६० किलो सुन प्रकरणमा एक जना व्यक्तिबारे धेरैको चासो छ। उनी हुन्, बेल्जियन नागरिक दावा छिरिङ। काठमाडौंको ठमेलस्थित भियाना होटलका सञ्चालक समेत रहेका उनी यस सुन प्रकरणमा पक्राउ परेका व्यक्तिहरूमध्ये मुख्य व्यक्ति हुन्।
उनी गत साउन १४ गते पक्राउ परे।
राजश्व अनुसन्धान विभागको टोलीले उनको भियाना होटल र उनी बस्ने निवासमा छापा मारेको थियो। उनको पनि यस प्रकरणमा संलग्नता देखिएको भन्दै विभागले उनलाई पक्राउ गर्यो।
साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय बाहिरबाट बरामद भएको सुन जडित ब्रेकशुको अनुसन्धान सुरूमा राजश्व अनुसन्धान विभागले गरेको थियो। अनुसन्धानको प्रकृति गम्भीर रहेको भन्दै सरकारले साउन २२ गते सिआइबीलाई दियो।
दावा छिरिङ पक्राउ परेसँगै उनी नै मुख्य व्यक्ति हुन् कि भन्ने सबैको आशंका थियो। उनको माओवादी नेताहरू र पूर्व प्रहरी आइजिपीहरूसँगको सम्बन्धका कारण उनी पक्राउ परेसँगै राजनीतिक व्यक्तिहरू पनि पक्राउ पर्न सक्ने अनुमान थियो।
उनले रोल्पाकी अमला रोका मगरसँग विवाह गरेका छन्। जसको माओवादीका उपमहासचिव वर्षमान पुनसँग सम्बन्ध रहेको बताइएको थियो। उनीहरूको डिनरको फोटो चर्चित पनि छ।
अनुसन्धानको क्रममा दावाको भूमिका महत्वपूर्ण भए पनि उनी नै मुख्य व्यक्ति रहेको भने नपाइएको सिआइबीले जनाएको छ।
सिआइबीका एसपी सञ्जयसिंह थापाका अनुसार उनले व्यवस्थापकको रूपमा भूमिका खेले। त्यस्तै, सुन बेच्न आर्थिक कारोबार समेत गरेको देखिन्छ।
सुन गाल्नको लागि काठमाडौंमा मात्रै दुइटा गोदाम बनाइएको थियो। एउटा टोखा र अर्को लाजिम्पाटमा।
उनले पटकपटक दुई समूहसँग सम्पर्क गरी मध्यस्थताको भूमिका खेल्ने, भेटघाटको वातावरण मिलाउने, खाने, होटलमा बस्ने लगायतको काम पनि उनले गर्थे। सुन ओसारपसार, भुक्तानी लागि पनि उनले सहजीकरण गरिदिने एसपी थापाले बताए।
त्यसैगरी, सुन बरामद भएर केही व्यक्तिहरू पक्राउ परेपछि अन्य चिनियाँलाई भाग्नका लागि अपार्टमेन्ट पनि उनले खोजिदिएको खुलेको छ।
उनकै संलग्नतामा अन्य विदेशी नागरिकहरूलाई समेत नेपाली नागरिकता र राहदानी समेत उपलब्ध गराएको एसपी थापाले बताए।
‘उनकै सहयोगमा तस्करी सञ्जालका व्यक्तिहरूलाई नेपाली नागरिकता दिइएको देखिन्छ। उनीसहित पाँच जनाले नेपाली नागरिकता र राहदानी लिएको देखिन्छ,’ उनले भने, ‘नागरिकता र राहदानी उपलब्ध गराउने व्यक्तिहरूको पनि अनुसन्धान हुन्छ। सम्बन्धित निकायमा जानकारी गराइएको छ।’
दावाले जिल्ला प्रशासन कार्यालय काभ्रेबाट नेपाली नागरिकता लिएको पाइएको हो।
सिआइबीले यस प्रकरणमा ५० जनालाई प्रतिवादी बनाएको छ। जसमध्ये ६ जनालाई मुद्दा नचलाउने काठमाडौं सरकारी वकिल कार्यालयमा सिफारिस गरिएको छ।
३२ जना अहिले पक्राउ परेका छन्। १८ जना भने फरार छन्। सिआइबीले मुद्दा प्रतिवेदन बुझाउनुअघि सिआइबीले पत्रकार सम्मेलन गरी जानकारी गराएको थियो।
अहिले यसमा रेडी ट्रेड प्रालिले मात्रै ल्याएको सुनको मात्रै अनुसन्धान गरिएको सिआइबीको भनाइ छ।
एआइजी किरण बज्राचार्यले यसमा पूरक अनुसन्धान अघि बढाइने बताइन्। साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन बरामद गरेसँगै अघि बढेको यो अनुसन्धानले रेडी ट्रेड प्रालिले मात्रै कुल ३६२.७७८ किलोग्राम भित्र्याएको प्रहरीको अनुमान छ। त्यसअनुसार नै सिआइबीले ३ अर्ब ५० करोड २ लाख १६ हजार ५५२ रुपैयाँ बिगो मागदाबी गरेको छ।
यस प्रकरणमा सात वटा कसुरको मुद्दा चल्ने सिआइबीको राय छ।
प्रहरीले भन्सार ऐन २०६४ को दफा ५७ (१) (घ) को १ (ख), संगठित निवारण ऐन २०७०, नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ९५ र मुलुकी अपराध संहिता २०७४ को दफा ४३ को एकीकृत कसुरमा मुद्दा चलाउन सिफारिस गरेको हो।
नेपाल नागरिकता ऐन २०६३, राहदानी ऐन २०७६ र अध्यागमन ऐन २०४९ अनुसार भने अनुसन्धान गर्न सम्बन्धित निकायलाई सिफारिस गरिने सिआइबीले जनाएको छ।
यी पनि: