्न समेत यो फोटो देखाउनुपर्थ्यो।
यो समूहले सुन गाल्न काठमाडौंको टोखा र लाजिम्पाटमा दुइटा गोदाम बनाएको थियो। एलेक्स भन्ने याओ पुचेङले टोखाको गोदाम चलाउँथे। उनको समूहमा ली नेंकाइ, अलि भनिने वेन सुङ ली र साउतेन भन्ने डिङ सेग्फा छन्। लाजिम्पाटको गोदाम भने झोङ जिङचुआनले सम्हाल्थे। उनको समूहमा लिन जीछियान, झोङ जियान हुआ, बिङ र हुआ छन्।
उनीहरूले सुन गालेर बिस्कुट बनाएपछि व्यापारीहरूमार्फत भारत पुर्याउने गरेको अनुसन्धानमा देखिन्छ। भारतीय बजारमा पठाउन बारा सुनचाँदी व्यवसायी संघका अध्यक्ष शिवकुमार सर्राफको भूमिका देखिएको छ। उनीसम्म सुन सुमन खरेलले गाडीमा राखेर पुर्याउँथे। शिवकुमारले सुन प्राप्त गरेपछि विभिन्न गरगहना बनाएर भारतमा पठाउने गरेको अनुसन्धानबाट खुलेको छ।
अनुसन्धानकै क्रममा सुन ल्याउनेदेखि बेच्नेसम्मको एउटा चेन पक्राउ गरेको सिआइबीले जनाएको छ।
'बारामा व्यवसाय गर्ने शिवकुमारलाई तस्करीको सुन भारत छिराउन सजिलो थियो। गरगहना बनाएर, तिनको बिल खडा गरेर उसले भारत पुर्याएको देखिन्छ,' एक अनुसन्धान अधिकृतले भने,'ऊ जस्ता व्यापारीहरू अन्य पनि छन्। अनुसन्धान हुँदैछ।'
तस्करीको कतिपय सुन उनीहरूले नेपाली बजारमै पठाएको पनि सिआइबीको बुझाइ छ।
नेपाल राष्ट्र बैंकले दैनिक बजार पठाउने १० किलो सुनबाहेक धेरै सुन बजारमा उपलब्ध देखिन्छ। त्यो सुन तस्करी गरेर नै भित्रिएको सिआइबीको अनुमान छ।
बजारमा शिवकुमारजस्ता व्यापारीले किन्ने तस्करीको सुनको भुक्तानी क्रिप्टोकरेन्सीबाट हुने गरेको सिआइबीले जनाएको छ। ग्लोबो पे, विन पे, अलि पे, क्रिप्टोकरेन्सीमार्फत हङकङसम्म भुक्तानी हुने गरेको थियो।
यसरी सिआइबीले ६० किलो ७१६ ग्राम सुनको अनुसन्धान सकाएको छ।
६० किलो सुन तस्करीका मुख्य ६ तथ्य
सुन प्रकरणमा के हो दावा छिरिङको भूमिका?
६० किलो सुन प्रकरणमा एक जना व्यक्तिबारे धेरैको चासो छ। उनी हुन्, बेल्जियन नागरिक दावा छिरिङ। काठमाडौंको ठमेलस्थित भियाना होटलका सञ्चालक समेत रहेका उनी यस सुन प्रकरणमा पक्राउ परेका व्यक्तिहरूमध्ये मुख्य व्यक्ति हुन्।
उनी गत साउन १४ गते पक्राउ परे।
राजश्व अनुसन्धान विभागको टोलीले उनको भियाना होटल र उनी बस्ने निवासमा छापा मारेको थियो। उनको पनि यस प्रकरणमा संलग्नता देखिएको भन्दै विभागले उनलाई पक्राउ गर्यो।
साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय बाहिरबाट बरामद भएको सुन जडित ब्रेक-सुको अनुसन्धान सुरूमा राजश्व अनुसन्धान विभागले गरेको थियो। अनुसन्धानको प्रकृति गम्भीर रहेको भन्दै सरकारले साउन २२ गते सिआइबीलाई दियो।
दावा छिरिङ पक्राउ परेसँगै उनी नै मुख्य व्यक्ति हुन् कि भन्ने सबैको आशंका थियो। उनको माओवादी नेताहरू र पूर्व प्रहरी आइजिपीहरूसँगको सम्बन्धका कारण उनी पक्राउ परेसँगै राजनीतिक व्यक्तिहरू पनि पक्राउ पर्न सक्ने अनुमान थियो।
उनले रोल्पाकी अमला रोका मगरसँग विवाह गरेका छन्। जसको माओवादीका उपमहासचिव वर्षमान पुनसँग सम्बन्ध रहेको बताइएको थियो। उनीहरूको डिनरको फोटो चर्चित पनि छ।
अनुसन्धानको क्रममा दावाको भूमिका महत्वपूर्ण भए पनि उनी नै मुख्य व्यक्ति रहेको भने नपाइएको सिआइबीले जनाएको छ।
सिआइबीका एसपी सञ्जयसिंह थापाका अनुसार उनले व्यवस्थापकको रूपमा भूमिका खेले। त्यस्तै, सुन बेच्न आर्थिक कारोबार समेत गरेको देखिन्छ।
उनले पटकपटक दुई समूहसँग सम्पर्क गरी मध्यस्थताको भूमिका खेल्ने, भेटघाटको वातावरण मिलाउने, खाने, होटलमा बस्ने लगायतको काम पनि उनले गर्थे। सुन ओसारपसार, भुक्तानी लागि पनि उनले सहजीकरण गरिदिने एसपी थापाले बताए।
त्यसैगरी, सुन बरामद भएर केही व्यक्तिहरू पक्राउ परेपछि अन्य चिनियाँलाई भाग्नका लागि अपार्टमेन्ट पनि उनले खोजिदिएको खुलेको छ।
उनकै संलग्नतामा अन्य विदेशी नागरिकहरूलाई समेत नेपाली नागरिकता र राहदानी समेत उपलब्ध गराएको एसपी थापाले बताए।
'उनकै सहयोगमा तस्करी सञ्जालका व्यक्तिहरूलाई नेपाली नागरिकता दिइएको देखिन्छ। उनीसहित पाँच जनाले नेपाली नागरिकता र राहदानी लिएको देखिन्छ,' उनले भने, 'नागरिकता र राहदानी उपलब्ध गराउने व्यक्तिहरूको पनि अनुसन्धान हुन्छ। सम्बन्धित निकायमा जानकारी गराइएको छ।'
दावाले जिल्ला प्रशासन कार्यालय काभ्रेबाट नेपाली नागरिकता लिएको पाइएको हो।
सुन तस्करी गर्न पाँच विदेशीले कहाँ-कहाँबाट लिएका थिए नागरिकता?
तस्करीको ६० किलो सुन प्रकरणमा संलग्न पाँच विदेशीहरूले नेपाली नागरिकता लिएको खुलेको छ।
हङकङका एलेक्स भन्ने याओ पुचेङले काभ्रेबाट तेन्जिङ सोनाम तामाङको नामबाट नागरिकता लिएका छन्। चीनका साउतेन भन्ने डिङ सेग्फाले काभ्रेबाटै राम लामाको नामबाट नागरिकता लिएका छन्। ताइवान अलि वा ली भन्ने वेन सुङ लिले काठमाडौंबाट छिरिङ लामाको नामबाट नागरिकता लिएका छन्।
