वरिष्ठ कलाकार प्रकाश घिमिरे तीन दिनसम्म प्रधानमन्त्री बनेर पोखरा परिक्रमा गरे। प्रधानमन्त्री बनेर घोडामा सहर घुम्दा पनि उनलाई सत्तामा पुगेको अनुभूति भएन। किनभने उनका पछाडि राजारानी घोडामै सवार थिए।
'राजतन्त्रमा प्रधानमन्त्रीभन्दा राजाले नै बढी महत्त्व पाउने रहेछ,' उनले भने, 'अहिले गणतन्त्रको प्रधानमन्त्री जस्तो अनुभव भएन।'
प्रधानमन्त्री बनेर राजारानीको अगाडि घोडा सवार गर्नुभन्दा बढी भूमिका घिमिरेको थिएन पनि। राजारानीको सवारीमा मानसम्मानका लागि मात्र प्रधानमन्त्रीको सवारी थियो। तर तीन दिन यसरी घोडामा सहर डुल्दा छुट्टै अनुभूति भएको उनले बताए।
'मान्छेहरू हिँडेका छन्, म प्रधानमन्त्री बनेर घोडामा छु। हिँड्ने मान्छेलाई घोडा चढ्न पाएको छ जस्तो लाग्ला,' उनले भने, 'तीन दिनसम्म घोडा चढ्न निकै गाह्रो हुँदो रहेछ। बडो रमाइलो पनि भयो।'
पोखरामा सोमबारदेखि सुरू 'बाघजात्रा' मा घिमिरे प्रधानमन्त्रीको भूमिकामा घोडासवार गरेका हुन्। उनका पछाडि राजा र रानीका छुट्टाछुट्टै घोडा थिए। उनीहरूले साँच्चै राजारानी भएजस्तो अनुभूति गरेको सुनाए।
जात्रामा राजाको भूमिकामा जितेशमान गुभाजू र रानीको भूमिकामा शिवानी गुभाजू थिए।
'राजालाई जनताले माया दिँदा रहेछन्। सम्मान पनि पाएँ,' राजा बनेका जितेशमानले भने, 'राजा नभए पनि राजाजस्तो अनुभूति भयो।'
रानी बनेकी शिवानीको अनुभव पनि यस्तै छ।
'बाटोमा मान्छेहरूले फूलमाला दिए। एकदम सम्मान गरे,' उनले भनिन्, 'रानी बनेको अनुभूति जीवनभर बिर्सिन्नँ।'
पोखरामा २३ वर्षपछि आयोजित बाघजात्रा बुधबार समापन भएको छ। पोखरा रंगशालामा बाघलाई राजाले गोली हानेर मारेसँगै बाघजात्राको समापन गरिएको हो। बाघको भूमिकामा रहेका सुरेश साही २३ वर्षअघि पनि जात्रामा सहभागी थिए। त्यति बेला शिकारी बनेका शाही यसपालि बाघको भूमिकामा देखिए।
'२०५७ सालमा शिकारी बनेको थिएँ, यसपालि बाघ बनेँ,' उनले भने, 'शिकारीबाट जोगिने र आफूलाई आक्रमण गर्न आउनेलाई आफूले पनि आक्रमण गर्नुपर्ने भूमिका निर्वाह गरेँ।'
बाघजात्रामा राजा, रानी, प्रधानमन्त्री, नेवार राजा र रानी, मुस्ताङे राजा र रानी, सेनापति, जनता, शिकारी, यमराज, कुमारी, लाखे, हनुमान लगायत एकै ठाउँमा देखिन्छ। धेरै जात्राहरू मिलेर बनेको बाघजात्रा जात्राहरूको पनि महाजात्रा भएको संस्कृतिकर्मी जवाहरलाल श्रेष्ठ बताउँछन्।
'नेवारका सबैजसो जात्रा बाघजात्रामा देख्न सकिन्छ,' उनले भने, 'त्यही भएर बाघजात्रालाई जात्राहरूको महाजात्रा भन्न सकिन्छ।'
बाघजात्राको सुरूआत कहिलेदेखि भयो भन्ने यकिन तिथि छैन। काठमाडौं उपत्यकामा बाघजात्रा नमनाए पनि पोखरा लगायत केही स्थानमा मनाइने श्रेष्ठले बताए।
गाउँघरमा बाघले दुःख दिन थालेपछि जनताले राजाकहाँ बिन्ती बिसाउन जान्छन्। बाघ घरपालुवा पशुपन्छी मात्र नभई मान्छेमाथि पनि जाइलाग्न थालेपछि राजाले सिंगो संयन्त्र परिचालन गरेर बाघ मारेको कथा बाघजात्रामा देखिने अर्का संस्कृतिकर्मी सुनील उलकले बताए।
उलकका अनुसार बाघले सताएका गाउँले हिँडडुल गर्न पनि नसक्ने अवस्थामा पुग्छन्। कति बेला बाघको आहारा बन्ने हो थाहा हुँदैन। बाघले दिएको दुःख हरण गर्न बाघ मार्ने योजना राजाले बनाउँछन्। त्यसका लागि राजा आफैं बन्दुक बोकेर सरिक हुन्छन्।
