सुन्धारास्थित धरहराबाट भोटेबहाल निस्कने गल्लीमा रहेको बाग गुठीबारे हामीले पाँच वर्षअघि एउटा स्टोरी गरेका थियौं। (हेर्नुहोस्: दुई सय वर्षदेखि बन्द बागदरबारको त्यो ढोका)
त्यहाँ अहिले वरिपरि जस्ताले बेरेर निर्माण कार्य भइरहेको छ। फलामे छडहरू आकाशतर्फ ठडिएको बाहिरबाटै देखिन्छ। भित्र छिर्न जस्ताको ढोका बनाइएको छ।
गत बिहीबार हामी त्यहाँ भइरहेको निर्माण हेर्न गएका थियौं, तर सुरक्षाकर्मीहरूले कसैगरी भित्र छिर्न दिएनन्।
राधाकृष्ण मन्दिरको ठ्याक्कै अगाडि सडकछेउ रहेको यो गुठी कुनै बेला बागदरबारकै हिस्सा थियो। अमरसिंह थापाले निर्माण सुरू गरेको बागदरबार पहिले यो गल्लीसम्मै फैलिएको थियो। राणाकालीन दरबारका अवशेष बाँकी नभए पनि यो गल्लीलाई अझै 'बागदरबार मार्ग' भनिन्छ।
पाँच वर्षअघि हामी पुग्दा बाग गुठी अगाडिको सतल आधा जमिनमुनि भासिएको थियो। कुनै समय सडक तहमै रहेको उक्त सतल सडक अग्लिँदै जाँदा मुनि परेको स्थानीयले बताएका थिए।
त्यही सतलमा रहेको होचो ढोकाभित्र फराकिलो चोक थियो। चोकको बीचमा तलेजु मन्दिर थियो। चारैतिर सतल थियो। गुठीको दायाँतर्फ दुईतले सतलको पहिलो तलाका तीन ढोकामा कलात्मक आँखा बनाइएका थिए। यी आँखालाई यहाँको द्वारपाल मानिन्छ। तान्त्रिक एवं साधकहरूले कुदृष्टि रोकेर साधनामा लीन हुन यस्ता आँखा बनाउने गर्छन्।
तीन ढोकामध्ये एउटा ढोका अरूभन्दा फरक थियो। ढोकाको दायाँ–बायाँ मूर्ति कुँदिएका ढुंगाका सिलोट थिए। ढोकामा दुई आँखामुन्तिर एउटा खापामा ॐ र अर्कोमा स्वस्तिक चिह्न थियो। माथिल्लो भागमा काठको स्तुप आकार बनाइएको थियो। त्यसमा कलात्मक बुट्टा कुँदिएका थिए। टम्म खापा लागेका त्यो ढोकामा बाहिर कुनै चुकुल थिएन। भित्र छिर्ने अरू ठाउँ पनि थिएन।
प्राध्यापक एवं बुकहोलिक्सकी संस्थापक सगुना शाहले त्यही ढोका देखाउँदै हामीसँग भनेकी थिइन्, 'यो बन्द ढोकापछाडि लुकेको छ, दुई सय वर्षदेखिको बागदरबार इतिहास।'
उनका अनुसार यो ढोकाबाट अन्तिमपटक दुई सय वर्षअघि राजकुमार उपेन्द्र वीरविक्रम शाह भित्र प्रवेश गरेका थिए। उनी तान्त्रिकसमेत हुन्।
तत्कालीन राजा सुरेन्द्र वीरविक्रमका दाजुभाइमध्ये उपेन्द्र माइला थिए। त्यसैले उनी 'माइला साहेबज्यू' का नामले परिचित थिए। उनलाई तत्कालीन राणा शासकहरूले राजालाई दरबारमा बन्धक बनाएको चित्त बुझेको थिएन। उनको एउटै उद्देश्य थियो– राणाशासन अन्त्य।
यसैका लागि उनले तन्त्रविद्याको सहारा लिएको भनाइ छ।
तन्त्रविद्या पाएका उपेन्द्रको शक्तिको चर्चा दरबारभरि थियो। उनी आफ्नै छातीको मासु काटेर भगवानलाई चढाउँथे भनिन्थ्यो। काटिएको मासु भोलिपल्ट आफैं पलाउँथ्यो भन्ने पनि जनविश्वास थियो।
मान्छे भन्थे – उनी दियो बनेर उड्थे। एक ठाउँबाट अर्को ठाउँ अदृश्य भएर पुग्थे। देवीदेवतालाई 'पासा' खेल्न तलेजु भवानीको मन्दिरमा बोलाउँथे।
उपेन्द्र आफ्नो तन्त्रविद्या लगायत सम्पूर्ण कार्यविधि यही कोठाभित्र गर्थे। त्यति बेला यो बागदरबारकै परिसरमा पर्थ्यो।
दुई सय वर्षअघि एकदिन उनी सधैंझैं कोठाभित्र छिरेका थिए। त्यसपछि कहिल्यै बाहिर निस्केनन्।
उपेन्द्र शाह परिवारकी सगुना शाहले भनिन्, 'हामी बागदरबारमै माइला साहेबज्यूका यस्ता कथा सुन्दै हुर्कियौं। केटाकेटी बेला रहस्यमयी ढोकाभित्र के छ होला भनेर चिहाउँथ्यौं। भित्र केही देखिँदैन थियो। ढोकामा सानो प्वाल छ। त्यहाँबाट चिहाउँदा पनि केही देखिन्न।'
बाग गुठीमा रहेको यो कोठा मात्र होइन, चोकको बीचमा रहेको तलेजु भवानीको मन्दिर पनि विशेष छ। यो मन्दिर राजकुमार उपेन्द्रले नै प्रतिस्थापन गरेको जनविश्वास छ। हनुमानढोकाको तलेजु भवानीलाई उपेन्द्रले तन्त्रविद्यामार्फत् हातमा बोकेर यहाँ स्थापना गरेको मानिन्छ। यो मन्दिर एकतले छ।
१९९० को भुइँचालोअघि भने यो मन्दिर तीनतले थियो। भुइँचालोमा भत्किएर एकतले भयो। त्यसपछि पुनर्निर्माण भएको छैन।
अहिले यो बाग गुठीको स्वरूप पूरै फेरिएको छ। न यहाँ आधा जमिनमुनि भासिएको सतल छ, न होचो ढोका।
सुरक्षाकर्मीले भित्र छिर्न नदिएपछि हामीले नजिकैको एउटा होटलमा उक्लेर त्यहाँ भएका निर्माण गतिविधि हेरेका थियौं।
हामीले देख्यौं – बाग गुठीमा तीनतिरकै सतल भत्काएर कंक्रिटको आधुनिक संरचना निर्माण भइरहेको थियो। उपेन्द्र शाह भित्र पसेर बाहिर ननिस्किएको कोठा भएको सतल भने जस्ताको त्यस्तै थियो। तल भूमिगत संरचनासमेत निर्माण गरिएको थियो।
तेइस वर्षदेखि बाग दरबार क्षेत्रमा होटल व्यवसाय गरिरहेका किशोर भट्टराईले हामीसँग भने, 'निर्माण सुरू गर्दा पहिले जस्तो थियो, त्यस्तै बनाउने भन्ने सुनेको थिएँ। अहिले एकाएक कंक्रिट भवन बनिरहेको देख्दा हामीलाई पनि अचम्म लाग्यो।'
उनले अगाडि भने, 'उनीहरू काम पनि राति राति गर्छन्। चारैतिरका घरवालासँग सरोकार नराखी काम गरिरहेका छन्। बाटो क्षतविक्षत भएको छ। यहाँको निर्माण कार्य हेर्दा केही व्यक्तिले आफ्नो निजी फाइदाका लागि संस्थानको जग्गाबाट कमाउन खोजेजस्तो लागिरहेछ।'
त्यहाँबाट फर्किनेबित्तिकै हामीले सगुना शाहलाई सम्पर्क गर्यौं। उनी उपेन्द्र शाह परिवारकी सदस्य मात्र नभई बाग गुठीको जिम्मेवार गुठीयार पनि हुन्।
हामीले उनलाई बाग गुठीको स्थितिबारे बताउँदा उनले आफू यस विषयमा जानकार भएको बताइन्।