ली नेंकाइले काभ्रेबाट सोनाम लामाको नामबाट नागरिकता लिएका छन्। दावा छिरिङ भन्ने बेल्जियमका नागरिकले काभ्रेबाट दाबा छिरिङकै नाममा नागरिकता लिएका छन्।
पाँचै जनाले नेपाली नागरिकताका आधारमा पासपोर्ट पनि बनाइसकेको सिआइबीको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ। सिआइबीले उनीहरूलाई नागरिकता दिलाउन सहयोग गर्ने मानिसहरूको नाम पहिचान भई खोजी कार्य जारी रहेको बताएको छ।
सात कम्पनीले ल्याउँथे, दुइटा गोदाममा गालिन्थ्यो सुन
तस्करहरूले सात वटा कम्पनीमार्फत विदेशबाट सुन तस्करी गरेर ल्याउने गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पत्ता लगाएको छ।
त्रिभुवन विमानस्थल बाहिर साउन २ गते बरामद भएको तस्करीको ६० किलो सुनबारे ३५ दिन लामो अनुसन्धानका क्रममा सिआइबीले सात वटा कम्पनीमार्फत् तस्करहरूले सुन नेपाल ल्याउने गरेको भेटाएको हो।
ती कम्पनी हुन्:
- बाँसबारीस्थित लेखनाथ कार्की सञ्चालक रहेको छुङगाक इलेक्ट्रिक सप्लायर्स।
- चाबहिल (गोपिकृष्ण पारी) स्थित रामकुमार भुजेल सञ्चालक रहेको भुजेल इलेक्ट्रिक सप्लायर्स।
- सामाखुसीस्थित कुमारबहादुर भुजेल सञ्चालक रहेको ह्वाडा इलेक्ट्रिक सप्लायर्स।
- बाँसबारीस्थित रामबहादुर भुजेल सञ्चालक रहेको पवाटी इलेक्ट्रिक सप्लायर्स।
- लाजिम्पाट र हात्तीगौंडामा रहेका विकेन्द्र भुजेल सञ्चालक रहेको दोलखा इलेक्ट्रिक सप्लायर्स।
- बालुवाटारस्थित दिलिप भुजेल सञ्चालक रहेको रेडी ट्रेड प्रालि।
- बुढानिलकण्ठस्थित सरिता तामाङ सञ्चालक रहेको सरिता सप्लायर्स।
औपचारिकताका लागि उनीहरूले विभिन्न बस्तुहरू आयात गर्ने गर्थे। ब्रेकप्याड, सेभर, स्मार्ट वाच लगायतका विद्युतीय सामग्री आयात गर्ने र तिनमै लुकाएर सुन ल्याउने गरेको सिआइबीको दाबी छ।
टासी भन्ने थाप्तेन छिरिङले हर्कराज राईमार्फत् यी सञ्चालक र कम्पनी खडा गरेको सिआइबीको दाबी छ। यी कम्पनीको नाममा रहेका सटरहरू छिरिङ र राईले रेखदेख गर्दै आएका थिए।
यी सात वटा कम्पनीमार्फत् ल्याएको सुन तस्करहरूले काठमाडौं उपत्यकामा रहेका दुई गोदाममा लगेर पगाल्थे। सिआइबीका अनुसार ती दुई गोदाम टोखा र लाजिम्पाटमा छन्। ती दुवै गोदाममा सुन पगालेर रिप्याकिङ गर्ने काम हुन्थ्यो।
पक्राउ परेका ३२ जनालाई तस्करी गरेको सुन व्यवस्थापन गर्न काम बाँडफाँट गरिएको सिआइबीले जनाएको छ।
विमानस्थल भन्सार कार्यालयका ८ कर्मचारी, ४ भन्सार एजेन्ट, ३ कार्जो एजेन्ट, ट्याक्सी चालक एक, भाषा अनुवादक र कोठा खोज्ने व्यक्ति १, कम्पनी खडा गर्ने र माल बस्तु व्यवस्थापन गर्ने २ र सुन कारोबार गर्ने ११ जना संलग्न थिए।
यीमध्ये ६ जनालाई सिआइबीले मुद्दा चलाउन नपर्ने भनेर सरकारी वकिललाई सुझाव दिएको छ।
६० केजी सुन प्रकरणमा सिआइबीले प्रतिवादी बनाएका ५० जनामध्ये १८ जना भने फरार छन्। पक्राउ पर्नेमा २३ जना नेपाली र ९ जना विदेशी नागरिक छन्। फरार हुनेमा १४ विदेश र ४ जना नेपाली नागरिक छन्।
फरार हुनेमा माओवादी उच्च नेताहरूसँग सम्बन्ध भएको भनिएकी अमला रोक्का मगर पनि छन्। अमलाका श्रीमान् चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङलाई प्रहरीले पक्राउ गरेको छ। यो प्रकरणमा अहिलेसम्म पक्राउ परेकामध्ये उनको मुख्य भूमिका रहेको देखिएको प्रहरीले जनाएको छ।
एआइजी किरण बज्राचार्यका अनुसार यो सुन तस्करीमा अन्तरदेशीय संगठित अपराध देखिएको छ। यसमा नेपाली, भारतीय र चिनियाँ नागरिक संलग्न छन्।
यही समूहले पहिला नै ३०२ किलो सुन तस्करी गरेको देखियो: सिआइबी
यो तस्करीमा संलग्न रहेकाहरूले ३६२ किलो सुन तस्करी गरेको खुलेको बज्राचार्यले जानकारी दिइन्।
'त्यो दिन बरामद भएको ६० किलोबाहेक रेडी ट्रेड कम्पनीको नाममा अरू ३०२ किलो सुन पनि तस्करी भएको देखियो,' उनले भनिन्, '३ अर्ब ५० करोड रुपैयाँ बिगो दाबीसहित प्रतिवेदन बुझाउँदै छौं।'
बज्राचार्यले यो प्रकरणको पूरक अनुसन्धान पनि गरिने जानकारी दिइन्।
'यो कम्पनीले यसरी नै ब्रेक-सुमा राखेर पहिले पनि थुप्रै ल्याएको देखिन्छ। एउटा ब्रेक-सुमा ठ्याक्कै एउटै मात्राको सुन अट्छ। त्यसैले हामीले ३०२ किलो सुन पहिले ल्याइसकेको अनुमान गर्न सकेका हौं,' अनुसन्धानमा खटिएका एक अधिकृतले भने।
यसरी नै अनुसन्धान गर्न उनीहरूले रेडी ट्रेडसहित सात वटा कम्पनी खोलेको देखिन्छ। ती कम्पनीबाट कति मात्राको सुन ल्याएको हो भन्ने अनुसन्धान जारी नै रहेको एसपी सञ्जयसिंह थापाले बताए।
सुरूमा राजश्वले अनुसन्धान गरे पनि पछि अन्तरदेशीय अपराध भएको कारणले यसमा विशेषज्ञ टोलीको आवश्यक देखिएपछि सिआइबीलाई जिम्मा लगाइएको थियो।
सिआइबीले साउन २२ गतेयता ३५ दिनसम्म अनुसन्धान गरेको हो। सुरूमा सिआइबीले एसपी सञ्जयसिंह थापा नेतृत्वको टोलीले अनुसन्धान अघि बढाएको थियो। पछि एआइजी किरण बज्राचार्यकै नेतृत्वमा ४२ जनाको टोलीले अनुसन्धान गरेको हो।
सिआइबीले विशेषगरी प्राविधिक टोली, अनुसन्धान टोली, अपरेसनल टोली, अभिलेखीकरण गर्ने टोली र इन्टरपोलका एसपी नेतृत्वको छुट्टाछुट्टै टोली बनाएर अनुसन्धान गरेको हो। अनुसन्धानको लागि सिआइबीले एसएसपी दिनेश आचार्यलाई हङकङ र डिएसपी धर्मराज भण्डारीको टोलीलाई भारतमा पठाएको थियो।
६० किलो सुन प्रकरणमा ३ अर्ब ५० करोड बिगो दाबी
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले त्रिभुवन विमानस्थलबाट तस्करी भएको ६० किलो सुनको प्रकरणमा ३ अर्ब ५० करोड रुपैयाँ बिगो दाबीसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिलमा बुझाएको छ।
साउन २ गते त्रिभुवन विमानस्थल बाहिर ब्रेक-सुमा हालेर ल्याएको ६० केजी सुन प्रहरीले बरामद गरेको थियो। सोही प्रकरणमा संगठित अपराध लगायतका कसुर गरेको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ३५ दिन छानबिन गरी आज सरकारी वकिललाई प्रतिवेदन बुझाएको हो।
