आरती साहको न्याय मान्दै धर्ना बसेका परिवारले माइतीघर मण्डलमा कपाल कपाल मुण्डन गरेका छन्।
८५ दिनदेखि धर्ना बस्दै आएका उनका परिवारले शुक्रबार बिहान कपाल मुण्डन गरेका हुन्।
कपाल मुण्डन गरेर पीडितका लागि सरकार नभएको वा न्याय मरिसकेको सन्देश दिन खोजिएको आरतीका दाजु प्रेम साह बताउँछन्।
'हिन्दु धर्म अनुसार मरिसकेको मान्छेको कपाल खौरिएर श्राद्ध गर्ने चलन छ। त्यस्तै हाम्रो लागि न्याय मरेको छ,' उनले भने।
प्रेमसँगै उनका बुवा (बिनोदप्रसाद) र माइती पक्षका दाजुभाइले कपाल खौरिएका छन्।
उनीहरूले उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेको १० दिन भएको र न्यायको लागि पहल नगरेको भन्दै कपाल खौरिएको बिनोदप्रासाद शाहले जानकारी दिए।
'गृहमन्त्रीलाई भेट्दा उहाँले न्याय दिनुभन्दा माइतीघरबाट उठ्नका लागि आग्रह गर्नुभयो,' उनले भने।
यसरी सम्बन्धित निकायले पनि घटनामा चासो नदेखाएपछि कपाल खौरिएर जनताका लागि सरकार मरेको सन्देश दिन खोजेको उनले बताए।
धनुषाकी २२ वर्षीया आरती साह जेठ ७ गते श्रीमानको घरमा झुण्डिएको अवस्थामा भेटिएकी थिइन्। माइती पक्षले हत्या भएको दाबी गर्दै निष्पक्ष छानबिन गर्न प्रहरी कार्यालय पुग्दा उनीहरूमाथि नै कुटपिट भएको आरोप छ।
न्याय दिनका लागि सहयोगी भूमिकामा खटिएका प्रहरीले गरेको दुर्व्यवहार र आरतीले न्याय पाउनुपर्ने भन्दै असार १ गतेदेखि माइतीघर मण्डलामा धर्ना बसेका छन्।
तस्बिरहरू:
पढ्नुस् : २२ वर्षे छोरीको मृत्युपछि दिनरात सडकमा बसेर न्याय मागिरहेकाहरू