नेपालका सबैजसो राजनीतिक र मानवअधिकार आन्दोलनको पोखराबाट नेतृत्व गरेका टेकनाथ बरालको मंगलबार ८४ वर्षको उमेरमा निधन भएको छ। उनको निधनमा पोखराका सबैजसो राजनीतिक दलका नेता र सामाजिक कार्यकर्ता स्तब्ध भएका छन्।
बरालको अन्त्येष्टिमा सेती नदी किनारको तुलसीघाट पुगेका नेपाली कांग्रेस गण्डकीका सभापति शुक्रराज शर्माले २०४६ सालको आन्दोलनको स्मरण गरे।
उनका अनुसार २०४६ फागुन ७ गते पोखराको नालामुखमा तत्कालीन संयुक्त वाम मार्चा र नेपाली कांग्रेस मिलेर बहुदलको पक्षमा प्रदर्शन गर्ने कार्यक्रम राखेका थिए। झन्डा बोकेर 'बहुदलीय व्यवस्था जिन्दावाद' भन्न पुगेका शर्माको टोली निर्धारित समयमा पुगे।
शर्माको टोली नालामुख पुग्नेबित्तिकै पक्राउ परे। केही समय ढिला पुगेका टेकनाथ बरालको टोली पनि उसैगरी झन्डा बोकेर बहुदलीय व्यवस्था माग्दै प्रदर्शन गर्न खोजेका थिए।
शर्माको टोली जस्तै बरालको टोली पनि पक्राउ पर्यो। आफूहरू सँगसँगै जेल बस्न परेको शर्माले सम्झिए।
'उहाँ वाम मोर्चाको संयोजक हुनुहुन्थ्यो, नेपाली कांग्रेसबाट म थिएँ,' शर्माले सेतोपाटीसँग भने, 'हामीले एकअर्कालाई सम्झाउन खोज्थ्यौं, तर कहिल्यै मनमुटाव भएन।'
बरालको जीवन सधैं सादा र सरल भएको शर्माले सम्झिए।
२०६४ सालको आन्दोलनमा कम्युनिस्ट घटक ६ वटा दलले बराललाई वाममोर्चाको संयोजक बनाएका थिए।
२०२४ सालमा तत्कालीन नेकपाका अध्यक्ष पुष्पलाल श्रेष्ठबाट पार्टी सदस्यता लिएका बराल २०४६ सालमा आइपुग्दा स्वतन्त्र वामनेता बनेका थिए। कम्युनिस्ट पार्टीमा देखिएका टुटफुटले उनी कुनै पनि घटकमा लागेनन्। स्वतन्त्र कम्युनिस्ट भनेरै २०४६ सालको आन्दोलनमा मोर्चा संयोजक बनाएको नेकपा एकीकृत समाजवादीका नेता श्रीनाथ बरालले बताए।
'मैले उहाँलाई २०३६ सालको आन्दोलनदेखि चिनेको हुँ। उहाँको घरमा हाम्रा बैठकहरू हुन्थे,' उनले भने, 'कम्युनिस्ट एक हुनुपर्छ भनेर उहाँ कुनै पनि पार्टीमा लाग्नुभएन। हामी सबैको साझा बनेर अस्ताउनुभयो।'
उनका अनुसार साधुजस्तो सादगी जीवन बिताएका बराल विचारमा सधैं प्रगतिशील थिए। सत्ता र शक्तिबाट सधैं टाढा बसेका उनी युवालाई चुनौती दिने विचार राख्थे। २०६२/०६३ को नागरिक आन्दोलनमा उनले युवालाई दिएको चुनौती अहिले पनि आन्दोलनकारीहरू सम्झिन्छन्।
उनले त्यति बेला भनेका थिए– युग सधैं प्रगतिशील हुन्छ। आजका युवाले नयाँ सोच र आदर्श राखेको छैन भने ऊ मभन्दा वृद्धहरूको भीड मात्र हुनेछ।
१९९६ सालमा जन्मिएका बराललाई बाल्यकालमै बनारसबाट पोखरा आएका कानोबाबा नामक हरिप्रसाद पण्डितले प्रजातन्त्रको पक्षमा लाग्ने उत्प्रेरित गरेका थिए। पण्डितलाई भेट्न गण्डकीभरका प्रजातन्त्र पक्षधर व्यक्तिहरू पोखरा आउँथे। उनलाई खाना पुर्याउन आउजाउ गर्दा बराल पनि राणाविरोधी आन्दोलनमा सामेल भएका थिए।
जब नेपाली कांग्रेसले २००७ सालमा क्रान्ति गर्यो, कानोबाबा भनिएका पण्डित कांग्रेससँग आबद्ध भएको उनले थाहा पाए। बरालले पहिलोपटक राजनीतिक चेतना उनै पण्डितबाट पाएका थिए।
बाल्यकालमै राजनीतिक चेत भरेका बरालले बालबालिका जम्मा गरेर राणा विरोधी अभियान चलाए। आन्दोलनकारीलाई सहयोग गरे। प्रजातन्त्र स्थापना पश्चात बरालले स्कुलमा साथीहरूलाई प्रजातन्त्र पक्षधर बनाए। नेपाली कांग्रेस निकट छात्र संगठनको अध्यक्ष बने। जब उनी कक्षा ८ पास भए, उनले शिक्षक तालिम लिए।
विद्यालय शिक्षा लिएका बराल २०१४ सालमा गोरखाको बाकु र बारपाक पढाउन गए। गाउँमा प्रजातन्त्रको पक्षमा प्रचार गरेको स्थानीय निरंकुशता पक्षधरलाई मन परेन। उनलाई स्कुलबाट हटाइयो।
फेरी उनी २०१६ सालमा स्याङ्जाको वालिङमा पढाउन गए। गोरखाकै घटना पुनरावृत्ति भयो। उनी स्याङ्जामा पनि स्कुलबाट निकालिए। त्यसपछि २०१८ सालदेखि तीन वर्ष पोखराकै बैदामस्थित तत्कालीन निचुरे स्कुलमा पढाए। त्यति बेला जननिर्वाचित सरकार अपदस्त गरी राजा महेन्द्रले सत्ता हातमा लिएका थिए।
बराललाई पञ्चायतका समर्थकहरूले अनेक मुद्दा लगाउन थाले। उनी डगमगाएनन्। उल्टै प्रजातन्त्रका पक्षमा लागिरहे।
नेपाल युवक संगठन गण्डकीका तत्कालीन अञ्चल सभापति बनेका बराललाई अञ्चलाधीशले टेलिफोनको तार चोरी गरेको आरोप लगाए। उनीसहित प्रजातन्त्र पक्षधरलाई वारेन्ट जारी गरे। पछि उनलाई पञ्चायती सरकारले देश निकाला गर्यो। उनी बनारस प्रस्थान गरे।
राणाकालदेखि पञ्चायतको आरम्भसम्म प्रजातान्त्रिक विचारधारा बोकेका बराल बनारस गएपछि कम्युनिस्ट नेतासँग सम्पर्कमा पुगे। पुष्पलालले स्थापना गरेको नेकपाका एक जना संस्थापक बलराम उपाध्याय पोखराकै थिए। उनकै सम्पर्कमा रहेर बराल बनारसमा बस्ने, खाने र पढ्ने अवसर पाए। नेपालका राजनीतिक घटनाक्रमबारे कम्युनिस्ट नेताहरूको विमर्शमा सहभागी भए।
कम्युनिस्ट नेताहरूसँग संसर्ग बढेपछि उनले पुष्पलालको हातबाट नेकपाको सदस्यता लिएर कम्युनिस्ट आन्दोलनमा भाग लिन थाले। आन्दोलनका कार्यक्रम सँगसँगै पढाइ अघि बढाएका बरालले बनारसबाटै २०२२ मा मेट्रिक पास गरे। बनारसमा भएको नेपाल छात्र संगठनको चुनावमा उनले कम्युनिस्ट घटकबाट सचिव पदमा चुनाव जिते।
बनारसबाट नेपाल फर्किएपछि तत्कालीन गण्डकी र धौलागिरिमा कम्युनिस्ट फैलाए। जिल्ला र गाउँहरूमा भूमिगत रूपमा पार्टी कमिटीहरू गठन गरे। पोखराको पृथ्वीनारायण क्याम्पसको स्ववियु सभापतिमा नेकपाका तर्फबाट गणेश शेरचनलाई उम्मेदवार बनाएर जिताए।