'त्यो दिन बरामद भएको ६० किलो सुन तस्करी भएको देखियो,' सिआइबीकी प्रमुख एआइजी किरण बज्राचार्यले भनिन्, '३ अर्ब ५० करोड रुपैयाँ बिगो दाबीसहित प्रतिवेदन बुझाउँदै छौं।'
साउन २ गते साँझ हङकङबाट क्याथेप्यासिफिक एयरलाइन्सबाट ल्याइएको ६० किलो सात सय १६ ग्राम सुन राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो।
दिलिप भुजेलको नाममा रहेको रेडी ट्रेड प्रालिले उक्त ब्रेक-सु मगाएको थियो। ब्रेक-सुभित्र सुन राखिएको भन्ने सूराक पाएपछि खटिएको राजश्वको टोलीले सुन बरामद गरेको थियो।
ब्रेक-सुबाट सुन निकालेर जोख्दा ६० किलो ७१६ ग्राम थियो। त्यसैगरी यही प्रालिले बरामद नगरिएका ३०२ किलो सुन पनि तस्करी गरेको सिआइबीको अनुमान छ।
त्यसकै आधारमा सिआइबीले कुल ३६२.७७८ किलोग्राम सुनको ३ अर्ब ५० करोड २ लाख १६ हजार ५५२ रुपैयाँ बिगो मागदाबी गरेको हो।
सिआइबीले तस्करी संलग्नहरूलाई विभिन्न ७ कसूरमा मुद्दा चलाउन मिल्ने प्रतिवेदनमा उल्लेख छ।
यस प्रकरणमा सात वटा कसुरको मुद्दा चल्ने सिआइबीको राय छ।
प्रहरीले भन्सार ऐन २०६४ को दफा ५७ (१) (घ) को १ (ख), संगठित निवारण ऐन २०७०, नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ९५ र मुलुकी अपराध संहिता २०७४ को दफा ४३ को एकीकृत कसुरमा मुद्दा चलाउन सिफारिस गरेको हो।
नेपाल नागरिकता ऐन २०६३, राहदानी ऐन २०७६ र अध्यागमन ऐन २०४९ अनुसार भने अनुसन्धान गर्न सम्बन्धित निकायलाई सिफारिस गरिने सिआइबीले जनाएको छ।
५० संलग्न, ३२ पक्राउ, १८ फरार
सिआइबीले यस प्रकरणमा ३२ जनालाई पक्राउ गरेको छ। १८ जना भने फरार छन्।
फरार रहेकाहरूविरूद्ध इन्टरपोलको 'पर्पल नोटिस' समेत जारी भएको एसपी सञ्जयसिंह थापाले जानकारी दिए। विदेशमा भएकाहरूको विरूद्ध 'पर्पल नोटिस' जारी भएको हो। यो नोटिस जारी भएपछि उनीहरूबारे केही जानकारी दिन प्रहरीले भनेको छ।
फरार रहेका १८ मध्ये १४ जना विदेशी नागरिक छन्। उनीहरूको परिचय भने खुलाएको छैन।
पक्राउ पर्नेहरूमा ८ जना त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीहरू छन्। चार जना भन्सार एजेन्ट, तीन कार्गो एजेन्ट, एक ट्याक्सी चालक, एक भाषा अनुवादक, दुई कम्पनी खोल्ने, दुई कम्पनी खडा गर्ने र सुनको कारोबारमा प्रत्यक्ष रूपमा संलग्न ११ जना गरी ३२ जना छन्।
सिआइबीको अनुसन्धानबाट कुल ५० जना संलग्न रहेको देखिएको छ। सरकारी वकिल कार्यालयमा मुद्दा बुझाउँदा भने सिआइबीले २९ जनाविरूद्ध मात्रै मुद्दा चलाउन राय दिएको छ। अहिले पक्राउ परेकामध्ये २५ जनाविरूद्ध मुद्दा चलाउनुपर्ने र फरार रहेका चार जना गरी जम्मा २९ जनाविरूद्ध मुद्दा चलाउन पर्ने सिआइबीले राय दिएको हो।
कतिपय विदेशी नागरिकको हकमा पहिचान नखुलिसकेको हुँदा अहिलेलाई चार जनालाई मात्रै प्रतिवादी बनाउन सिफारिस भएको स्रोतले बतायो। अमला रोका, चिनियाँ नागरिक लोरुङ गोम्बो, भोला सराफ र जीवन चलाउनेलाई फरार प्रतिवादी बनाएको स्रोतले बतायो।