राजा र रानी नै बाघ मार्न निस्केपछि प्रधानमन्त्री पनि अघि लाग्छन्। प्रधान सेनापति, सेना लगायत राज्यका सबै संयन्त्र यो अभियानमा सहभागी हुन्छन्। राजा बाघ मार्ने योजना लिएर सारा शक्ति लिएर आएको देखेपछि जनता पनि अघि सर्छन्। कोही शिकारी बनेर त कोही गाउँले बनेर। गाउँमा नाचिने नाचगान र बाजागाजा बजाउँदै गाउँले निस्किन्छन्। बाघलाई आकर्षण गर्ने र लठ्याउने बाजाको ताल पनि उनीहरूसँगै हुन्छ।
पोखरामा तीन दिनको बाघ जात्रामा सोमबार र मंगलबार बाघलाई बाटो छेक्न ठाउँठाउँमा किला गाडेर सिमाना छुट्ट्याइन्छ। तेस्रो दिन पोखरा रंगशालामा जात्रा पुग्छ जहाँ बाघलाई घेरा हालिन्छ।
शिकारी र सेनाको समूहले बाघलाई सानो घेरामा सीमित पारिदिन्छ। संगीतको तालमा झुमिरहेका बाघले आफू घेराभित्र परेको पत्तै पाउँदैन। यत्तिकैमा बाघ पनि घेरा तोडेर बाहिर जान सफल हुन्छ।
संगीतको सुरसँगै फेरि बाघ त्यही घेरामा प्रवेश गर्छ। एक जना शिकारीलाई आक्रमण गरेर ढलाउँछ। सेनापतिको आदेशमा बाघलाई जालीको घेराभित्र पार्न सफल हुन्छन्। त्यत्तिकैमा राजाले गोली हानेर बाघ मारिदिन्छन्।
नरभक्षी बाघ मारेको खुसियालीमा सारा गाउँलेले अविरजात्रा गर्छन्। फेरि गाउँमा खुसियाली छाउँछ। मानिस र घरपालुवा जनावर सुरक्षित हुन्छन्। राजा, रानी, प्रधानमन्त्रीसहित राज्य संयन्त्रका सम्पूर्ण शक्ति आफ्नो पुरानो दैनिकीमा फर्किन्छन्।
यसरी पोखरामा बुधबार बाघजात्राको समापन गरिएको छ।
अब पाँच/पाँच वर्षमा यो जात्रा लगाउने ८१ वर्षीय संस्कृतिकर्मी एवं बाघजात्रा आयोजक समितिका अध्यक्ष जवाहरलाल श्रेष्ठले बताए। कहिलेदेखि यो जात्रा लागेको भन्नेबारे चाहिँ आफूलाई थाहा नभएको उनले बताए।
'मैले २०१४ सालमा हाम्रो भैरवटोलका बालकृष्ण भन्नेलाई राजा बनाएको थाहा छ। त्यसभन्दा अघि २००६ सालमा जात्रा निकालेका थिए रे,' उनले भने, 'कहिलेदेखि सुरू भयो भन्ने चाहिँ हामीलाई थाहा छैन।'
पोखरामा देखाइएको यस प्रकारको बाघजात्रा नेवारहरूको उद्गमभूमि मानिने काठमाडौं उपत्यकामा पनि देखाइँदैन। बाघजात्रामा घिन्ताङघिसी लिएर आएकी भक्तपुरका उपमेयर रजनी जोशीले यस्तो जात्रा उपत्यकाको तीनवटै नगरमा देख्न नपाइने बताइन्।
'बाघजात्रा काठमाडौं, भक्तपुर र ललितपुरमा देखिँदैन। पोखरामा यति रमाइलो गरेर मनाइने रहेछ,' उनले भनिन्, 'पोखरामा बाघ जात्रा मौलिक पर्व रहेछ जस्तो लाग्यो। जे होस्, जात्रा हुनु हाम्रो संस्कृति समृद्ध बन्नु हो।'
पोखराका संस्कृतिकर्मी सुनील उलकले पोखरामा नेवार आएपछि व्यापार बढाउन यस्तो जात्राको परिकल्पना भएको हुन सक्ने बताए। काठमाडौं उपत्यकाबाट २५० वर्षअघि तत्कालीन कास्की राज्यका राजाले पोखरामा २६ घर नेवार ल्याएका थिए। त्यति बेला आएका नेवारले भैरव नाच लगायत संस्कृति पनि ल्याएका थिए।
पोखरा आएका व्यापारीले व्यापार बढाउन नाटकका रूपमा बाघजात्रा निकालेको र पछि जात्राको रूपमा विकसित भएको हुन सक्ने उलकको अनुमान छ।
'उहिले उहिले पोखरामा बाघजात्रा लाग्दैछ भनेपछि अरू जिल्लाका मान्छे पनि राडीपाखी, घरमा बुनेका सामान लिएर आउँथे र पोखरामा बेच्थे,' उनले भने, 'गाउँका मान्छेले बजारबाट लत्ताकपडा, भाँडाकुँडा लगायत सामान लैजान्थे, दुइतर्फी व्यापार हुन्थ्यो।'
हेर्नुहोस् तस्बिरहरू