तमु गुरूङ सञ्चारकर्मी संघ नेपालले शुक्रबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै आफ्नो प्रसारण दिवस मनाएको छ।
२०५१ साल भदौ १ गते, पहिलोपटक रेडियो नेपालबाट आफ्नो भाषामा समाचार प्रसारण भएको दिनलाई स्मरण गर्दै संघले आफ्नो प्रसारण दिवस मनाएको हो।
सहरी विकासमन्त्री सीता गुरूङको प्रमुख आतिथ्यमा काठमाडौंको गोंगबुस्थित तमु ह्युल छोजं धिंको सभाहलमा आयोजित कार्यक्रममा संघले आफ्नो आधिकारिक समाचार वेब गुरूङ न्युज डटकमको समेत उद्घाटन गरेको छ।
कार्यक्रममा पहिलोपटक तमु गुरूङ भाषामा समाचार वाचन गर्ने समाचार वाचक गोविन्द गुरूङलाई सम्मान गरिएको थियो।
यस्तै कार्यक्रममा तमु ह्युल छोजं धिं गुरूङ राष्ट्रिय परिषदको अध्यक्ष कर्ण बहादुर गुरूङ, गण्डकी विश्वविद्यालयका कुलपति प्राध्यापक डाक्टर गणेशमान गुरूङ, आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा, आदिवासी जनजाति पत्रकार महासंघका उपाध्यक्ष जगत दोङ्ग लगायतले शुभकामना मन्तव्य दिएका थिए।