प्रोजेक्ट सारंगी फाउण्डेसनले सारंगी सिक्नेहरूका लागि तीन महिने तालिम सुरू गरेको छ।
फाउण्डेसनले काठमाडौं उपत्यकाका ६ नगरपालिकाका विभिन्न सरकारी विद्यालयमा गएर तालिम सिकाउने गर्ने गरेको हो।
फाउण्डेसनले कीर्तिपुर, दक्षिणकाली, मध्यपुर ठिमी, सूर्यविनायक, चाँगुनारायण, महालक्ष्मी ६ सरकारी विद्यालयका दश छात्र/छात्रालाई सारंगी सिकाउने गर्दै आएको छ। सिक्न प्रेरित गर्नका लागि फाउण्डेसनले ती विद्यार्थीलाई एक/एक सारंगी दिएको छ।
कार्यक्रमका संयोजक किरण नेपालीले यस परियोजनाले परम्परागत संगीतप्रति गर्व र सम्मान उत्पन्न गर्दै सारंगीलाई अर्को पुस्तामा हस्तान्तरण गर्न सहयोग पुर्याउने विश्वास गर्छन्।
‘यस परियोजनाको लक्ष्य स्थानीय परम्परागत सारंगी, जसले नेपाली संस्कृतिमा गहिरो ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको छ, त्यसलाई आगामी भविष्यका लागि सुनिश्चित गर्नु हो’, उनले भने।
यस्ता कार्यक्रमले आफूहरूलाई आफ्नो संस्कृतिसँग नजिक बनाएको बताउँछन् सहभागी विद्यार्थीहरू। आफूहरूलाई परिवारले समेत हौसला प्रदान गरेको उनीहरू बताउँछन्।पहिला सारंगीबारे थाहा नभए पनि अहिले भने थाहा भएको उनीहरू बताउँछन्।
असारदेखि सुरू भएको उक्त कार्यक्रम तीन महिना सञ्चालन हुने बताइएको छ।