कम्युनिस्ट पार्टीमा लागेको थाहा पाएपछि बराललाई त्यति बेलाको सरकारले गिरफ्तार गर्यो। उनी दुई वर्ष जेल बसेर २०२५ सालमा रिहा भए। जेलबाट रिहा भएपछि पनि उनी पार्टीका अभियानमा जुटिरहे। उनको घर कम्युनिस्ट नेता कार्यकर्ताको जमघटस्थल बनिसकेको थियो।
२०२८ सालपछि उनी आबद्ध नेकपाका केही नेताहरूले सामन्तीलाई कारबाही गर्ने निर्णय गर्यो। केही काण्डहरू भए जसले पञ्चायती सरकार उत्तेजित बनेको थियो। फेरि २०२९ मा पञ्चायती सरकारले बराललाई देश निकाला गर्यो। उनी स्वदेशमै बस्ने भन्दै कास्की, तनहुँ, गोरखा लगायत ठाउँका लेकहरूमा लुक्दै पार्टी गतिविधि अघि बढाए।
पञ्चायती सरकारले उनको खोजी तीव्र बनायो। २०३० सालमा फेरि बनारसमा पुष्पलालको सम्पर्कमा पुगे। भारतको मेघालय, नागाल्यान्ड लगायत राज्यमा रहेका नेपालीलाई पार्टीमा आवद्ध गराए।
उनको भूमिगत रूपमा नेपाल आउजाउ पनि चलिरहेको थियो। २०३६ सालमा विद्यार्थी आन्दोलनमा सहभागी हुन उनी नेपाल आए। बहुदलको पक्षमा आवाज उठाए। पुष्पलालको निधन भएपछि बराल नेपालमै भूमिगत भएर बसे।
त्यति बेला नेकपा टुटफुटको शृंखला चलिरहेको थियो। बराल नेकपाको कुनै पनि घटकमा जोडिएनन्। सबै कम्युनिस्ट एक हुनुपर्छ भनेर आवाज उठाए। उनको आवाज कसैले सुनेनन्। त्यसपछि मृत्युपर्यन्त उनी कुनै पनि पार्टीमा आबद्ध भएनन्।
बहुदलको पक्षमा २०४६ सालको आन्दोलनमा वाममोर्चाको संयोजक बन्न उनलाई मनमोहन अधिकारी, मदन भण्डारी र जीवराज आश्रितले मनाएका थिए। उक्त आन्दोलन सफल भएपछि उनी सामाजिक गतिविधिमा केन्द्रित भए। माओवादी द्वन्द्व र त्यसपछिका राजनीतिक घटनाक्रमहरूमा उनी नागरिक आन्दोलन र मानवअधिकारवादी नेताका रूपमा क्रियाशील भएका थिए।
२०४८ सालदेखि नै नागरिक आन्दोलनका गतिविधि गरिरहेका बरालले राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति गठन गरे। सोही संस्थाका तर्फबाट उनले मानव अधिकार र नागरिक आन्दोलन अघि बढाएका थिए।
महाकालीमा मिचिएको सीमाको विरोध गर्न सुस्ता पुगेका बराल पहिलो संविधान सभाको म्याद बारम्बार थप्न नहुने भन्दै काठमाडौं पुगेर धर्ना दिएका थिए। समितिको अध्यक्ष हाल सुनिल पाण्डे छन्। समितिले पोखराको फेवाताल, सेती नदी लगायत प्राकृतिक सम्पदा जोगाउन विभिन्न कार्य गर्दै आएको छ।
बरालको अन्त्येष्टिमा तुलसीघाट पुगेका लेखक खगेन्द्र संग्रौलाले बराल निकै सरल र सादगी नेता भएको बताए।
२०६२/०६३ को आन्दोलनदेखि बरालसँग निकट भएर काम गरेको भन्दै उनले सादा जीवन र उच्च विचारको नमूना भएको बताए।
'राजनीतिमा लागेवापत् बरालले कहिल्यै कोहीसँग हात पसारेर माग्नुभएन,' उनले भने, 'उहाँको सबभन्दा ठूलो सम्पत्ति त्यही हो।'