हिमालपारिको जिल्ला भनेर चिनिने हुम्लाको सदरमुकाम सिमकोट अझै पनि राष्ट्रिय सडक सञ्जालमा जोडिन सकेको छैन। सिमकोटलाई राष्ट्रिय सडक सञ्जालमा जोड्न २४ वर्षअघिदेखि प्रयास जारी छ। कर्णालीका लागि समृद्धिको मार्ग भनिएको ‘कर्णाली करिडोर’ २०५६ सालमा शिलान्यास गरिएको थियो।
कर्णाली करिडोर निर्माणको काम २०७१ सालयता नेपाली सेनाको जिम्मामा छ। करिडोर अन्तर्गत कालीकोटको खुलालुबाट हुम्लाको सिमकोटसम्मको दूरी १९६ किलोमिटर छ। यसमध्ये १२३ किलोमिटर खण्डमा नेपाली सेनाले काम गरिरहेको छ।
कर्णाली करिडोरको निर्माण कहिले पूरा होला र राष्ट्रिय सडक सञ्जालमा हुम्ला कहिले जोडिएला भन्ने अझै प्रष्ट छैन। तर सडक सञ्जाल नपुगेको हुम्लामा बस चाहिँ पुर्याइएको छ। हुम्लाका व्यवसायीहरूले चीनको तिब्बततिरको बाटो हुँदै बस पुर्याएका हुन्। यही भदौ दोस्रो साता २५ सिट क्षमताका दुई वटा बस हुम्ला पुर्याइएका छन्।
ती बस ट्रकमा राखेर केरूङ नाकाबाट तिब्बतको बाटो ट्रकमा राखेर हिल्सा नाका पुर्याइएको हुम्लाका व्यवसायी विजय लामाले बताए। उनका अनुसार विदेशी नम्बर प्लेटका गाडी चीनको बाटोमा गुडाउन अनुमति नभएकाले ती बस ट्रकमा राखेर हुम्लाको नाकासम्म पुर्याइएका हुन्।
‘चीनको बाटोमा अर्को देशको नम्बर प्लेटका गाडी चलाउन नमिल्ने रहेछ। हामीले चीनकै ट्रकमा लोड गरेर ल्याएका हौं,’ उनले भने, ‘अहिलेलाई दुई वटा बस ल्याएका छौं। सडक मर्मत गरेर नियमितरूपमा चलाउने प्रयास गर्दै छौं।’
ती दुई वटा बस हिल्सा–सिमकोट सडक खण्डमा चलाउने तयारी हुँदैछ। तिब्बत जोड्ने नाका हिल्साबाट जिल्ला सदरमुकाम सिमकोटसम्म सडक बनिसकेको छ। हुम्ला क्षेत्रमा तिब्बतबाट सामान आयात हुने भएकाले सहजताको लागि उक्त सडक पहिले नै बनाइएको हो। ती बस चलाउन चालकहरू सुर्खेत हुँदै हुम्ला पुगेको लामाले बताए। सिमकोटबाट हिल्सासम्मको सडकको दूरी ९० किलोमिटर छ। सवारीसाधन एकतर्फी चलाउन सरदर ६ घण्टा लाग्छ। हाल हिल्साबाट नाम्खा गाउँपालिकाको डाँडाकेर्मी गाउँसम्म चल्दै छन्।
‘अहिले रूट परमिटको प्रक्रिया चलिरहेको छ, भाडा निर्धारण गर्न पनि बाँकी छ,’ लामाले भने, ‘तत्काल सडक सुधार्न बाँकी भएकाले हिल्सातर्फको केही भागमा बस चलाएका छौं। सडक केही ठाउँमा मर्मत गरेर सिमकोटसम्म चलाउने तयारी गर्दै छौं।’
हिल्सा–सिमकोट सडक खण्डसम्मको भाडा निर्धारण गर्ने र रूट परमिट लिने बारेमा व्यवसायीहरूबीच छलफल चलिरहेको उनले बताए।
हुम्लाका अधिकांश नागरिक कामको खोजीमा र व्यापारको सिलसिलामा तिब्बत जाने गरेकाले उनीहरूको आवतजावत सहज बनाउने उद्देश्यले चीनको बाटो भएरै पनि बस ल्याएको लामाले बताए।
‘कोही व्यापार गर्न जान्छन्। कतिपय मानिस काम खोज्न पनि तिब्बत जान्छन्। उनीहरूलाई जिपमा यात्रा गर्न भाडा महँगो पर्छ,’ उनले भने, ‘नियमितरूपमा बस सञ्चालन गरेर कम पैसामा यात्रा गराउन यहाँका जनताको सल्लाहअनुसार बस ल्याएका हौं।’
हुम्लाका बासिन्दालाई तिब्बत जान भिसा चाहिँदैन। जिल्ला प्रशासन कार्यालयबाट पास (अनुमतिपत्र) लिएर उनीहरू तिब्बत प्रवेश गर्न पाउँछन्।
सिमकोटबाट हिल्सासम्मको सडक कहिलेकाहीँ अवरुद्ध हुने गरे पनि तत्कालै मर्मत गरेर नियमित बस चलाउन सकिने लामाले बताए। त्यो सडक खण्डमा सिमकोट र नाम्खा गाउँपालिका पर्छन्। सिमकोट–हिल्सा खण्डमा नियमितरूपमा बस चलाउन सके जिपमा यात्रा गर्दा हुने खर्च कम हुने नाम्खा गाउँपालिकाका उपाध्यक्ष तक्दिर लामाको भनाइ छ।
‘अहिले यो क्षेत्रमा जिपहरू चल्छन्। ती जिपमा यात्रा गर्न रिजर्भ नै गर्नुपर्ने हुन्छ,’ उनी भन्छन्, ‘सक्नेले एक्लै रिजर्भ गर्छन्। एक्लै नसक्नेले समूह बनाएर रिजर्भ गर्नुपर्छ। बस नियमित चल्यो भने जति यात्रु भए पनि उनीहरूले निर्धारित भाडा तिरेर यात्रा गर्न पाउँछन्।’
उपाध्यक्ष लामाका अनुसार हुम्लाको सिमकोटबाट तिब्बततर्फ पर्ने नाम्खा गाउँपालिकाको केन्द्र याल्वाङसम्म पुग्न जिपमा चार घण्टा लाग्छ। त्यहाँसम्मका लागि रिजर्भ गर्दा जिपले २५ हजार रुपैयाँ लिन्छ। याल्वाङदेखि हिल्सा पुग्न पनि त्यति नै पैसा लाग्छ।
सिमकोटबाट हिल्सा पुग्न जिप रिजर्भ गर्नुपर्यो भने एकतर्फी नै ४०–५० हजार रुपैयाँ लाग्छ। समूहले रिजर्भ गर्दा प्रतियात्रु कम्तीमा पाँच हजार रुपैयाँ पर्छ।
सिमकोट, नाम्खा र आसपासका बासिन्दाहरू कामको खोजीमा चीनको तिब्बत जाने र व्यापारीहरू पनि नियमित आवतवात गर्ने भएकाले बस सञ्चालन हुँदा सहज हुने उपाध्यक्ष लामाको विश्वास छ।
‘बस नियमित चल्यो भने भाडादर सस्तो हुन्छ। यसले यहाँका नागरिकलाई आर्थिक भार कम पर्छ,’ उनी भन्छन्, ‘जिप रिजर्भ नै गर्नुपर्ने भएकाले महँगो पर्न जान्छ। बस नियमित चल्यो भने त भाडा जिपको भन्दा निकै कम हुन्छ।’
अर्का व्यवसायी विजय लामाका अनुसार अहिले हुम्लाको सिमकोटबाट हिल्सासम्म १५ वटा जिप चल्छन्। यीमध्ये धेरै जसो जिप हेलिकप्टरबाट पुर्याइएका हुन्। केही जिप ट्रकमा राखेर तिब्बतकै बाटो हुँदै पुर्याएका हुन्। एउटा जीप पुर्याउन नेपाली सेनाको हेलिकप्टरमा १० लाख रुपैयाँ खर्च लागेको व्यवसायीहरूको भनाइ छ।
अहिले हुम्ला लगिएका ती बस त्यहीँका व्यवसायी फुन्जोक लामाले किनेका हुन्। उनका अनुसार बस पुर्याउन प्रतिबस सात लाख रुपैयाँ खर्च भएको छ।
बसको इन्जिन भारतबाट ल्याइएको हो। थप संरचना सुर्खेतमा निर्माण गरिएको हो। दुई वटा बसको खरिद मूल्य लगभग एक करोड रुपैयाँ रहेको बसधनी लामाले बताए। बस ‘हिल्सा पब्लिक यातायात प्रालि’ अन्तर्गत चल्नेछन्।
अहिलेसम्म राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको एक मात्र जिल्ला सदरमुकाम सिमकोट हो। हुम्ला सदरमुकाम जोड्ने कर्णाली करिडोरको सडकरेखा खोल्ने काम करिब १५० मिटर चट्टाने भिरमा पुगेर अड्किएको छ।
हाल नेपाली सेनाले हुम्लाको ग्युसीबाट लालीबगरसम्मको ११ किलोमिटर खण्डमा काम गरिरहेको छ। यो खण्डमा चट्टाने भिर छोडेर ८३ प्रतिशत भौतिक प्रगति भएको जनाइएको छ। करिडोरको सडकरेखा पूरा भएको क्षेत्रमा पर्ने हुम्लाका ताँजाकोट, अदानचुली, चंखेली र सर्केगाड गाउँपालिकामा आंशिकरूपमा सवारीसाधन चल्छन्। यी स्थानीय तह राष्ट्रिय सडक सञ्जालमा जोडिएको मानिएको छ।