उनका अनुसार गुठीमा आबद्ध तीन जना गुठीयार छन् – उनकी आमा, हजुरआमा र ठूलोबुवाका छोरा (दाइ)। तीनमध्ये गुठीसँग जोडिएका सबै काम ठूलोबुवाका छोराले गर्छन्।
'दुई–तीन वर्षअघि दाइ केही कागजात लिएर मेरी आमालाई भेट्न आउनुभएको थियो। आमाले त्यस्तो कुनै कागजातमा सही गर्दिनँ भनेर अडान लिनुभएको थियो,' उनले भनिन्, 'यो राज गुठीअन्तर्गत पर्ने भएकाले हामीलाई भोगचलन गर्ने अधिकार छ। हामीले बेचबिखन भने गर्न पाउँदैनौं। त्यहाँ केही बनाउन लागेको हो भने मेरी आमाको पनि सहमति लिनुपर्ने हो। तर उहाँले कुनै सहमति लिनुभएको छैन।'
उनले यो पनि भनिन्, 'यहाँ जे भइरहेको छ, त्यो एकदमै गलत छ। महानगरको नाकैमुनि यस्तो काम भइरहँदा उहाँहरू जस्तो जिम्मेवार निकायले हेर्नुपर्ने होइन?'
सगुनापछि हामीले उनको ठूलोबुवाका छोरा विनयविक्रम शाहलाई सम्पर्क गर्यौं।
'हामीले पुरातत्व विभाग र गुठीको सहमतिबिना यहाँ कुनै निर्माण गर्न पाउँदैनौं,' उनले भने, 'उनीहरूबाट सहमति पाएर नै यहाँ निर्माण गरेका हौं।'
गुठी र पुरातत्व विभागबाट के यस्तै कंक्रिट संरचना निर्माण गर्न सहमति भएको थियो?
हाम्रो यो प्रश्नमा उनले भने, 'भित्र कंक्रिट भए पनि बाहिर दाचीअप्पा (प्राचीन इँटा) हालेर पुरानै स्वरूपको बनाउने हो।'
भूमिगत संरचनाको विषयमा उनले भने, 'सतलको स्वरूप बलियो बनाउन भूमिगत संरचना बनाउन लागेका हौं।'
विनयविक्रमले यहाँ कुनै व्यापारिक भवन नभई सतल नै बनाउन लागेको दाबी गर्दै भने, 'हामीले आफ्नै पैसा खर्च गरेर बनाउन लागेका हौं। आफूले भोगचलन गरेर पछि गुठीलाई नै छाड्ने हो।'
गुठी संस्थानका प्रशासक किरण शाक्यका अनुसार गुठी संस्थानले बाग गुठीलाई सतल निर्माण गर्न सैद्धान्तिक सहमति दिएको हो। त्यहाँ के–कस्तो निर्माण गर्ने र कस्तो नक्सा बनाउने भन्ने जिम्मा महानगरको भएको उनले बताए।
महानगरले भने बाग गुठीमा बनिरहेको संरचनाबारे आफू अनभिज्ञ रहेको बताउँदै त्यसबारे जानकारी गराउन पुरातत्व विभागलाई एक महिनाअघि पत्राचार गरेको छ।
'हामीले बाग गुठीलाई त्यस हिसाबको निर्माण गर्न सहमति दिएका छैनौं,' पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरले उक्त पत्रबारे ध्यानाकर्षण भएको बताउँदै भने, 'यो काम हाम्रो सहमतिविपरीत भएको भनेर तत्काल रोक्का गर्न महानगरपालिकालाई पत्राचार गरेका छौं। बाग गुठीलाई पनि तत्काल काम रोक्का गर्दै छलफलमा आउन पत्राचार गर्दैछौं।'
उनले अगाडि भने, 'हामीले उनीहरूलाई विभागको विज्ञको उपस्थितिमा संरक्षण अघि बढाउन सहमति दिएका थियौं। उहाँहरूले भने हामीलाई खबर नै नगरी निर्माण गराइरहनुभएकाले तत्काल काम रोक्का गर्न लागेका हौं।'