काठमाडौं महानगरपालिकाले कपनको खहरे खोला खोतलेर छोड्दा पानी परेपछि स्थानीयको जनजीवन अस्तव्यस्त बनेको छ।
बिहीबार परेको पानीले काठमाडौं महानगरपालिका र बुढानीलकण्ठ नगरपालिकाबीच सिमानामा पर्ने कपनको खहरे खोलाछेउका बिजुलीका पोलहरू ढलेका छन्।
काठमाडौं महानगरले साउन २५ गते कपनको साततलेमा खोला खोतल्ने भन्दै डोजर लिएर गएको थियो। बुढानीलकण्ठ नगरपालिकासँग समन्वय नगरी कपनको मिलनचोकस्थित खहरे खोला खोतल्न पुग्दा स्थानीय र नगर प्रहरीबीच झडप भएको थियो।
काठमाडौं महानगरले अहिले मिलनचोकसम्म डोजर लगाएर खोला खोतलेर मात्रै छोडेको छ। खोला खोतलिएका क्षेत्रका घरहरू जोखिममा छन्। यस्तै घर जाने बाटो नहुँदा दैनिकी कष्टकर भइरहेको स्थानीय बताउँछन्।
हिजो राति परेको पानीले विभूति प्रज्ञा निकेतन स्कुलको कम्पाउण्डमा बिजुलीको पोल ढल्यो। पोल ढलेपछि विद्यार्थीलाई विद्यालय आऊजाऊ गर्न समेत कठिनाइ भएको विद्यालयका प्रधानाध्यापक भीष्मराज ढकाल बताउँछन्।
'यहाँको बाटो भत्किएपछि छिमेकीको घरको गेट प्रयोग गरी विद्यार्थीहरू विद्यालय आऊजाऊ गरिरहेका छन्,' उनले भने, 'विद्यालय नै अर्काको घरको बाटो प्रयोग गरी आउन परेपछि कठिन हुन्छ। अब विद्यालय सार्ने योजना बनाउँदै छौं।'
स्थानीयका अनुसार बिजुलीको पोल ढलेसँगै त्यहाँ बिजुली छैन।
ढलेको पोल उठाउन विद्युत प्राधिकरणका कर्मचारी आएपनि कुन पालिकामा पोल गाढ्ने भन्ने विषयमा कुरा नमिलेपछि कर्मचारी त्यसै फर्किएको एक स्थानीयले बताए।
'काठमाडौं महानगरको र बुढानिलकण्ठको पोल एकअर्का पालिकामा ढलेका छन्,' ती स्थानीयले भने, 'बुढानिलकण्ठमा खसेको पोल उतै गाड्न त्यहाँ जमिन छैन। यताको नगरपालिकाका स्थानीयले नदिने भनेपछि प्राधिकरणका कर्मचारी काम नगरी फर्किए।'
काठमाडौं महानगरले खोला खोतलिदिएपछि केही स्थानीयले खोलामा परेको घर आफैं भत्काउँदै छन्। केहीले मुआब्जा आएपछि मात्रै भत्काउने बताएका छन्।
केही ठाउँमा घर जाने बाटो समेत नराखी काठमाडौं महानगरले खोला खोतलेपछि उनीहरू आफैंले बाँसको अस्थायी पुल बनाएर आवतजावत गरिरहेका छन्।
शुक्रबार बिहान कपन खोला वरपर देखिएको दृश्य: