हरिहरपुर गाउँका राधेलाल महतो दुई साता अघिसम्म धान रोपाइँ गर्न वर्षाका लागि प्रार्थना गर्दै थिए। हिजोआज आकाशमा कालो बादल मडारिएको देखे भने उनको मनमा चिसो पस्छ। दुई साताअघिसम्म रोपाइँ गर्न नपाएको चिन्ता थियो, अहिले आफ्नो परिवारसहित सिंगै गाउँलेको ज्यानको चिन्ता छ।
'औरही खोलामा ठूलो बाढी आए हरिहरपुर गाउँ नै बगाउने खतरा छ,' राधेलालले भने।
धनुषाको मिथिला नगरपालिका–३ भएर बग्ने औरही खोलामा बाढीको जोखिम विचार गरेर पाँच वर्षअघि ‘राष्ट्रपति चुरे तराई–मधेश विकास समिति’ ले बाँध निर्माण गरेको थियो। साउन २४ गते आएको बाढीले त्यही बाँधको करिब ५० मिटर भाग बाढीले भत्काइदिएको छ।
यसपछि हरिहरपुर गाउँ जोखिममा छ। अब अलिक ठूलो बाढी आयो भने बस्ती र खेतबारीमै पस्छ।
अवैध रूपमा मापदण्डविपरीत भएको उत्खननले बाढीको जोखिम बढेको राधेलालको बुझाइ छ।
‘बाँध छेउमै क्रसरवालाहरूले ठूल्ठूला खाडल बनाएका थिए। जसलाई जति मन लाग्यो त्यति नै गिटीबालुवा निकाले। उनीहरूलाई कसैको डर छैन,’ उनले भने, ‘सबै नेता र पुलिस प्रशासन मिलेका छन्। उनीहरूको मनपरीको सजाय गाउँवासीले पाउँछन्।’
मापदण्डविपरीत १५ फिट गहिरोसम्म खनेर खोला उत्खनन् गरेपछि गाउँवासीले विरोध नगरेका होइनन् तर मिथिला नगरपालिकाका तत्कालीन मेयर हरिनारायण महतो, स्थानीय प्रहरी र क्रसर व्यवसायीका अगाडि कसैको केही चलेन।
राधेलालले पाँच वर्षअघिको एउटा घटना सम्झिन्छन्, ‘हामीले विरोध गरेपछि क्रसरवालाले गुण्डा बोलाए। झडप भयो। प्रहरी र मेयरले पनि उनीहरूलाई नै साथ दिए। हाम्रो केही चलेन।’
क्रसर व्यवसायीसँग झडप भएको केही दिनपछि औरही खोलामै मापदण्डविपरीत भएको उत्खननको विरोध गर्दा २०७६ साल पुस २५ गते मिथिला नगरपालिका–५, श्रीपुरका दिलीप भनिने ओमप्रकाश महतोको विभत्स हत्या भयो। उक्त घटनापछि केही दिन सुनसान भएर सुरू भएको उत्खनन् निर्बाध चलिरहेको छ। औरही खोलामा टिपर छोपिने गरी रातदिन उत्खनन् भइरहँदा पनि कसैले विरोध गर्ने आँट गरेका छैनन्।
मिथिला नगरपालिकाले अहिलेसम्म औरही खोला उत्खननको ठेक्का लगाएको छैन तर उत्खनन् निरन्तर चलेको छ। खोला–नदीबाट ढुंगा र गिटी–बालुवा उत्खनन् गर्न स्थानीय तहले अनुमति दिनुपर्ने नियम छ। स्थानीय तहले मापदण्डअनुरूप ठेक्का दिएपछि मात्र उत्खनन् गर्न पाइन्छ।
