शहरका ठूला-साना सडकमा पैदल यात्रुलाई हिँड्न सांकेतिक चिन्ह जेब्रा क्रसिङ बनाइएको हुन्छ।
सडकमा कोरिएका लहरै सेता धर्साले सडकको निश्चित ठाउँमा मानिसले बाटो काट्न सक्छन्।
यस्तो ठाउँमा पुगेपछि सवारी नियमअनुसार सवारी चालकले आफ्नो गति घटाउनु पर्ने र पैदल यात्रुलाई बाटो काट्न सहज गराइदिनु पर्ने हुन्छ।
ललितपुरको सानेपास्थित उपत्यकाकै ठूलो ८ लेनको सडकमा भने अचम्मको जेब्रा क्रस बनाइएको छ। ८ लेनको बाटोमा मानिस हिँड्न संकेत स्वरूप दुईटा लेनमा मात्र जेब्रा क्रसिङको चिन्ह लगाइएको छ। पैदल यात्रुहरूले यहीँबाट बाटो काट्ने गरेका छन् तर अरू लेनमा जेब्रा क्रस नहुँदा दुर्घटनाको जोखिम छ।
सडक विभागले ध्यान नदिंदा बाटो वारपार गर्न डरमर्दो भएको एक स्थानीयले बताए।
उक्त क्षेत्रमा बस्ने एक ट्राफिक प्रहरीका अनुसार एक महिनाअघि सडक विभागका मानिस आएर यो अपुरो जेब्रा क्रसिङ बनाएर गएका हुन्।
‘दुई लेनमा मात्र जेब्रा क्रसिङ बनाएर गएका छन्। के गर्न लागेको हो भन्ने हामीले पनि बुझेका छैनौं,’ उनले भने,‘पैदल यात्रीले त्यही जेब्राक्रसबाट बाटो काट्छन्। हामीले मूल सडकमा रहेको डिभाइडर हटाएर एक जना छिर्न मिल्ने बनाइदिएका छौं।’