गत साउन २० देखि पाटन दरबार स्क्वायर क्षेत्रका मन्दिरमा जथाभावी बस्न निषेध गरिएको छ।
धार्मिक रूपमा समेत महत्वपूर्ण दरबार स्क्वायरका मन्दिरमा बस्नेहरूले भौतिक संरचनामा पनि क्षति गरेको भन्दै ललितपुर महानगरले केही ठाउँमा प्रवेश निषेध गरेको हो।
ललितपुरको महत्वपूर्ण धार्मिक तथा पौराणिक महत्व बोकेको यस क्षेत्रका मन्दिरहरूको माथिल्लो भाग प्रदक्षिणा पथ भनिन्छ। देवताकै अग्रभाग भएको र भक्तजनहरूले पूजापाठका लागि प्रयोग गर्ने पथ पनि भएकाले ती ठाउँमा बस्न निषेध गरिएको ललितपुर महानगरका सम्पदा सल्लाहाकार रोहित रञ्जितकारले सेतोपाटीलाई बताए।
मन्दिरका माथिल्ला भागमा गएर बस्नेहरूले फोहोर गर्ने, उच्छृङ्खल गतिविधि गर्ने, मन्दिरका झ्याल बुट्टाहरूमा चिया, कफीका कपहरू पोको पारेर घुसार्ने गरेकाले बस्न निषेध गरिएको महानगरले बताएको छ।
पिलरहरूमा अडेस लाग्दा त्यहाँ कुँदिएका कलाकृति मूर्तिहरू मेटिएको र बस्दा ढुंगामा कुँदिएका मूर्तिहरूसमेत टुक्रिएको, कतिले धारिला समानले कोतर्नेसमेत गर्दा सम्पदा मासिँदै गएको भन्दै बस्न प्रतिबन्ध लगाउनु पर्ने माग उठेको थियो।
पछिल्लो समय फोटो खिच्ने, टिकटक बनाउनेहरू त्यहाँ रहेका हात्ती, घोडाका मूर्तिमा चढ्ने गरेका थिए। ती सम्पदाहरूको जगेर्ना गर्न बस्न निषेध गर्नु परेको रञ्जितकारले बताए।
महानगरपालिकाले कृष्ण मन्दिर, विश्वनाथ, हरिशंकर आदि मन्दिरमा प्रवेश निषेध लेखिएका बोर्ड राख्नुका साथै नगर प्रहरीसमेत खटाएको छ।
प्रवेश निषेध गरिएपछि मन्दिरहरू सफा देखिएका छन्।