हाम्रो शरीरमा हुने धेरै खालको भिटामिनमध्ये भिटामिन-डी एउटा हो।
यो एउटा महत्त्वपूर्ण भिटामिन हो। सुरूमा भिटामिन-डीको काम क्याल्सियमको मेटाबोलिजमका रूपमा मात्र काम लाग्ने भन्ने थियो। अहिले यसको भूमिका धेरै भएको पत्ता लागेको छ।
शरीरका लागि भिटामिन-डी सिमेन्ट हो भने क्याल्सियम इँटा हो। अर्थात् क्याल्सियम प्रयोगका लागि भिटामिन-डी जरूरी पर्छ।
भिटामिन-डीको सबभन्दा महत्त्वपूर्ण स्रोत घाम नै हो। छालामा भिटामिन-डी बन्छ, त्यो भिटामिन-डी गएर बोसोमा जम्छ। त्यसलाई चाहिएको बेला कलेजोले लिन्छ भने मिर्गौलालाई सक्रिय बनाउँछ।
मान्छेहरूमा भिटामिन-डी कमी धेरै नै देखिन थालेको छ। नेपालमा ८० प्रतिशतभन्दा धेरैलाई भिटामिन-डी कमी भएको अध्ययनले देखाएको छ। परीक्षण बढेकाले र घाममा देखिने क्रम पनि भएकाले पनि यो बढेको हो।
मान्छे कुन भूगोलमा बस्छ, गोरो छ या कालो छ भन्नेले पनि यसको निर्धारण गर्छ। त्यस्तै नेपालीको खानपिनका कारण पनि भिटामिन-डी कम भएको छ। नेपालीहरूको समुद्री माछा खाने चलन छैन। अन्डा पनि कम खाइन्छ।
घाममा सुकाएको च्याउले भने धेरै भिटामिन-डी दिन्छ। सुकाएको च्याउमा ६ गुणा बढी भिटामिन-डी पाइन्छ। चर्को घाममा पन्ध्र मिनेटदेखि २ घन्टासम्म सुकाएको सुकाएको च्याउ लाभदायी हुन्छ।
भिटामिन-डीको कमीले बच्चाहरूको खुट्टा बांगो हुन्छ। उचाइ कम हुन्छ।
युवा तथा वृद्धहरूमा भने यसको लक्षण थाहा पाउन अलि गाह्रो छ। किनकी यसमा देखिने लक्षणहरू अरू वा शारीरिक समस्यामा पनि देखिन्छन्।
भिटामिन-डीको कमीले थकाइ लाग्ने, अल्छी लाग्ने, जिउ दुख्ने, खुट्टाको नली दुख्ने, हड्डी दुख्ने लगायत समस्या हुन्छ। मोटोपन हुने, दिक्क लाग्ने समेत हुन्छ।
तर भिटामिन-डीको कमी पत्ता लगाउन परीक्षण नै गर्नुपर्छ।
भिटामिन-डी कम भयो भने चिकित्सकको सुझावअनुसार औषधि खाने या खोप समेत लिनुपर्ने हुन सक्छ। तर आफूखुसी औषधि खानै हुँदैन।
घाममा बस्ने, सुकाएको च्याउ, अन्डा र समुद्री माछा खाँदा भिटामिन-डी बढ्न मद्दत पुग्छ।
घाम ताप्ने भन्दैमा जथाभावी तातोमा बस्नु भने हुँदैन। कुन ठाउँमा कति घाम ताप्ने भन्ने कुरा 'डिमाइन्डर' एपमा हेर्न सकिन्छ। यो एप डाउनलोड गरेपछि त्यसले ठाउँअनुसारको घाम ताप्नुपर्ने समय बताइदिन्छ।
(मधुमेह, थाइरोइड तथा हर्मोन रोग विशेषज्ञ डा. डिना श्रेष्ठ नर्भिक अस्पताल, थापाथली र सिद्धी पोलिक्लिनिकमा कार्यरत छन्।)