औरही खोलामा भने ठेक्काबिना नै क्रसर व्यवसायी र केही व्यक्तिले अनियन्त्रित रूपमा बालुवा र गिट्टी निकालेर खोलाको निकै ठूलो क्षेत्र पोखरीजस्तो बनाएका थिए। साउनमा आएको ठूलो बाढीले ती सबै खाल्डा पुरेको छ। स्थानीय तहले ठेक्का लगाएकै अवस्थामा पनि वर्षा याममा खोला उत्खनन् गर्न पाइँदैन तर औरही खोलामा यस्तो नियमले काम गर्दैन। मिथिला नगरपालिकाका वडा नम्बर २, ५ र ६ मा अहिले पनि उत्खनन् चलिरहेको छ।
क्रसर व्यववसायीहरूले उत्खनन् गरेर थुपारेको गिटी–बालुवा सबै उठाइसकेको आसपासका बासिन्दाहरूको भनाइ छ।
‘तत्कालै खनेर लान्छन् तर बाटोमा प्रहरीले चेकजाँच गर्दा पहिले नै जम्मा गरेको स्टक (थुप्रो) बाट उठाएर ल्याएको भन्छन्,’ आफ्नो नाम सार्वजनिक नगर्ने शर्तमा हरिहरपुरका एक युवक भन्छन्, ‘यहाँ सबैको मिलेमतो छ, कसैलाई पनि कारबाही हुँदैन।’
ती युवकका अनुसार पूर्व–पश्चिम राजमार्गको पुलका खम्बा नजिकमै रातभरि उत्खनन् हुने गरेको छ। जनप्रतिनिधि र प्रहरी प्रशासनले नदेखेझैं गर्छन्।
जनप्रतिनिधिहरू भने स्थानीयवासीको आरोप स्वीकार गर्न तयार छैनन्।
मिथिला नगरपालिका–३ का वडाध्यक्ष राम एकवाल महतोले खोलामा उत्खनन नै नभएको दाबी गरे।
‘२०७६ सालदेखि औरही खोलामा उत्खनन भएको छैन। कसैले राति खनेर चोरेर लैजान्छ भने हामी रखबारी गर्न जाँदैनौं। कतिबेला निकाल्छ थाहा हुँदैन,’ उनी भन्छन्, ‘मान्छेहरू यतिकै हल्ला गरिरहन्छन्। भन्नलाई कसको के जान्छ र! मान्छेले त राजालाई पनि गाली गर्छ।’
वडाध्यक्ष महतोले २०७६ सालअघिको उत्खननकै कारण गत साउन २४ गतेको बाढीले बाँधमा धेरै क्षति नभएको तर्क गरे।
‘खोलामा गहिरो ठाउँबाट पानी बगेर गयो नत्र बाढीले अस्ति गाउँ नै बगाउँथ्यो। यहाँ बाँध बाँध्नुअघि नै खोला खनिएको थियो। त्यसयता खनिएकै छैन,’ उनले भने।
स्थानीयवासीहरू भने वडाध्यक्ष महतोको तर्कसँग सहमत छैनन्। ठूला खाल्डा बनाएर खोला खन्दा पानीको दबाब थेग्न नसकेर बाँध भत्किएको उनीहरूको भनाइ छ। बाँध निर्माणमा त्रुटि भएको मान्नेहरू पनि छन्।
मिथिला नगरपालिकाका मेयर महेन्द्र महतोले केही दिनअघि सेतोपाटीसँगको कुराकानीमा क्रसर व्यवसायी र तस्करले ठूला उपकरण प्रयोग गरेर रातभरि खोला खन्ने गरेको बताएका थिए। उनले प्रहरी प्रशासनको असहयोगका कारण उत्खनन नियन्त्रण गर्न नसकेको पनि बताएका थिए।
मिथिला नगरपालिकाकी उपप्रमुख सुनिता सिंह बुढाथोकी पनि ठेक्का नलागेको औरही खोलाबाट क्रसर व्यवसायी र तस्करले गिटी–बालुवा निकालिरहेकोबारे जानकार छिन्।
