सडक डिभिजन कार्यालय ललितपुरले सानेपास्थित आठ लेनको रिङरोडमा अपुरो छाडेको जेब्राक्रस पूरै बनाएको छ।
सानेपाका ट्राफिक प्रहरी इन्चार्ज प्रहरी वरिष्ठ नायब निरीक्षक पिताम्बरसिंह धामीका अनुसार बिहीबार साँझै त्यहाँ जेब्राक्रसिङ बनाइएको हो।
‘सेतोपाटीमा समाचार आएपछि के हो भनेर मैले पनि उनीहरूलाई सोधेँ’, उनले भने, ‘त्यसपछि रातारात आएर बनाएर गए।’
बिहीबार सेतोपाटीले आठ लेनको रिङरोडमा दुई लेनको जेब्राक्रस! समाचार प्रकाशित गरेको थियो। समाचार प्रकाशन भएपछि जेब्राक्रस पूरा गर्न छुटेको थाहा भएको सडक कार्यालय ललितपुरका सिडिई मुकुन्दराज अधिकारीले बताएका थिए।
उनले दुई वटा लेनमा मात्रै जेब्राक्रस गत जेठमै बनेको जानकारी दिएका थिए।
‘जेठमा बनाइएको थियो। बनाउने मान्छेले दुई वटा लेन बनाएर अगाडि बढे। अलि अगाडि अर्को जेब्राक्रसिङ पनि छ,’ उनले भनेका थिए, ‘त्यहाँ आठ वटै लेनमा जेब्राक्रसिङ बनाइएको छ। त्यहाँ बनाएर काम गर्नेहरू फर्किएनन्। त्यो ठाउँको छुटेछ।’
यो पनि:
सडक कार्यालय ललितपुरका सिडिई भन्छन्- रिङरोडको अपुरो जेब्राक्रस अब दुई-चार दिनमै बनाउँछौं
तस्बिरहरू: