नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार गर्ने व्यक्ति पहिले पनि पक्राउ परिसकेको खुलेको छ।
बुधबार दिउँसो काठमाडौंको भृकुटीमण्डपमा सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
प्रहरीले नुवाकोट घर भएका र काठमाडौंको बालाजुमा बस्ने श्यामबहादुर* सापकोटालाई पक्राउ गरेको हो।
श्यामबहादुरलाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ। उनीमाथि अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
प्रहरीले उनको आपराधिक पृष्ठभूमि पनि केलाएको छ। त्यसबाट उनी पहिले पनि दुईपटक पक्राउ परिसकेको खुलेको प्रहरी स्रोतले बतायो।
श्यामबहादुर २०७८ सालमा दुईपटक पक्राउ परेका थिए। प्रहरी वृत्त बानेश्वर र प्रहरी वृत्त सोह्रखुट्टेबाट अभद्र व्यवहारको मुद्दा चलेको खुलेको हो।
पहिलोपटक बानेश्वरमा सरकारी कर्मचारीमाथि कालोमोसो दलेको आरोपमा उनीमाथि अभद्र व्यवहारको कसुरमा मुद्दा चलेको थियो।
त्यस्तै दोस्रोपटक प्रहरीसँग दुर्व्यवहार गरेको आरोपमा प्रहरी वृत्त सोह्रखुट्टेले पक्राउ गरी अभद्र व्यवहारको मुद्दा चलाएको थियो।
अहिले तेस्रोपटक भने श्यामबहादुर गम्भीर कसुरको मुद्दामा पक्राउ परेका छन्।
स्रोतका अनुसार प्रहरीले उनको घरमा खानतलासी लिएको छ। उनीबारे थप कुरा थाहा पाउन प्रहरीले फोन पनि बरामद गरी अनुसन्धान गरिरहेको छ।
उनले आफू हिन्दु राष्ट्र पक्षधर र राजावादी भनेर चिनाएका छन्। उनले नेता यादवमाथि खुकुरी प्रहार गर्नुको कारण भने खुलिसकेको छैन।
कांग्रेस सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार गरेपछि श्यामबहादुरले 'एमसिसी खारेज गर, राष्ट्रियता जिन्दावाद, हिन्दु राष्ट्र कायम गर' जस्ता नारा लगाएका थिए।
साथै उनले 'मानव तस्करलाई प्रधानमन्त्री बनाउन खोज्ने?' भन्दै प्रश्नसमेत गरेका थिए। श्यामबहादुरको साथबाट प्रहरीले खुकुरी पनि बरामद गरेको छ।
बुधबार सार्वजनिक बिदा भएकाले प्रहरीले उनीमाथि बिहीबार काठमाडौं जिल्ला अदालतबाट म्याद थपेर अनुसन्धान गर्ने तयारी गरेको छ। प्रहरीले उनीमाथि ज्यान मार्ने उद्योग कसुरमा म्याद थप्ने तयारी गरेको हो।
नेता यादव रिपोर्टर्स क्लबमा साक्षात्कार कार्यक्रममा सहभागी भएका थिए। यादवले करिब १७ मिनेट भाषण गरिरहँदा श्यामबहादुर पनि त्यहाँ कुर्सीमा बसेर सुनिरहेका थिए।
यादवले चिनियाँ राजदूत छन सोङले नेपाल-भारत व्यापारका विषयमा दिएको पछिल्लो अभिव्यक्तिमा आपत्ति जनाएका थिए। राजदूत सोङलाई नेपाल सरकारले तत्काल स्पष्टीकरण सोध्नुपर्ने उनले बताएका थिए।
चीनले हालै जारी गरेको नक्सामा नेपालको भू-भाग लिम्पियाधुरा, लिपुलेक र कालापानीसमेत नसमेटेकोमा पनि उनले आपत्ति जनाए।
'चीनले हाम्रो चुच्चे नक्सालाई किन नक्सामा देखाएन?,' उनको प्रश्न थियो।
सहमहामन्त्री यादवले बोलेको अर्को विषय थियो- नक्कली भुटानी शरणार्थी प्रकरण। यो प्रकरणमा जेलमा रहेका कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाण निर्दोष रहेको उनको दाबी थियो। तर सरकारले आफ्ना मानिस बचाउने र अर्को पार्टीका नेतालाई फसाउने काम गरेको दाबी उनले गरेका थिए।
उनले गठबन्धन सरकारबारे पनि केही बोले। यही गठबन्धनले पाँच वर्ष सरकार चलाउने उनको भनाइ थियो। तर प्रधानमन्त्री भने परिवर्तन हुने उनले बताएका थिए।
अहिले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री रहेको, यसपछि नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री हुने र त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने सहमति रहेको उनले बताए।
रिपोर्टर्स क्लबको साक्षात्कारमा राप्रपा महामन्त्री धवलशमशेर राणा र पूर्वराजदूत विजयकान्त कर्णले पनि बोलेका थिए।
कार्यक्रम सकेर यादव निस्किएपछि श्यामबहादुरले उनलाई पछ्याएका थिए। बाहिर पुगेपछि श्यामबहादुरले पछाडिबाट खुकुरी निकालेर यादवको टाउकोमा प्रहार गरेका थिए। खुकुरी प्रहारबाट यादवको पछाडिपट्टी टाउको र गर्धनमा चोट लागेको छ।
घटना भएपछि नेता यादवलाई कार्यकर्ताहरूले तत्कालै गाडीमा राखेर सवा २ बजे राष्ट्रिय ट्रमा सेन्टरमा पुर्याएका थिए। हाल उनको आइसियुमा उपचार भइरहेको छ। उनको स्वास्थ्य अवस्था स्थिर रहेको ट्रमा सेन्टरले जनाएको छ।
*सच्याइएको