‘अहिले खोला उत्खनन् गर्न पाइँदैन। हामीले रोक लगाएकै हौं। प्रहरी पनि खटाएका छौं तर मान्छेले बुझ्दैनन्। प्रहरी लगाएरै मात्रै पनि नहुने रहेछ। नागरिकहरू सचेत हुनुपर्यो,’ उनी भन्छिन्, ‘जनताले नेतालाई गाली गर्छन् तर आफ्नो कर्तव्य बुझ्दैनन्। नगरपालिकामा नेतामात्रै बस्ने होइन। बाढी आउँदा सबैलाई क्षति पुग्छ। हामी पनि चौबीसै घण्टा खोलामा ड्युटी गर्न सक्दैनौं।’
हरिहरपुर, श्रीपुर र नक्टाझिझ गाउँका बासिन्दाहरू राजनीतिक र प्रशासनिक संरक्षणमा ठेक्काबिनै औरही खोला उत्खनन् भइरहेको बताउँछन्।
उपमेयर बुढाथोकी भने गाउँलेहरूको यस्तो भनाइमा सहमत छैनन्। उनले उत्खनन् रोक्नेबारे कार्यपालिका बैठकमा प्रस्ताव लान आफूले तयारी गर्दा पनि सफल नभएको बताइन्।
मिथिला नगरपालिकामा मेयर नेपाली कांग्रेसबाट र उपमेयर नेकपा एमालेबाट निर्वाचित हुन्। यी दुईको आपसी विवादका कारण कार्यपालिका बैठक हुन सकेको छैन। नगरसभाविरूद्ध पनि उच्च अदालत, जनकपुरमा मुद्दा चलेको छ।
बुढाथोकी भन्छिन्, ‘हामी बीचमा संवैधानिक, कानुनी र व्यावहारिक द्वन्द्व छ। नागरिकका समस्या समाधानका लागि अप्ठ्यारो भइरहेको छ। कार्यपालिका बैठक नबस्दा नागरिकका मुद्दाहरूबारे छलफल हुन सकेको छैन।’
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले उत्खनन् रोक्न प्रहरीले प्रयास गरिरहेको बताए।
उनले भने, ‘उत्खनन् गरिरहेको अवस्थामा हामीले धेरै गाडी समातेका छौं। प्रहरीसँग झडप गर्न आउने दस जनामाथि मुद्दा पनि चलाएका थियौँ। प्रहरी उत्खनन् नियन्त्रणमा लागेको छ। गस्ती पनि गरेको छ।’
स्थानीय बासिन्दा र संरक्षणकर्मीहरू भने प्रहरी र जनप्रतिनिधिहरूको कामबाट सन्तुष्ट छैनन्।
‘राष्ट्रपति चुरे तराई–मधेश संरक्षण कार्यक्रम कार्यान्वयन एकाइ’ जनकपुरका प्रमुख शिवकुमार पोखरेलका अनुसार खोलामा मापदण्डविपरीत भएको उत्खननले मिथिला नगरपालिकाको सुन्दरपुर गाउँ पनि बाढीको जोखिममा छ।
‘बस्ती छेउमै यति धेरै खनेका छन् कि ठूलो बाढी आयो भने बस्तीमै पस्छ। क्रसर व्यवसायीले खोला अन्धाधुन्ध उत्खनन् गर्दा तटबन्ध नै कमजोर बन्दैछ,’ उनी भन्छन्, ‘खोलामा ठूल्ठूला खाल्डो बनाएका छन्, रोक्ने कोही छैन। औरहीमा मात्रै होइन, रातु र मरहामा खोलामा पनि यस्तै समस्या छ।’
खोलाहरूको अवस्थाबारे आफूले जनप्रतिनिधिहरूसँग कुरा गर्ने गरेको पोखरलले बताए।
उनले भने, ‘मिथिलाका मेयरसँग मापदण्डविपरीतको उत्खनन् रोक्ने विषयमा दुईपटक कुरा गरेँ तर सुनुवाइ भएन। क्रसर उद्योगबाट आउने आम्दानीको केही हिस्सा नदी किनार संरक्षणमा लगाउन आग्रह गरेको छु।’
अवैध रूपमा मनपरी उत्खनन् भएको थाहा हुँदाहुँदै पनि भएको छैन भन्नु र रोक्ने प्रयास नगर्नु नै मुख्य समस्या देखिएको छ।